+
+
Shares
सिनेमा :

कबड्डी ५ : काश, पटकथा पनि राम्रो भएको भए !

विपिन कार्कीको चरित्रले भने फिल्मको सौन्दर्यमै क्षय गराएको छ । फिल्ममा विपिन राख्नु र नराख्नुले कुनै फरक पार्दैन ।

कञ्चन कञ्चन
२०८३ कात्तिक १२ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ फिल्ममा काजीको प्रेमभन्दा वृत्ति र व्यावहारिक जीवनका निर्णयलाई केन्द्रमा राखिएको छ।
  • समीक्षामा अभिनय, संवाद, छायाङ्कन र सङ्गीत सबल भए पनि पटकथा कमसल र विपिन कार्कीको चरित्र अनावश्यक भनिएको छ।

रामबाबु गुरुङले जब १२ वर्षअघि ‘कबड्डी’ लाई नेपाली सिनेमा जगतमा प्रविष्ट गराए, तब नेपाली फिल्म धन्य भयो ।

एकैखाले फिल्मका कारण जिब्रो फेर्न नपाएका दर्शकहरूले त्राण पाए । मौलिक एवम् पृथक् कथाहरूको स्वाद लिन पाए । दयाहाङ राईले भूमिका निभाएको ‘काजी’ पात्र लगभग आदर्श प्रेमीको पर्यायका रूपमा स्थापित भयो । फिल्मबाट केवल काजी मात्र परिचित भएन, उत्तिकै परिचित बने बिके, छन्त्याल, मैया, बमकाजी, झाँक्री… झण्डै-झण्डै सबै चरित्र नै । गुणवत्ता बोकेको फिल्मको विशेषता नै यही हुन जान्छ कि त्यहाँ केवल ‘हिरो’ मात्र होइन, अन्य चरित्र पनि उत्तिकै महत्त्वका साथ गनिन्छन्।

 

 

वर्षहरू बित्दै जाँदा दर्शकहरूले आशा राखेका हुँदा हुन्– कबड्डी ४ नै फाइनल म्याच हो र यसपछि कबड्डी शृङ्खलाको साङ्गोपाङ्ग भयो । तर निर्देशक गुरुङले फेरि केही पानाहरू थपिदिए र लेखे– कबड्डी ५ । काजीको प्रेमजीवनको एउटा वृत्त पूरा भइसकेपछि पनि कथाहरू नसकिने रहेछन् । उनले यही तर्कको फेरो समाएर फिल्म बनाए । कात्तिक ६ गतेदेखि काजीका प्रेमबाहेकका रहलपहल कथाहरू हेर्न दर्शकहरू सिनेमाहल गइरहेका छन् ।

के फरक छ कबड्डी ५ मा ?

फिल्ममा यसपटक काजीको व्यावहारिक जीवनप्रतिका उसका सुझबुझ र निर्णयहरूलाई देखाउन खोजिएको छ । हुन त यसअघिको सिरिजमै प्रेमप्रति काजीका भगीरथी प्रयत्नहरू खुकुलो हुँदै गइरहेका थिए । यसपटक भने ऊ जीवनवृत्तिको चापमा च्यापिएको छ । कुन पेसालाई अँगाल्ने भन्ने प्रश्नमा घोत्लिएको छ । यसमा उसको विहे केन्द्रमा नभएर वृत्ति (पेसा) कारक तत्त्व बन्न गएको छ । अर्थात्, काजीले जीवनदृष्टिमा ठूलो फड्को मारेको छ ।

 

‘शान्ति मिस’ (मिरुना मगर) को घरपरिवार र काजीको कुरा नमिलेको प्रसङ्गबाट कथा उठेको छ । काजीको अहमतामा आघात पुग्नु कबड्डी सिरिजका कथाहरूमा घुम्तीका रूपमा देखा पर्ने गरेका छन् । यहाँ पनि भेटिन्छ त्यो घुम्ती । काजीको प्रभाव पनि पातलिँदै गइरहेको छ । केबीसी ग्रुपका ‘बीसी’ (बिके र छन्त्याल) अब ‘के’ (काजी) सँग उतिसारो हच्किन छाडेका छन् । ‘बीसी’ लाई विदेशको हावा लाग्न थालेको छ। मुस्ताङ झन् उराठलाग्दो देखिन थालेको छ । बेरोजगारीको पीडाले आहत तुल्याउन थालेको छ । यसबाट नै काजीसँग उनीहरूको फाटो सुरु हुन थाल्छ ।

कबड्डी सिरिज २ बाट हराएकी मैया ( रिश्मा गुरुङ ) यसपटक पर्दामा देखिन्छिन् । आफ्ना अज्ञात दुःख बिसाउन आएकी मैयाले द्वन्द्व पनि बोकेर ल्याउँछिन् । दुःख अनिवार्य र शाश्वत सत्य हो । मैयाको दुःख बिसाउन कसैले बोकिदिनुपर्ने हुन्छ । त्यो दुःख काजीले बोक्ने हुँदा उसको ‘बीसी’ र घरपरिवारसँगको समीकरणमा चिरा देखिन थाल्छन् ।

अनि नयाँ छ विपिन कार्कीको उपस्थिति ।

के छ हेर्नलायक ?

अभिनय पक्ष सबल भएकै कारण अझैसम्म यसले दर्शकदीर्घालाई कायम राख्न सकेको छ । समयसँगै प्रेमीमा आउने परिवर्तनलाई दयाहाङले राम्रोसँग देखाउन सकेका छन् । त्यसका साथै, उनको जुन चरम वैयक्तिक चरित्र छ, त्यसलाई पनि परित्याग गरेका छैनन् । यस अर्थमा, समयको बहाव, चरित्रको लय र स्थाणु प्रवृत्तिलाई सन्तुलनमा राखेका छन् । सोही कुरा विजय बराल (बीके ) र बुद्धि तामाङ ( छन्त्याल ) को अभिनयमा पनि लागू हुन्छ ।

सबल छन् फिल्मका संवादहरू । ठोकेरै भन्दा, फिल्मलाई पट्यारलाग्दो बन्न नदिएको कुरा नै संवाद हो । संवादका सन्दर्भ, आञ्चलिकता, लम्बाइ, गहिराइ, ध्वनि लगायतका सबै पक्षहरू पूर्ण रूपमा दोषरहित छन् । पहिलो सिरिजदेखि नै कबड्डीले आफ्नो संवादको लयमा भत्कोस ल्याउन दिएको छैन ।

छायाङ्कन पनि सुन्दर छ । दृश्यहरूले मूल कथाबाहेक धेरै कुरा बोलेका छन् । मुस्ताङमा भएको बेरोजगारीको समस्यालाई त्यहाँको मुडुलिएको भू-बनावट, निर्जनताको तितो अनुभूति र सन्नाटाहरूमा लुकेका निराशालाई सटहरूले न्याय गरेका छन् । साथै थिमलाई छायांकनले बिर्सेको छैन ।

कालीप्रसाद बाँस्कोटाको सङ्गीतको अनन्य उपस्थिति छ । कथाबाट निकालेर उनको सङ्गीत सुन्दा जति मीठो लाग्छ, कथाको परिधिमा त्यो मिठास झन् थपिन्छ ।

के-के छन् फितलो ?

निर्देशक गुरुङले हाकाहाकी भनेका छन् कि उनले यो फिल्म पैसा कमाउन बनाएका हुन् । त्यसकारण फितला कुराहरू नहुने त कुरै भएन । विपिन कार्कीको चरित्रले भने फिल्मको सौन्दर्यमै क्षय गराएको छ । कथामा उनी अनावश्यक अतिरिक्त बन्न पुगेका छन् । उनको बारेमा एक वाक्यमा भन्नुपर्दा– फिल्ममा विपिन राख्नु र नराख्नुले कुनै फरक पार्दैन । यद्यपि, विपिनले आफ्नो चरित्रमा गरेको मिहिनेत भने देखिन्छ।

पटकथा असाध्यै कमसल छ । केवल अभिनय र संवादको वजनले यसलाई थेगेको छ । यो समस्या सुरुबाटै देखिन्छ । काजी र शान्ति मिसको सम्बन्धमा जस्ता प्रतिकूलता आएका छन्, ती अस्वाभाविक छन् । यदि त्यो प्रतिकूलतालाई स्वाभाविक माने पनि शान्ति मिसको उक्त प्रतिकूलताप्रतिको प्रतिक्रिया झन् अस्वाभाविक छ । शान्ति मिसको ‘चरित्र-विसर्जन’ झन् अपत्यारिलो देखिन्छ ।

त्यसपछि विपिनको पदार्पणले कथा झन् कमसल बन्न गएको छ । मैया र काजीको काठमाडौँ प्रत्यागमनले कथामा धेरै मोड लिएको छ । कथामा संयोग आवश्यक कुरा हो, तर निरन्तर संयोग जुर्नु स्वयं नै संयोगत्वभन्दा टाढाको कुरा हो ।

संक्षेपमा, पाइलाभन्दा घुम्ती धेरै भएको पटकथा नै कबड्डी ५ को खास दोष हो ।

अन्तिममा,

दर्शकको प्रेम पाएर धन्य भएको कबड्डी ५ पहिलो सिरिज कबड्डीको औसत संस्करण हो ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?