१२ कात्तिक, सुर्खेत । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावको चिन्ता नेपालमा पनि छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय डोल्पाले उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रमा रहेका पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन् । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन् ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटक तथा हिमाली क्षेत्रका बासिन्दालाई जोखिमयुक्त क्षेत्रमा नजान र गइसकेको भए सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति (ट्रेकिङ परमिट) जारी नगर्ने जनाएको छ । ट्रेकिङ एजेन्सी, पदयात्री तथा पदप्रदर्शक (गाइड) लगायत सम्बन्धित सबैलाई सूचनाको पालना गर्न र गराउन प्रशासनले आग्रह गरेको छ ।
हुम्लाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले चक्रवातको प्रभावका कारण उत्पन्न हुनसक्ने जोखिमबाट सुरक्षित रहन तथा सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेकी छन् ।
उनले पर्यटकीय क्षेत्रमा रहेका नेपाली तथा विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न र मौसम प्रतिकूल भएका बेला जोखिमयुक्त यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया 4