+

श्रीलंकाका विकेटकिपर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

२०८३ कात्तिक  ११ गते ८:३४ २०८३ कात्तिक ११ गते ८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमा एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।
  • समराविक्रमाले श्रीलंकाबाट ९ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र १९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
  • पोखराले यस सिजन श्रीलंकाका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक र इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ।

११ कात्तिक, काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समराविक्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।

पोखराले बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो खेल खेल्नुअघि ३१ वर्षीय समराविक्रमलाई टोलीमा भित्र्याएको हो। उनको आगमनले टोलीको ब्याटिङसँगै विकेटकिपिङ पनि बलियो हुने पोखराको विश्वास छ।

समराविक्रमा पोखराले तेस्रो संस्करणका लागि अनुबन्ध गरेका तेस्रो श्रीलंकाली खेलाडी हुन्। उनी टोलीका छैटौं विदेशी खेलाडीसमेत हुन्। पोखराले यसअघि श्रीलंकाका ब्याटिङ अलराउन्डर धनञ्जय लक्षणलाई निरन्तरता दिएको थियो भने पेस बलिङ अलराउन्डर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको थियो।

पोखराले बंगलादेशका तीन अलराउन्डरलाई पनि टोलीमा समेटेको छ। विश्वचर्चित अलराउन्डर शाकिब अल हसनसँगै पेस बलिङ अलराउन्डर मोहम्मद सैफुद्दिन र स्पिन बलिङ अलराउन्डर महेदी हसन पोखरामा आबद्ध छन्।

समराविक्रमाले श्रीलंकाका लागि तीनवटै प्रारूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले श्रीलंकाबाट नौ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र १९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी सन् २०२४ को टी–२० विश्वकपमा श्रीलंकाली टोलीमा पनि समावेश थिए। घरेलु टी–२० प्रतियोगिता लंका प्रिमियर लिगमा उनले चार फरक टोलीबाट खेलेका छन्।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यस सिजन मुख्य प्रशिक्षक पनि परिवर्तन गरेको छ। श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको पोखराले भारतीय पूर्वक्रिकेटर तथा टी–२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर बनाएको छ।

अनुभवी खेलाडीलाई निरन्तरता दिँदै युवा नेपाली प्रतिभालाई समेटेको पोखराले विदेशी खेलाडीसमेत थपेर टोली सन्तुलित बनाउने प्रयास गरेको छ। टोलीले एनपीएलको उपाधि पहिलो पटक जित्ने लक्ष्य राखेको छ।

एनपीएल २०२६ पोखरा एभेन्जर्स सदीरा समाराविक्रमा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय