News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८३/८४ को साउन–असोजमा नेपालले ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बराबरको धान, चामल, कनिका र बिउ आयात गरेको छ ।
- भन्सार विभागका अनुसार तीन महिनामा ५६ हजार ८ सय ९३ टन धान, चामल, कनिका र बिउ भित्रिएको छ, जसमा असोजमै ११ हजार ३ सय ४९ टन थपिएको छ ।
- सबैभन्दा धेरै २३ हजार ७४ टन अन्य चामल र १८ हजार ७ सय १८ टन कच्चा धान आयात भएको छ, भने धानको बिउ ६७ किलो मात्र भित्रिएको छ ।
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल ५ करोड ६८ लाख ९३ हजार १ सय २० किलो अर्थात् ५६ हजार ८ सय ९३ टन धान, चामल, कनिका र बिउ स्वदेश भित्रिएको छ ।
यसका लागि नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ ।
अघिल्लो महिनासम्मको तथ्यांकसँग तुलना गर्दा असोजमा धानचामल आयात ह्वात्तै बढेको देखिन्छ । विभागका अनुसार साउन र भदौ गरी पहिलो दुई महिनामा कुल ४ करोड ५५ लाख ४३ हजार ९ सय ५६ किलो (४५ हजार ५ सय ४३ टन) धानचामल आयात भएको थियो, जसको मूल्य ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ थियो ।
यसरी हेर्दा असोजमा मात्रै थप १ करोड १३ लाख ४९ हजार १ सय ६४ किलो (११ हजार ३ सय ४९ टन) धानचामल भित्रिएको छ ।
रकमका आधारमा असोजमा मात्रै थप १ अर्ब ११ करोड ५ लाख ८६ हजार बराबरको धानचामल आयात भएको तथ्यांकले देखाउँछ ।
चालु आव पहिलो त्रैमासमा कुन धानचामल कति भित्रियो भनेर हेर्दा सबैभन्दा धेरै परिमाणमा ‘अन्य चामल’ र कच्चा धान आयात भएको देखिन्छ । यस अवधिमा १ अर्ब ६४ करोड ५९ लाख ३२ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ७४ हजार ४ सय २८ किलो (२३ हजार ७४ टन) अन्य चामल र ८४ करोड ६१ लाख ४५ हजार बराबरको १ करोड ८७ लाख १८ हजार ६ सय ६० किलो (१८ हजार ७ सय १८ टन) कच्चा धान आयात भएको छ ।
परिमाणका हिसाबले तेस्रो स्थानमा रहे पनि रकमका हिसाबले सबैभन्दा धेरै पैसा भने बासमती चामल खरिदमा बाहिरिएको छ । तीन महिनामा १ अर्ब ९६ करोड ८५ लाख ५९ हजार बराबरको १ करोड ४४ लाख ४९ हजार ४ सय ५६ किलो (१४ हजार ४ सय ४९ टन) बासमती चामल भित्रिएको छ ।
यसैगरी सोही अवधिमा २ करोड ७१ लाख ९ हजार बराबरको ६ लाख ४९ हजार ६ सय ६० किलो (६ सय ४९ टन) कनिका र १ लाख १५ हजार बराबरको ८ सय ४९ किलो ब्राउन राइस आयात भएको छ ।
सबैभन्दा कम भने धानको बिउ आयात भएको छ । चीन र भारतबाट गरी ५ लाख १ हजार रुपैयाँ मूल्यको जम्मा ६७ किलो धानको बिउमात्र नेपाल भित्रिएको छ ।
नेपालमा मुख्यगरी भारतबाटै धानचामल भित्रिने भए पनि इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै मात्रामा यस्ता उत्पादन आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 4