+
+
Shares

आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू

ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य भ्याट बिल जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
  • विक्रेताले बिक्रीपछि बिलबिजक नदिएको गुनासो बढेपछि निगमले डिलर र विक्रेतालाई नियन्त्रण र नियमन गर्न उद्योगहरूलाई पत्राचार गरेको हो ।
  • उपभोक्ता ठगिने र कालोबजारी हुने जोखिम घटाउन तथा बजारमा पारदर्शिता कायम गर्न भ्याट बिल अनिवार्य गरिएको निगमले जनाएको छ ।

९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ ।

ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ।

‘तहाँबाट नियुक्त भएका कतिपय विक्रेताहरूले ग्यास बिक्री गरे पश्चात बिलबिजक जारी नगरेको भन्ने गुनासो आएको हुँदा अनिवार्य रूपमा विक्रेतालाई भ्याट बिल जारी गरी एलपी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ निगमको पत्रमा छ ।

निगमले ग्यास उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेतालाई नियन्त्रण र नियमन गर्न यसअघि पनि पत्राचार गरेको जनाएको छ ।

सूचना अनुसार निगमले यसै निर्णय कार्यान्वयनका सम्बन्धमा ३० साउन २०८१ र १० माघ २०८१ मा समेत सम्बन्धित संघलाई पत्राचार गरेको स्मरण गराएको छ ।

ग्यास खरिद गर्दा उपभोक्ता ठगिने र कालोबजारी हुने जोखिम न्यूनीकरण र बजारमा पारदर्शिता कायम गर्न निगमले मूल्य अभिवृद्धि कर (भ्याट) बिल अनिवार्य गरेको हो । यो बोधार्थ निगमका कार्यकारी निर्देशक र नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) लाई समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?