News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले सप्तकोशी नदीको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ ।
- समितिलाई दुर्घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको छ ।
- आइतबार त्रिवेणीमा भएको पानीबोट दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो र ३ जना बेपत्ता छन् ।
१० कात्तिक, विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको हो।
कोशी सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गरी प्रतिवेदन बुझाउन प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिलाई छानबिनका लागि सात दिनको समय दिइएको छ।
आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा यात्रुबाहक पानीबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । तीन जना बेपत्ता छन् ।
नदीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल अनुरोध गर्ने निर्णय गरिएको मन्त्री शेर्पाले बताए । बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) कोशी प्रदेश सभामा पेस गर्ने र कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया 4