+
+
Shares

बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली

सिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ८० वर्षीया बिमली रोका ती दिन अझै सम्झिन्छिन् । जीवनको अधिकांश समय उनको डोको र गाग्रीसँगै बित्यो । एक गाग्री पानीका लागि घण्टौँ हिँडेर खोला वा पँधेरो पुग्नुपर्थ्यो । तर अहिले घरमै धारा आएको देख्दा उनी दंग छिन् ।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ कात्तिक १२ गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको बागचौर र सिद्धकुमाखका बस्तीमा घरघरमा धारा पुगेपछि पानीका लागि घण्टौँ हिँड्नुपर्ने स्थानीयको दैनिकी फेरिएको छ।
  • सिद्धकुमाखकी ८० वर्षीया बिमली रोकाले घरमै धारा आएको देख्दा खुसी लागेको बताइन्, भने बागचौरकी रेवती परियारले घरनजिकै धारा आएपछि घरायसी काम सजिलो भएको बताइन्।
  • बागचौरमा आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म ११ खानेपानी तथा सरसफाइ योजना सम्पन्न भई १ हजार ३ सय २२ घरधुरीका ७ हजार ४ सय १७ नागरिक लाभान्वित भएका छन्।
  • सिद्धकुमाखमा सुस्वा साझेदारीमार्फत ५ खानेपानी आयोजना, ४ प्रयोगमैत्री शौचालय र थप ६ खानेपानी आयोजना, ३ विद्यालयका शौचालय तथा १ शौचालय मर्मत गरिएको छ।

१२ कात्तिक, सल्यान । पानी लिन घण्टौँ हिँड्नुपर्ने, गाग्री र डोको बोकेर पँधेरोमा लाइन बस्नुपर्ने र कहिलेकाहीँ मध्यरातमै उठेर पानीको जोहो गर्नुपर्ने सल्यान बागचौर र सिद्धकुमाखका धेरै बस्तीका नागरिकको दैनिकी अहिले फेरिँदै गएको छ ।

वर्षौँसम्म पिउने पानीको अभाव झेलेका बस्तीमा घर–घरमा धारा पुगेसँगै यहाँका नागरिकको जीवनशैली फरिँदै गएको छ । विद्यालयमा सुरक्षित पानी र प्रयोगमैत्री शौचालय बनेका छन् । पानी लिन खर्च हुने समय बचेपछि स्थानीयको दैनिकी बदलिएको छ ।

कुनै समय यहाँका लागि पानी ल्याउनु नै परिवारको एउटा प्रमुख जिम्मेवारीजस्तै थियो । घरको काम, बालबालिकाको हेरचाह र पशुचौपायाको स्याहारसँगै महिलाहरूको ठूलो समय पानीकै खोजीमा बित्थ्यो । कतिपय बस्तीमा नजिकै पानीको स्रोत नहुँदा एउटा गाग्री पानीका लागि घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो । पँधेरोमा पुगेपछि पनि पालो कुर्नुपर्ने भएकाले पानी ल्याएर घर फर्किँदा आधा दिन बित्ने अवस्था थियो । तर अहिले अवस्था फेरीएको छ ।

बिमली रोका

सिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ८० वर्षीया बिमली रोका ती दिन अझै सम्झिन्छिन् । जीवनको अधिकांश समय उनको डोको र गाग्रीसँगै बित्यो । एक गाग्री पानीका लागि घण्टौँ हिँडेर खोला वा पँधेरो पुग्नुपर्थ्यो । त्यहाँ पुग्दा पनि पानीका लागि लामो समय पालो कुर्नुपर्थ्यो । तर अहिले घरमै धारा आएको देख्दा उनी दंग छिन् ।

‘पहिले एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्थ्यो । डोको र गाग्री बोकेर खोला वा पँधेरो पुग्नुपर्थ्यो । त्यहाँ पनि पालो कुर्नुपर्थ्यो । कहिलेकाहीँ पालो नपाएर धेरै समय बित्थ्यो । एउटा व्यक्तिले पानीकै लागि खटिनुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘अहिले घरमै धारा आएको छ । यो उमेरमा घरमै पानी आएको देख्दा निकै खुसी लागेको छ ।’

आठ दशक उमेर पार गरेकी रोकाका लागि घरमै धारा आउनु सामान्य सुविधा होइन । वर्षौँसम्म पानीका लागि गरेको संघर्षपछि घरको आँगनमै पानी आउँदा उनलाई आफ्नो जीवनमा ठूलो परिवर्तन आएको महसुस भएको छ ।

रेवती परियार

बागचौर नगरपालिका–३ की रेवती परियारको अनुभव पनि उस्तै छ । घरका अरू कामभन्दा पहिले पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पानीको स्रोतमा भीड हुने र पालो कुर्नुपर्ने भएकाले कहिलेकाहीँ मध्यरातमै उठेर पानी लिन जानुपर्थ्यो । पानी ल्याउनकै लागि घण्टौँ समय खर्च भएपछि घरायसी कामसमेत प्रभावित हुन्थ्यो । अहिले नयाँ खानेपानी योजना निर्माण भएपछि अहिले उनको घरनजिकै धारा पुगेकोपछि सजिलो भएको उनी बताउँछिन् ।

‘पहिले घरको काम छाडेर पनि पानी लिन जानुपर्थ्यो । कहिलेकाहीँ मध्यरातमै उठेर पानीका लागि जानुपर्ने अवस्था थियो । घण्टौँ समय पानी ल्याउनमै खर्च हुन्थ्यो,’ उनले भनिन् ‘अहिले घरनजिकै धारा आएको छ । पानी लिन जाने समय बचेको छ । त्यसले घरायसी काम गर्न धेरै सहज भएको छ ।’

पानीको पहुँच विस्तारसँगै बागचौर र सिद्धकुमाखका बस्तीमा महिलाको श्रमसमेत घटेको छ । पहिले पानी बोक्नमा खर्च हुने समय अहिले घरायसी काम, कृषि, पशुपालन तथा अन्य काममा लगाउन सकिने भएको छ । बालबालिकाका लागि पनि पानी लिनुपर्ने बाध्यता कम भएपछि पढाइमा समय दिन सहज भएको यस क्षेत्रका नागरीहरु बताउँछन ।

पानीको अभावको असर घरमा मात्र थिएन । विद्यालयमा समेत पर्याप्त पानी नहुँदा विद्यार्थीले समस्या भोग्दै आएका थिए । शौचालय पर्याप्त थिएनन्, भएका पनि प्रयोगमैत्री थिएनन् । सुरक्षित पानीको अभावले व्यक्तिगत सरसफाइदेखि विद्यालयको समग्र वातावरण प्रभावित हुँदै आएको थियो ।

अहिले भने बागचौर र सिद्धकुमाखका विभिन्न विद्यालयमा सुरक्षित पानीसँगै प्रयोगमैत्री शौचालय निर्माण भएका छन । यसले विद्यार्थीलाई विद्यालयमै सहज वातावरण सिर्जना गरेको छ । शिशुजागरण माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपलाल भण्डारीका अनुसार विगतमा विद्यालयमा पर्याप्त शौचालय र पानीको सुविधा थिएन । शौच गर्न विद्यार्थीले पालो पर्खनुपर्थ्यो । भएका शौचालय पनि प्रयोग गर्न सहज थिएनन् । विद्यार्थीलाई पानीका लागि समेत विद्यालय बाहिर जानुपर्ने अवस्था थियो । तर अहिले भने अवस्था फेरीएको छ ।

‘विगतमा शौच गर्न पालो पर्खनुपर्थ्यो । शौचालय प्रयोग गर्न लायक थिएन । प्रयोगमैत्री पनि थिएन । विद्यार्थीलाई पानी लिन धाउनुपर्थ्यो । केटा र केटीले एउटै शौचालय प्रयोग गर्नुपर्ने अवस्था थियो । विद्यालयमा स्वच्छ पानीको पनि पर्याप्त व्यवस्था थिएन,’ उनले भने, ‘अहिले अवस्था फेरिएको छ । विद्यालयमा सुरक्षित पानी र प्रयोगमैत्री शौचालय बनेका छन् । विद्यार्थीलाई पहिलेको जस्तो समस्या छैन ।’

पालिकाको सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मार्फत यो परिवर्तन आएको हो ।

बागचौर र सिद्धकुमाखमा तीन वर्षमा २२ खानेपानी तथा सरसफाइ योजना सम्पन्न
बागचौर नगरपालिकाले भौगोलिक कठिनाइका बाबजुद सुरक्षित र दिगो खानेपानी सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । पानीका स्रोत टाढा रहेका तथा उचाइमा रहेका बस्तीमा आधुनिक लिफ्ट प्रविधिको प्रयोग गरेर खानेपानी योजना निर्माण तथा विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म बागचौर नगरपालिकामा ११ वटा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएका छन् । नगरपालिकाका अनुसार ती योजनाबाट १ हजार ३ सय २२ भन्दा बढी घरधुरीका ७ हजार ४ सय १७ भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नगर प्रमुख जनकराज गौतम खानेपानीलाई नागरिकको आधारभूत आवश्यकताका रूपमा मात्र नभई जीवनस्तर सुधारको महत्वपूर्ण आधारका रूपमा लिइएको बताए ।

‘खानेपानी नागरिकको आधारभूत आवश्यकता हो । भौगोलिक कठिनाइका बाबजुद सुरक्षित र दिगो खानेपानी सेवा विस्तारलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । आधुनिक प्रविधिको प्रयोग गरेर विभिन्न वडामा खानेपानीका योजना निर्माण तथा विस्तार गरेका छौँ,’ गौतम भन्छन्, ‘बाँकी क्षेत्रमा पनि खानेपानीको पहुँच विस्तार गर्ने कामलाई निरन्तरता दिएका छौँ ।’

सिद्धकुमाख गाउँपालिकामा पनि खानेपानी र सरसफाइको क्षेत्रमा पूर्वाधार निर्माणसँगै व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना’ (सुस्वा) ले गाउँपालिकासँग साझेदारी गर्दै पाँचवटै वडामा खानेपानी, सरसफाइ र व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा पाँच वटा खानेपानी आयोजना र चार वटा प्रयोगमैत्री शौचालय निर्माण भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा थप छ वटा खानेपानी आयोजना, तीन विद्यालयमा प्रयोगमैत्री शौचालय निर्माण र एउटा शौचालय मर्मत गरिएको छ ।

खानेपानी तथा शौचालय निर्माणसँगै व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता, फोहोर व्यवस्थापन, किशोर–किशोरी समूह, धामीझाँक्री समूह तथा ग्रामीण मर्मतसम्भारजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । खानेपानीको पहुँच बढ्दै जाँदा गाउँमा देखिने परिवर्तन पनि विस्तारै फराकिलो हुँदै गएको छ । कुनै घरमा पानीका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छ भने कुनै विद्यालयमा विद्यार्थीले सुरक्षित पानी र सफा शौचालय प्रयोग गर्न थालेका छन । महिलाको श्रम बचेको छ । बालबालिकाले पढाइका लागि थप समय पाएका छन । सरसफाइका बानीमा सुधार आएको छ ।

सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरीका अनुसार अहिले देखिएको परिवर्तन धारा र शौचालय निर्माणमा मात्र सीमित छैन । यसले स्थानीयको दैनिक जीवनशैलीमै परिवर्तन ल्याएको छ ।

‘आज सिद्धकुमाखमा परिवर्तनका अनेकौँ कथा भेटिन्छन् । कुनै घरमा पानीका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ । कतै विद्यालयका बालबालिका सुरक्षित पानी र सफा शौचालय प्रयोग गरिरहेका छन् । महिलाको श्रम बचेको छ, बालबालिकाको पढाइमा समय बढेको छ, सरसफाइका बानीमा सुधार आएको छ र स्वास्थ्यका जोखिम पनि घट्दै गएका छन्,’ उनी भन्छन्, ‘यी परिवर्तन केवल पूर्वाधार निर्माणका उपलब्धि होइनन् । स्थानीय सरकार, विकास साझेदार र समुदायको साझा प्रयासका प्रतिफल हुन् ।’

वर्षौँसम्म गाग्री र डोको बोकेर पानी ल्याएका वृद्धवृद्धाका लागि घरमै धारा पुग्नु सपना जस्तै बनेको छ । पानी लिनकै लागि घण्टौँ समय खर्च गर्ने महिलाको श्रम घटेको छ । विद्यालयका बालबालिकाले सुरक्षित पानी र प्रयोगमैत्री शौचालय पाएका छन । बागचौर र सिद्धकुमाखका विभिन्न बस्तीमा अहिले पानीसँगै समय, श्रम र जीवनशैली पनि फेरिएको छ । हिजो पानीको खोजीमा बित्ने समय आज घरायसी काम, पढाइ र अन्य गतिविधिमा खर्च हुन थालेको छ । घरको आँगनमा पुगेको एउटा धाराले स्थानीयको दैनिकी मात्र सहज बनाएको छैन, सुरक्षित पानीसँगै स्वस्थ र सहज जीवनको आधार पनि तयार गरिरहेको छ ।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?