News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलमा प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी ३२ सिटसहित अग्रता लिन पुगेको छ भने गठबन्धनले ६३ सिटको अनुमान पाएको छ ।
- विपक्षी नेता गादी आइजेनकोटले नेतान्याहुलाई प्रधानमन्त्री पद छाड्न र राजनीतिबाट अलग हुन आग्रह गर्दै जनताले परिवर्तनका लागि मतदान गरेको बताएका छन् ।
- एक्जिट पोलले नेतान्याहु र आइजेनकोट दुवै पक्षले स्पष्ट बहुमत नपाउने संकेत दिएका छन्, जसले सरकार गठनलाई अनिश्चित बनाएको छ ।
११ कात्तिक, काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा अग्रता देखिन्छ ।
यसैगरी विपक्षी नेता गादी आइजेनकोटको गठबन्धन दल ४९ सिटमा अगाडि छन् । त्यस्तै, अरब पार्टीहरू ८ सिटमा अगाडि छन् ।
यी प्रारम्भिक रुझान मात्र भएकाले अन्तिम मतपरिणाममा सिट संख्या तलमाथि हुनसक्ने अनुमान छ ।
नेतान्याहुले भने– बलियो दक्षिणपन्थी सरकार बनाउनुपर्छ
प्रधानमन्त्री नेतान्याहुले आफ्नो लिकुड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा अगाडि आएको दाबी गरेका छन् । मतगणनाको प्रारम्भिक रुझान सार्वजनिक भएपछि पार्टी कार्यालय पुगेका नेतान्याहुले भनेका छन्, ‘कुरा स्पष्ट छ । लिकुड इजरायलको सबैभन्दा ठूलो पार्टी हो ।’
उनले एक्जिट पोलका अनुमानमा भर नपरी वास्तविक मतपरिणाम कुर्नुपर्ने पनि बताएका छन् ।
उनले निर्वाचन प्रचारका क्रममा केही सञ्चारमाध्यमले लिकुडले १८–१९ सिट मात्रै जित्ने अनुमान गरेको भन्दै आलोचना गरे । ती अनुमानले मतदातालाई मतदानबाट निरुत्साहित गर्न खोजेको उनको आरोप थियो ।
नेतान्याहुले बलियो दक्षिणपन्थी सरकार गठन गर्नुपर्नेमा जोड दिए । इजरायलविरोधी अरब पार्टीहरूको समर्थनमा चल्ने सरकार बनाउनु गलत हुने उनको भनाइ थियो ।
उनले अरब पार्टीहरूमाथि इजरायलको अस्तित्वको विरोध गरेको, हमासलाई परोपकारी संगठनका रूपमा प्रस्तुत गरेको र इजरायली सैनिकलाई युद्ध अपराधी भनेको आरोप पनि लगाए ।
इजरायलमा सोमबार भएको आम निर्वाचनपछिका प्रारम्भिक एक्जिट पोलले बेन्जामिन नेतान्याहुको गठबन्धन र गादी आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले स्पष्ट बहुमत नपाउने सम्भावना देखाइएको छ ।
इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ ।
च्यानल १२ को संशोधित एक्जिट पोलमा भने नेतान्याहुको गठबन्धनले ५२ र आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० सिट जित्ने अनुमान छ ।
आइजेनकोटले नेतान्याहुलाई पद छाड्न आग्रह गरे
एक्जिट पोल सार्वजनिक भएपछि विपक्षी नेता गादी आइजेनकोटले नेतान्याहुलाई प्रधानमन्त्री पद छाड्न र राजनीतिबाट अलग हुन आग्रह गरेका छन् ।
जनताले परिवर्तनका लागि मतदान गरेको र नेतान्याहु नेतृत्वको सरकारले जनताको विश्वास गुमाएको दाबी गर्दै उनले पद त्याग्न भनेका हुन् ।
आइजेनकोटले सबै इजरायली नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउन आफूले सक्दो प्रयास गर्ने पनि बताए । उनले सुरक्षा अधिकारीहरूलाई पनि देश र नागरिकको हितमा काम गर्न आग्रह गरे ।
पूर्वप्रधानमन्त्री बेनेट र लापिडले भने– नेतान्याहु पराजित भए
निर्वाचनको एक्जिट पोललाई इजरायलका पूर्वप्रधानमन्त्रीद्वय नफ्ताली बेनेट र याइर लापिडले पनि नेतान्याहु गठबन्धनको पराजयका रूपमा व्याख्या गरेका छन् । त्यसैले उनीहरुले नेतान्याहुलाई पद त्याग्न र घर जान सल्लाह दिएका छन् ।
इजरायलका पूर्वप्रधानमन्त्री बेनेटले तेलअभिभमा समर्थकहरूलाई सम्बोधन गर्दै अक्टोबर ७ को हमलाका बेला सत्तामा रहेको नेतान्याहु सरकार अब हट्ने जिकिर गरे । नयाँ सरकार गठनका लागि आवश्यक सबै कदम चाल्न र आफ्नो पार्टीले अहंकारसमेत त्याग्न तयार रहेको पनि उनले बताए ।
निर्वाचनअघि बेनेटले पूर्वप्रधानमन्त्री याइर लापिडसँग मिलेर टुगेदर पार्टी गठन गरेका थिए । उक्त पार्टी नेतान्याहुविरोधी आइजेनकोट गठबन्धनमा आबद्ध छ ।
इजरायलका अर्का पूर्वप्रधानमन्त्री याइर लापिडले पनि निर्वाचनको प्रारम्भिक अनुमानलाई नेतान्याहु गठबन्धनको पराजयका रूपमा व्याख्या गर्दै जनताले नेतान्याहुलाई सत्ता छाड्न सन्देश दिएको जिकिर गरेका छन् ।
इजरायलमा सिट कसरी बाँडिन्छ ?
इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्दैनन् । उनीहरूले राजनीतिक दललाई मतदान गर्छन् र दलहरूले प्राप्त गरेको मतका आधारमा संसद् अर्थात् नेसेटमा सिट बाँडफाँट हुन्छ ।
संसद्मा सिट पाउन कुनै दलले कुल सदर मतको कम्तीमा ३.२५ प्रतिशत प्राप्त गर्नुपर्छ । यो थ्रेसहोल्ड पार गर्ने दलहरूले प्राप्त गरेको मतअनुसार सिट पाउँछन् ।
दलहरूले निर्वाचनअघि उम्मेदवारहरूको सूची सार्वजनिक गर्छन् । प्राप्त सिट संख्याका आधारमा उक्त सूचीमा रहेका उम्मेदवार सांसद् बन्छन् ।
इजरायलको संसदमा कुल १२० सिट छन् । सरकार बनाउन सामान्यत: कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ ।
कसले बनाउला सरकार ?
प्रारम्भिक अनुमानले नेतान्याहू र उनका विपक्षी दुवै पक्षका लागि सरकार गठनको बाटो सहज नरहेको संकेत गरेको छ ।
नेतान्याहूको गठबन्धनले ६३ सिट पाउने अनुमान सार्वजनिक भए पनि अन्तिम परिणाम र गठबन्धनभित्रका दलहरूको सहकार्यले सरकार गठनको अवस्था निर्धारण गर्नेछ ।
अरब पार्टीहरूको समर्थन पनि सरकार गठनको समीकरणमा महत्वपूर्ण हुन सक्छ । तर, नेतान्याहुले अरब पार्टीहरूको समर्थनमा सरकार बनाउने सम्भावनाको विरोध गरेका छन् ।
बेन ग्विरको चेतावनी– आइजेनकोटसँग गठबन्धन गर्नु गल्ती
दक्षिणपन्थी नेता इतामार बेन ग्विरले भने नेतान्याहुलाई आइजेनकोटको पार्टीसँग गठबन्धन नगर्न चेतावनी दिएका छन् ।
आइजेनकोटसँग मिलेर सरकार बनाउनु ठूलो गल्ती हुने उनको भनाइ छ ।
आइजेनकोटको गठबन्धनसँग सहकार्य गर्दा आफ्नो पार्टी ओत्जमा येहुदित सरकारबाट बाहिरिनुपर्ने र अन्य दलले सरकारमा स्थान पाउन सक्ने चिन्ता बेन ग्विरलाई छ ।
प्रतिक्रिया 4