+
+
Shares

उपल्लो डोल्पावासीको हिउँदे जोहो : उवा त पाक्यो, हिउँ पर्नुअघि चामल पुग्ला कि नाइँ ?

उपल्लो डोल्पामा कात्तिकबाट हिउँ पर्न सुरु हुन्छ । त्यसपछि न बाली भित्र्याउन सकिन्छ, न चामल ल्याउन । हिउँदभरी खानका लागि अहिले पाक्ने उवासँगै चामल पनि भित्र्याउनसके भोको बस्ने चिन्ता हुँदैन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ३ गते १९:५८

३ असोज, डोल्पा । उपल्लो डोल्पाका खेतबारीमा उवा पाक्न थालेको छ । यहाँ लामो समयसम्म हुने हिमपात र चिसो मौसमका कारण खेतीको समय निकै छोटो समय हुन्छ । यसैले यहाँका किसानले वर्षमा एक बाली उवा मात्र लगाउने गर्छन् ।

त्यही उहाँ अहिले पाक्न थालेको छ । यसैले किसानलाई उवा भित्र्याउने भ्याइनभ्याइ छ । ‘यही उवा यहाँका लागि हिउँदभरीको खाद्यान्न हो,’ डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले भने ।

शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विभिन्न बस्तीमा उवा नै प्रमुख खाद्यान्न बाली हो । मौसमकै कारण यहाँ उवा नै बढी खेती हुन्छ । वर्षायाममा लगाइने उवा असोज–कात्तिकमा पाक्ने गर्दछ ।

हिमपातअघि भित्र्याउनुपर्छ, वर्षभरि धान्दैन्

उपल्लो डोल्पामा कात्तिकको अन्तिम सातादेखि हिमपात सुरु हुन्छ । हिमपातपछि उवा काट्न, सुकाउने र भण्डारण गर्न मिल्दैन । त्यसैले हिमपात अघि नै उवा भित्र्याइसक्नुपर्छ ।

उपल्लो डोल्पामा उवा, फापरलगायत स्थानीय बाली उत्पादन हुने भएपनि त्यसले वर्षभरि यहाँको खाद्यान्न आवश्यकता धान्नसकेको छैन । खेतीयोग्य जमिन सीमित हुनु, छोटो खेती अवधि र प्रतिकूल मौसमका कारण खाद्यान्न उत्पादन सीमित हुने गरेको छ ।

स्थानीय उत्पादनले नपुग्ने भएपछि चामललगायत खाद्यान्न बाहिरी क्षेत्रबाट ल्याउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । यसका कारण उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्यान्न आपूर्ति हरेक वर्षको महत्वपूर्ण विषय बन्ने गरेको छ ।

खच्चड र चौँरीको भर

उपल्लो डोल्पामा सडक यातायातको सहज पहुँच छैन । यसलै खाद्यान्न ढुवानी पनि निकै कठिन हुन्छ । खाद्यान्न पाइने ठाउँ पनि सदरमुकाम दुनै नै हो । त्यहाँ पुगेको चामललगायतका खाद्यान्न त्यसपछि खच्चड र चौँरीमार्फत उपल्लो डोल्पाका बस्तीमा पुर्‍याइन्छ ।

हिमपात सुरु भएपछि तीनै चौँरी र खच्चड हिँड्ने बाटाघाटासमेत हिँड्न कठिन हुन्छन् । त्यसैले हिउँदमा थप खाद्यान्नको जोहो यही बेला गरिसक्नुपर्छ ।

तीन बिक्री केन्द्र, ३ हजार ५०० क्विन्टल चामल

उपल्लो डोल्पावासीका लागि हिउँदे खानाको आपूर्ति गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तयारी थालेको छ । कम्पनीका डोल्पा शाखा प्रमुख विष्णु घिमिरेका अनुसार उपल्लो डोल्पाका तीन अस्थायी बिक्री केन्द्रमा चामल ढुवानीको तयारी भइरहेको छ ।

पोखराबाट मुस्ताङ हुँदै सदरमुकाम दुनैमा चामल ल्याइने उनले बताए । केही चामल प्रदेश कार्यालय सुर्खेतबाट समेत आयात गर्ने कार्यालयको तयारी रहेको घिमिरेले बताए ।

उनका अनुसार उपल्लो डोल्पाका लागि साल्दाङ, धो र तिन्जेमा बिक्री केन्द्र छन् । तीन केन्द्रमा करिब तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।

‘सदरमुकाम दुनैसम्म ल्याइएको चामल सम्बन्धित बिक्री केन्द्रसम्म पुर्‍याउन भने खच्चड तथा चौँरीको प्रयोग गर्नुपर्छ,’ शाखा प्रमुख घिमिरेले भने, ‘हिमपात सुरु हुनुअघि नै खाद्यान्न पुर्‍याउनसके स्थानीयलाई हिउँदमा हुने खाद्यान्न अभाव कम गर्न सहज हुने हाम्रो अपेक्षा छ ।’

‘पर्यटनसँगै आधारभूत सेवामा राज्यको ध्यान पुग्नुपर्छ’

पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले उपल्लो डोल्पाको विकासका लागि पर्यटनसँगै खाद्यान्न, सडक, सञ्चार, स्वास्थ्य र अन्य आधारभूत सेवामा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण उपल्लो डोल्पामा पर्यटकीय गतिविधि बढ्दैगए पनि स्थानीयको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकता पूरा गर्न अझै चुनौती छ । ‘उपल्लो डोल्पाको सम्भावना ठूलो छ, तर यहाँका नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने विषयमा राज्यको थप ध्यान आवश्यक छ,’ उनले भने ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?