News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको परिधिभित्र रहेसम्म निर्वाचित सरकारलाई पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन्।
- उनले चुनावलगत्तै सरकार फेर्ने चर्चा विडम्वनापूर्ण र चिन्ताजनक भन्दै देशलाई अनिश्चितताको भूमरीमा नफसाउन आग्रह गरेका छन्।
- भट्टराईले सत्तामा बस्नेहरूलाई निरन्तर खबरदारी गर्न र काम नगरे अर्को चुनावबाट बिदा गर्नुपर्ने बताएका छन्।
१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् ।
प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थालेको र यो विडम्वनापूर्ण र चिन्ताजनक रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिष्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक कुरा हो ।
निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा देशले विगतमा पटक–पटक भोगेको, त्यसको दुष्परिणाम देखिससकेको डा. भट्टराई बताउँछन् ।
उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘अब पनि त्यही दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भूमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ ?’
यस विषयमा देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।
‘सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गरौं !’ विशेषत: विपत्तिमा परेका, ऐतिहासिक बञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचीरहौं’ उनी भन्छन्, ‘सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गरौं, हटाऊँ ।’
विधिसम्मत हटाउन अर्को चुनाव कुर्नुपर्ने उनको आग्रह छ ।
पूर्वप्रधानमन्त्री भट्टराई लेख्छन्, ‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ ! काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौं ।’
प्रतिक्रिया 4