+
+
Shares

हरि फुयालको वक्तव्य- मबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम भएको छैन

‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:४२

१२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले आफूबाट न्यायपालिकाको प्रतिष्ठामा कुनै पनि आँच आउने काम नभएको दाबी गरेका छन् । बिहीबार साँझ एक वक्तव्य जारी गर्दै न्यायाधीश फुयालले जारी अनुसन्धान प्रपक्रयामा आफ्नो पूर्ण समर्थन र सहयोग रहने पनि बताएका छन् ।

‘न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको र नेपालको न्यायिक विचलनका सम्बन्धमा भइरहेको एक महत्वपूर्ण अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ न्यायाधीश फुयालको वक्तव्यमा भनिएको छ ।

उनले पछिल्लो समयमा न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाइ गरिएका कार्यहरू राज्यको जानकारीमा आई अनुसन्धान भइरहेको वक्तव्यमा उल्लेख गरेका छन् ।

‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

‘मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन,’ फुयालले वक्तव्यमा अगाडि भनेका छन्, ‘न्यायिक विचलन ल्याउने कार्य अनुसन्धानको प्रक्रियामा रहेको छ । यस परिस्थितिमा मप्रति सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यमा दु:ख व्यक्त गर्दछु ।’

उनले सम्पूर्ण न्यायकर्मीहरूलाई न्यायपालिकाप्रतिको विश्वासलाई थप कायम राख्न हार्दिक अनुरोध गरेका छन् ।

पछिल्लो समय बिचौलिया इमन सापकोटासँगको सम्पर्क र सम्बन्धका विषयमा न्यायाधीश फुयालको विषयमा पनि समाचार आइरहेका छन् । सोही विषयमा प्रतिक्रिया दिन उनको वक्तव्य आएको हो ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?