News Summary
Generated by OK AI. Editorially reviewed.- यस वर्ष तिहारमा देशभर ५१ लाख ८० हजार फूलका माला खपत भई करिब ४८ करोड रुपैयाँको कारोबार हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले अनुमान गरेको छ ।
- मालासँगै फूलका थुँगा र गमला जोड्दा तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख पुग्ने प्रक्षेपण छ ।
- असोजको बाढीपहिरोका कारण सयपत्री खेतीमा क्षति पुगेकाले करिब ११.११ प्रतिशत माला आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ ।
१० कात्तिक, काठमाडौं । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ ।
मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा (पोली) र गमला समेत जोड्दा यस वर्षको तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख पुग्ने प्रक्षेपण छ ।
फ्यानको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै ४५ लाख वटा सयपत्री फूलको माला खपत हुनेछ, जसको थोक मूल्य औसत ९० रुपैयाँका दरले ४० करोड ५० लाख पर्न आउँछ ।

त्यस्तै ४५ रुपैयाँ औसत मूल्य रहेको मखमली फूलको ६ लाख मालाबाट २ करोड ७० लाख, १ हजार २ सय रुपैयाँ औसत मूल्य रहेको गोदावरी फूलको २० हजार मालाबाट २ करोड ४० लाख र ४ सय रुपैयाँ औसत मूल्य रहेको विभिन्न फूल मिसाइएको (मिक्स) ६० हजार मालाबाट २ करोड ४० लाखको कारोबार हुने अनुमान छ ।
मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगा (प्रतिथुँगा ३० रुपैयाँ) बाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमला (प्रतिगमला ७५ रुपैयाँ) बाट ६ करोडको कारोबार हुने फ्यानले जनाएको छ ।
सातै प्रदेशमा फैलियो व्यावसायिक फूल खेती
पछिल्ला वर्षहरूमा नेपालमा सयपत्री फूलको व्यावसायिक उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको फ्यानले जनाएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा २ सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती विस्तार भइसकेको छ ।
फ्यानका अनुसार हाल काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलाली लगायत जिल्लामा सयपत्रीको व्यावसायिक उत्पादन भइरहेको छ ।
फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याएको छ ।
मखमलीमा आत्मनिर्भर : २ लाख माला विदेश जाँदै
सयपत्रीमा केही आयात गर्नुपर्ने अवस्था रहे पनि मखमली फूलमा भने नेपाल पूर्णरूपमा आत्मनिर्भर बनेको फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठको दाबी छ ।
यस वर्ष मखमली फूलको ६ लाख मालाको बजार माग रहेकोमा ४ लाख माला आन्तरिक बजारमा खपत हुनेछ भने करिब २ लाख माला विदेश निर्यात हुने अनुमान छ ।

काठमाडौंको इचङ्गुनारायण, भक्तपुर गुन्डु, ललितपुर गोदावरी–बडिखेल सहित धादिङ, पाल्पा, कैलाली र इलाम लगायत क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
असोजको बाढीले क्षति, ११ प्रतिशत आयात गर्नुपर्ने बाध्यता
गत वर्ष ४० लाख माला खपत भएकोमा यस वर्ष सयपत्रीको माग बढेर ४५ लाख पुगेको छ । तर, ९ देखि ११ असोजसम्म परेको अविरल वर्षाका कारण सयपत्री फूल खेतीमा क्षति पुगेको छ ।
बाढीपहिरोले क्षति पुर्याए पनि आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबर आपूर्ति हुने र नपुग करिब ११.११ प्रतिशत मालामात्र आयात गरी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ ।
फ्लोरिकल्चर एसोसिएसनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सम्पूर्ण उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ । उत्पादन क्षेत्रबाट बजार केन्द्रसम्म फूलको सहज ढुवानी र उचित मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको फ्यानले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले स्वदेशी फूल प्रयोगले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने बताए ।
‘तिहारमा स्वदेशी फूल प्रयोगलाई प्राथमिकता दिनु भनेको नेपाली कृषक र पुष्प व्यवसायीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्रोत्साहन गर्नु हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसर्थ फूलका उपभोक्ताहरू तथा सरोकारवाला निकाय सबैबाट आवश्यक सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’
प्रतिक्रिया 4