+
+
Shares

मधेस प्रदेशमा ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाले गत आव मधेसका ८ जिल्लामा उक्त सहुलियतपूर्ण कर्जा लगानी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको अध्ययनले मधेस प्रदेशका ८ जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ९९ करोड सहुलियतपूर्ण कर्जा प्रवाह भएको देखाएको छ ।
  • प्रदेशमा कृषि, वन र मत्स्य क्षेत्रको जीडीपी योगदान ३४.९७ प्रतिशत रहने अनुमान छ भने प्रतिव्यक्ति जीडीपी अमेरिकी डलर ९३४ हुने आकलन छ ।
  • २०८३ असार मसान्तसम्म मधेसबाट बैंक तथा वित्तीय संस्थाको निक्षेप १७.३२ प्रतिशत बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ र कर्जा ०.१८ प्रतिशत घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड कायम भएको छ ।

११ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मधेस प्रदेशमा मात्रै ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले गत आव मधेसका ८ जिल्लामा उक्त सहुलियतपूर्ण कर्जा लगानी गरेका हुन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ९९ करोड सहुलियतपूर्ण कर्जा प्रदान गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी १ अर्ब २ करोड अर्थात् १६.५४ प्रतिशत धनुषा र सबैभन्दा कम ३० करोड अर्थात् ४.८७ प्रतिशत सप्तरीमा रहेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

२०८२/८३ मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको ३४.९७ प्रतिशत तथा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । गत आव मधेस प्रदेशको प्रतिव्यक्ति जीडीपी अमेरिकी डलरमा ९ सय ३४ हुने अनुमान छ ।

मधेसमा फलफूलले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत तथा मसला बालीले ओगटेको क्षेत्रफल ४.४६ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल ४.४७ र तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल १०.१५ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै तरकारी तथा बागवानी उत्पादन ०.५४ र फलफूल उत्पादन ४.९९ प्रतिशत वृद्धि भएको छ भने खाद्य तथा अन्य बाली उत्पादनमा ५.६९ तथा मसला उत्पादन ४.४४ प्रतिशत घटेको छ ।

गत आव पशुजन्य उत्पादनतर्फ मासु र अन्डा उत्पादन क्रमश: १०.१९ र ३.११ प्रतिशत वृद्धि भएको छ । दूध उत्पादन भने २.६७ प्रतिशतले घटेको छ ।

त्यसैगरी माछा उत्पादन ५.०५, वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन ६०.५८ र दाउरा उत्पादन ७८.६२ प्रतिशत वृद्धि भएको छ ।

२०८३ असार मसान्तमा मधेस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ५९ अर्ब ८६ करोड ९० लाख कर्जा प्रवाह भएको छ । यो मधेसमा प्रवाहित कुल कर्जाको १२.१० प्रतिशत हो ।

अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत छ । गत आव बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ०.६८ प्रतिशत वृद्धि भई १ खर्ब २८ अर्ब ९७ करोड कायम भएको छ । गत आव यस्तो कर्जा १ खर्ब २८ अर्ब ९ करोड थियो ।

यस प्रदेशमा घरजग्गा रजिस्ट्रेसन संख्या १ लाख १६ हजार २ सय ७ छ भने घरजग्गा रजिस्ट्रेसन राजस्व ३ अर्ब २२ करोड संकलन भएको छ । २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मधेसबाट परिचालन गरेको निक्षेप १७.३२ प्रतिशत वृद्धि भई ४ खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ । कर्जा प्रवाह भने ०.१८ प्रतिशत कम भई ४ खर्ब ९४ अर्ब ९५ करोड कायम भएको छ ।

यस प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजना र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम कार्यान्वयन चरणमा छन् । उक्त आयोजनामध्ये हुलाकी सडकमार्ग निर्माण गति तुलनात्मक तीव्र छ ।

आव २०८२/८३ मा मधेसबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ७९ हजार ४१ छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २२.६० प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?