११ कात्तिक, धनगढी । कैलालीको भजनीमा बोक्सी भन्दै एक महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ परेकामाथि भजनी नगरपालिका–५, मिलनपुरकी ५६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोप छ । उक्त आरोपमा सोही ठाउँका कृष्ण डगौरा, राजु डगौरा, राजन डगौरा र उर्मिला डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार मंगलबार राति करिब ९ बजे चारै जना महिलाको घरमा पुगेका थिए । उनीहरूले ती महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै उनकी नातिनीलाई समेत कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।
कुटपिटबाट महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनापछि पीडितले बुधबार इलाका प्रहरी कार्यालय भजनीमा बोक्सीको आरोपसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले चारै जनालाई उनीहरूकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4