News Summary
Generated by OK AI. Editorially reviewed.- कमलसिंह ऐरीले १८औं ओभरमा ४ रन दिएर २ विकेट लिएपछि चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले हरायो।
- विराटनगर १७ ओभरमा १३७ रन र ५ विकेटको अवस्थामा रहे पनि अन्तिम ५ विकेट छिट्टै गुमाउँदा लक्ष्य भेट्न सकेन।
- डाविड मलानले ७० रन बनाएर चितवनलाई १५७ रनसम्म पुर्याए भने मंगलबार बिहान आएका तीन अंग्रेज खेलाडी टोलीको जितमा निर्णायक बने।
११ कात्तिक, काठमाडौं । १७ ओभरमा १३७ रन । हातमा ५ विकेट । जितका लागि १८ बलमा मात्र २१ रन आवश्यक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्स चितवन राइनोजविरुद्ध यही अवस्थामा थियो ।
क्रिजमा थिए श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्यूज र अमेरिकी अलराउन्डर शुभम रञ्जाने । टी–२० क्रिकेटमा यो सहज अवस्था मानिन्छ ।
सहज अवस्था देखेपछि विराटनगरका समर्थकले जितको अनुभूति गरिसकेका थिए । तर, १८औं ओभरमा चितवनका बलर कमलसिंह ऐरीले गरेको बलिङले विराटनगरको आशालाई निराशामा बदलिदियो भने निराश हुँदै गएका चितवनका समर्थकको मुहारमा खुसी ल्यायो ।
१८औं ओभरका पहिलो चार बलमा कमलले एक–एक रन दिए । पाँचौं बलमा क्रिजमा जमिसकेका म्याथ्यूजलाई रिजन ढकालको हातबाट क्याच आउट गराए । यससँगै चितवनको आशा पलायो ।
कमल त्यतिमै रोकिएनन् । छैटौं बलमा रुपेश सिंहलाई पहिलो बलमै पभेलियन फर्काए । त्यसपछि सहज अवस्थामा रहेको विराटनगर एकाएक दबाबमा पर्न थाल्यो । उक्त ओभरमा कमलले ४ रन खर्चेर २ विकेट लिए । खेलबारे कमल भन्छन्, ‘मलाई चाहिँ विकेटले फेभर गरेको फिल भइरहेको थियो ।’
१९औं ओभरमा पनि विराटनगर लयमा फर्किन सकेन । कमलले सिर्जना गरेको दबाबलाई कायम राख्दै रिजनले विराटनगरमाथि दबदबा बनाए । उनले १९औं ओभरको दोस्रो बलमा प्रतिश जिसी र चौथो बलमा कप्तान सन्दीप लामिछानेलाई आउट गराए । त्यसपछि खेलको मोमेन्टम झनै चितवनको पक्षमा गयो ।
जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तेस्रो बलमै अर्काे विकेट गुमाएपछि विराटनगरले ८ रनको साँघुरो हार बेहोर्यो । चितवनका लागि कमलले ४ विकेट लिँदा रिजनले २ विकेट झारे । टम टेलर, रञ्जित कुमार, डान मोस्ली र मौसम ढकालले एक–एक विकेट लिए । विराटनगरका ब्याटरहरु लगातार खराब सर्ट प्रहार गर्दै गए र क्याच आउटको सिकार हुन पुगे ।
कुनै समय कठिन अवस्थामा रहेको विराटनगरका लागि वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै सहज स्थितिमा पुर्याएका थिए । रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए ।

उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए । यसो त विराटनगरको ओपनिङ ठिकठाक नै थियो । इम्रान शेख र लोकेश बमले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । इम्रान ३९ र लोकेश २६ रनमा आउट भएका थिए ।
चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट हुँदा धरमराएको विराटनगरलाई रसेलले संयमित बनाएका थिए । तर, फिनिसिङमा चुक्दा रसेलको आक्रमक ब्याटिङ पनि खेर जान पुग्यो । विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि अन्तिम केही ओभरमा धैर्य गुमाउँदा हार बेहोर्नुपरेको स्वीकार गरे ।
‘१६ ओभरसम्म हामीले गेम आफ्नो पोल्टामा राखेका थियौं । तर, अन्तिम ५ विकेट एकदम हतारमा खस्यो । खराब सट खेल्नु र क्रिजमा जमेको ब्याटरलाई स्ट्राइक दिन नसक्नुजस्ता कारणले आजको खेलमा हामीलाई पछाडि धकेल्यो,’ उनले भने । यो खेलको गल्तीबाट सिकेर आगामी खेलमा राम्रो प्रदर्शन गर्नै सन्दीपले बताए ।
हतारमा आइपुगेका इंग्ल्यान्डका खेलाडी बने निर्णायक
चितवन राइनोजले एनपीएलका लागि पाकिस्तानका तीन खेलाडीलाई टोलीमा अनुबन्ध गरेको थियो । तर, प्राविधिक समस्याका कारण पाकिस्तानी खेलाडी खेल्न नपाउने भएपछि मंगलबारको खेलमा चितवनले कसलाई खेलाउला भन्ने चासो धेरैमा थियो ।
पाकिस्तानी खेलाडी खेल्न नपाउने भएपछि चितवनले हतारहतार थप तीन विदेशी खेलाडी टोलीमा अनुबन्ध गर्यो । विराटनगरविरुद्ध चितवनको कप्तानी गरेका इंग्ल्यान्डका रवि बोपारालाई यसअघि नै टोलीमा भित्राइसकिएको थियो । पाकिस्तानी खेलाडीको अनुपस्थितिमा चितवनले डाविड मलान, डान मोस्ली र टम टेलरलाई टोलीमा ल्यायो । यी तीनै जना इंग्ल्यान्डका खेलाडी हुन् ।
कतिसम्म भने उनीहरू मंगलबार बिहान मात्रै नेपाल आइपुगेका थिए । तीनै खेलाडी मंगलबार भएको खेलको प्लेइङ ११ मा अटाए र टोलीलाई जित दिलाउन पनि सफल भए ।
बलिङमा डान मोस्ली र टम टेलरले एक–एक विकेट लिए । डाविडले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोस्लीले पनि सुझबुझ ब्याटिङ गरे ।
पहिलो विकेटका लागि डाविड र देव खनालले ५८ रनको साझेदारी गरे । डाविड, देव र अर्जुन साउद आउट भएपछि चितवनको इनिङ्स डान र कप्तान रविले सम्हाले ।
उनीहरूले ६७ रनको अविजित साझेदारी गर्दै चितवनको स्कोर १५७ रनमा पुर्याएका थिए ।
प्रतिक्रिया 4