११ कात्तिक, बार्सिलोना । शनिबार बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा नेपाली गीत-संगीत गुञ्जिरहेको थियो। राष्ट्रिय झन्डा बोकेका बालबालिका, परम्परागत पहिरनमा सजिएका महिला र नेपाली परिकारका स्टलमा देखिएको चहलपहलले त्यहाँ नेपाली समुदायको उपस्थिति झल्काउँथ्यो।
यही माहोलमा किशोरी लिदिया भुर्तेल भुसालले अंग्रेजीमा नेपालबारे बोल्दै विदेशी दर्शकलाई विपत्ति र संकटका समाचारबाट मात्रै देशलाई नचिन्न आग्रह गरिन्। उनको सन्देश थियो, ‘नेपाल बन्द भएको छैन !’
बार्सिलोनामै जन्मिएर हुर्किएकी र नेपाली पाठशालामा भाषा सिकेकी लिदियाले नेपालका हिमाल, प्राकृतिक सुन्दरता, विविध संस्कृति र नेपालीहरूको आत्मीयताबारे चर्चा गरिन्।
पर्यटनले स्थानीय परिवार र साना व्यवसायलाई सहयोग पुर्याउन सक्ने बताउँदै उनले जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पनि कुरा उठाइन्। उनको मन्तव्यले नेपालको परिचय विपत्तिका समाचारमा मात्र सीमित नराखी देशको सुन्दरता र सम्भावनालाई पनि विश्वसामु पुर्याउनुपर्ने सन्देश दिएको थियो।
बार्सिलोनामा नेपालको पर्यटन प्रवर्द्धन

बार्सिलोना नगरपालिकाको ‘प्ला कम्युनिटारी’ कार्यक्रमअन्तर्गत नेपाली समुदायले आफ्नो कला, संस्कृति र परम्परा प्रस्तुत गर्ने अवसर पाएको थियो।अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेनको संयोजनमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुतिमार्फत नेपालको पहिचान झल्काइएको थियो।
कार्यक्रममा गुरुङ, मगर, नेवार, क्षेत्रीलगायत विभिन्न समुदायका सहभागी परम्परागत पहिरनमा सजिएर उपस्थित भएका थिए।नेपाली झन्डा बोकेका बालबालिका, सांस्कृतिक नृत्य र नेपाली परिकारका स्टलले कार्यक्रमको रौनक बढाएका थिए।
विभिन्न समुदायका पहिरन र प्रस्तुतिले नेपालको सांस्कृतिक विविधता झल्काएका थिए। बालबालिकाको सहभागिताले विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने प्रयासलाई पनि देखाउँथ्यो।
मञ्चका अध्यक्ष सूर्यप्रसाद सापकोटाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन गर्नु र देशको प्राकृतिक सुन्दरता, हिमाल, पहाड, तराई, ऐतिहासिक तथा धार्मिक स्थल र सांस्कृतिक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई परिचित गराउनु थियो। दसैँ-तिहारको शुभकामना आदानप्रदानसँगै नेपाली संस्कृति प्रस्तुत गरिएको कार्यक्रमले विदेशमा नेपालको पहिचान विस्तार गर्ने अवसर दिएको उनले बताए।
‘प्ला कम्युनिटारी’ बार्सिलोना नगरपालिकाको सामुदायिक तथा सांस्कृतिक गतिविधिसँग सम्बन्धित पहल हो। यसअन्तर्गत विभिन्न समुदायले आफ्ना संस्कृति प्रस्तुत गर्ने अवसर पाउँछन्। यही अवसरमा नेपाली समुदायले पर्यटन प्रवर्द्धनलाई सांस्कृतिक प्रस्तुति र चाडपर्वको उल्लाससँग जोडेको थियो।
कोस्टा ब्लाङ्कामा पनि नेपालको पहिचान प्रवर्द्धन



बार्सिलोनामा मात्र होइन, स्पेनको कोस्टा ब्लाङ्का क्षेत्रमा पनि नेपाली समुदायले अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको पहिचान प्रस्तुत गरेको छ। ल’आल्फास डेल पीमा आयोजित १९औँ अन्तर्राष्ट्रिय दिवसमा ३ हजार ५०० भन्दा बढी मानिस सहभागी भएका थिए।
कार्यक्रममा नेपाली समुदायले राष्ट्रिय झन्डासहित र्यालीमा सहभागिता जनाउँदै नेपाली कला, संस्कृति र खानपानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाएको थियो। नेपाल समाज एसोसिएसन कोस्टा ब्लाङ्का र एनआरएनए क्षेत्रीय समिति कोस्टा ब्लाङ्काले संयुक्त रूपमा नेपाली परिकारका स्टल सञ्चालन गरेका थिए।
खानाका परिकार र सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली समुदायले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको थियो। अन्तर्राष्ट्रिय दिवसमा नेपाली समुदायको सहभागिताले विभिन्न देशका मानिसबीच सांस्कृतिक आदानप्रदान र आपसी चिनजानको अवसर सिर्जना गरेको थियो।
सांस्कृतिक प्रस्तुतिसँगै पर्यटन प्रवर्द्धनमा जोड दिने यस्ता गतिविधिले नेपाली समुदायबीच सहकार्य बढाउनुका साथै नेपाल र स्पेनबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तस्वीरहरू : सुरेश गुरुङ


प्रतिक्रिया 4