News Summary
Generated by OK AI. Editorially reviewed.- सोमपाल कामीको अविजित ६२ रन र चार विकेटसहितको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले विराटनगर किङ्सलाई १ बल बाँकी छँदा हरायो।
- १८७ रनको लक्ष्य पछ्याएको कर्णाली ५७ रनमा ५ विकेट गुमाएपछि सोमपालले पवन सर्राफ र गुल्शन झासँग साझेदारी गर्दै जित दिलाए।
- विराटनगरका लोकेश बमले ८७ रन बनाए पनि कमजोर फिल्डिङ र छाडिएका क्याचका कारण टोली पराजित भयो।
१३ कात्तिक, काठमाडौं । कुनैपनि क्रिकेट टिमका कप्तानबाट कम्तीमा राम्रो कप्तानी अनि उसको विज्ञताअनुसारको प्रदर्शन टिमले खोजेको हुन्छ । यदि कप्तानले अलराउन्ड प्रदर्शनमा पनि आफूलाई अब्बल साबित गर्छ भने त्यो टिमका लागि निकै बलियो पक्ष बनिदिन्छ ।
कर्णाली याक्सका कप्तान सोमपाल कामीमा त्यस्तै एउटा क्षमता छ, कठिन परिस्थितिमा पनि हार नमान्ने, अलराउन्ड प्रदर्शनबाट खेल जिताउने । त्यो कुरा बिहीबार विराटनगर किङ्स विरुद्धको खेलमा पनि देखियो ।
सोमपालकै अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा लगातार दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई रोमाञ्चक खेलमा हरायो । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १ बल बाँकी छँदा पूरा गरेको हो।
एक समय ५७ रनमा पाँच विकेट गुमाएर संकटमा परेको कर्णालीलाई सोमपालले ३२ बलमा अविजित ६२ रनको पारी खेल्दै जित दिलाए। त्यसअघि बलिङमा पनि चार विकेट लिएका सोमपाल खेलको प्लेयर अफ द म्याच नै घोषित भए।
कर्णालीको जितमा सोमपाललाई पवन सर्राफ र गुल्शन झाले महत्त्वपूर्ण साथ दिए। पवनसँग छैटौं विकेटका लागि ६६ रनको साझेदारी गरेका सोमपालले गुल्शनसँग सातौं विकेटका लागि अविजित ६४ रन जोडे। पवन ३६ रन बनाएर आउट भए भने गुल्शन २८ रनमा अविजित रहे।

कर्णालीलाई अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक थियो। विराटनगरका कप्तान सन्दीप लामिछाने आफैँ बलिङमा आएका थिए।
पहिलो बलमा सोमपालले एक रन लिए। दोस्रो बलमा गुल्शनले दुई रन जोडे। तेस्रो बलमा गुल्शनले प्रहार गरेको बल हावामा उठे पनि विकेटकिपर लोकेश बमले क्याच छाडे। त्यसमा कर्णालीले एक रन पायो।
त्यसपछि तीन बलमा चार रन आवश्यक हुँदा सोमपालले चौथो बलमा दुई रन लिए। अब दुई बलमा दुई रन चाहिएको थियो। पाँचौँ बलमा सोमपालले हल्का प्रहार गरेको बल विकेटनजिकै रह्यो। लोकेशले रनआउट गर्ने प्रयासमा गरेको थ्रो ओभरथ्रो भएपछि कर्णालीले थप रन जोड्यो र खेल जित्यो।
लक्ष्य पूरा भएपछि सोमपाल डगआउटतर्फ दौडिएर टोलीका खेलाडीसँग खुसी साट्न पुगे। गुल्शन भने मैदानमा पुशअप गर्न थाले। पुशअपको कथा अघिल्लो संस्करणसँग जोडिन्छ जहाँ कर्णालीमाथि विराटनगरले यस्तै प्रकारको रोमाञ्चक जित अन्तिम ओभरमै निकालेको थियो ।
यी दुई टोलीबीचको खेलले त्यो ‘राइभलरी’ फेरि एकपटक ताजा गरिदियो । जितसँगै यस सिजन २ खेलमा २ जित निकाल्ने कर्णाली एकमात्र टिम पनि बन्यो ।
सोमपालको कप्तानी प्रदर्शन
सोमपालले बलिङमा पनि त्यसै चार विकेट लिएका होइनन् । उनले लिएका चारवटै विकेट खेलको परिस्थिति अनुसार महत्त्वपूर्ण थिए । उनले छैटौं ओभरमा चरिथ असलंकालाई पभेलियन पठाए। त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका सेट ब्याटर लोकेश बमलाई १६औं ओभरको अन्तिम बलमा आउट गरे।
सोमपालले आन्द्रे रसेल र एन्जेलो म्याथ्युजको विकेट पनि लिए। उनले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिएका थिए। रसेलले उनलाई छक्का प्रहार गरेपनि उनले जवाफमा विकेट लिए र त्यसपछि उनको आइकोनिक ‘पिस’ सेलेब्रेसन गरेका थिए ।
ब्याटिङमा भने उनको भूमिका निर्णायक नै बन्यो। ५७ रनमा पाँच विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका सोमपालले पहिले पवनसँग मिलेर इनिङ सम्हाले। पवन आउट भएपछि गुल्शनसँगको साझेदारीमा उनले टोलीलाई जितसम्म पुर्याए।

खेलपछि सोमपालले विकेट ब्याटिङका लागि राम्रो रहेको र १८० रनसम्मको लक्ष्य पछ्याउन सकिने आफूलाई लागेको बताए। केही बढी रन खर्चिए पनि लक्ष्य पूरा गर्न सकिने विश्वास रहेको उनले सुनाए।
‘पवनसँग साझेदारी गरेँ। मलाई यो खेल जित्छु भन्ने विश्वास थियो। गुल्शनसँगको साझेदारी जम्छ भन्ने थाहा थियो। हामीले सँगै खेलेको धेरै भएको छ र गुल्शन मेरो रुममेट पनि हो’ सोमपालले भने।
उनले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा टोलीले दुई अंक प्राप्त गर्नु महत्त्वपूर्ण रहेको बताए। पहिलो खेलमा युनिशले राम्रो प्रदर्शन गरेको र यस खेलमा आफूले योगदान दिन पाएको उल्लेख गर्दै उनले आगामी खेलमा अन्य खेलाडीले पनि राम्रो गर्ने विश्वास व्यक्त गरे।
नेपाली क्रिकेटको स्तर बढ्दै गएको देखेर खुसी लागेको बताउँदै सोमपालले आफ्नो क्रिकेट यात्राप्रति आभार व्यक्त गरे। उनले क्रिकेटमा हरेक दिन आफूलाई प्रमाणित गर्नुपर्ने र प्रत्येक क्षणको आनन्द लिने गरेको पनि बताए।
विपक्षी कप्तान सन्दीपले पनि सोमपालको इनिङको तारिफ गर्दै यस्तो अवस्थामा खेल जिताउन उत्कृष्ट इनिङको आवश्यकता पर्ने र त्यही काम सोमपालले गरेको बताए ।
लोकेशको उत्कृष्ट ब्याटिङ, विराटनगरको कमजोर फिल्डिङ
विराटनगरका लागि लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाएका थिए। उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गरे। लोकेश शतक बनाउने पहिलो नेपाली ब्याटर बन्ने अवसरनजिक पुगे पनि त्यसलाई पूरा गर्न सकेनन्।
आन्द्रे रसेलले ३७ तथा एन्जेलो म्याथ्युजले ३१ रन जोडे। बलिङमा पनि म्याथ्युजले तीन विकेट लिएका थिए। तर ब्याटिङमा बनाएको बलियो योगफल र म्याथ्युजको बलिङ प्रदर्शन विराटनगरलाई जित दिलाउन पर्याप्त भएन।
विराटनगरको हारमा कमजोर फिल्डिङ पनि प्रमुख कारण बन्यो। टोलीले महत्त्वपूर्ण समयमा क्याच छाड्नुका साथै बाउन्ड्री रोक्न नसक्दा र ओभरथ्रोमा रन दिँदा कर्णालीलाई लक्ष्य पछ्याउन सहज भएको थियो।

छैटौं ओभरमा सुजन थपलियाले क्याच छाडेका थिए। १७औं ओभरमा इमरान शेखले सोमपालको क्याच छाडे। त्यसअघि पनि सोमपालको क्याच समात्ने अवसर विराटनगरले गुमाएको थियो। अन्तिम ओभरमा लोकेशले गुल्शनको क्याच छाडे, जुन खेलको निर्णायक मोडमध्ये एक बन्यो।
विराटनगरका कप्तान सन्दीपले टोलीको फिल्डिङ कमजोर रहेको स्वीकार गरे। ‘फिल्डिङ कमजोर नै भयो। यस्तो प्रदर्शन कुनै पनि टोलीका लागि स्वीकार्य हुँदैन,’ उनले भने।
लोकेशको ब्याटिङको प्रशंसा गर्दै सन्दीपले पछिल्लो समय उनको खेलमा सुधार भइरहेको र ठूला खेलमा पनि योगदान दिन सक्ने बताए। यस खेलमा लोकेशको इनिङ उत्कृष्ट रहेको उनको भनाइ थियो।
म्याथ्युजले पनि हारको कारणबारे आश्चर्य व्यक्त गर्दै फिल्डिङ कमजोर रहेको बताए। ‘हामीले कसरी खेल हार्यौँ, मलाई थाहा छैन। फिल्डिङ कमजोर रह्यो। क्याचले खेल जिताउँछ। सोमपाल र गुल्शनले राम्रो खेले। नेपाली क्रिकेट राम्रो हातमा छ,’ उनले भने।
प्रतिक्रिया 4