+
+
Shares

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

रासस रासस
२०८३ कात्तिक १३ गते ९:३९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
  • प्रधानमन्त्री बालेन शाहको ६ मंसिरदेखि हुने भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले उक्त रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको छ।
  • जनकपुरधाम–अयोध्या रेल सेवाले धार्मिक तथा सांस्कृतिक सम्बन्ध र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

१३ कात्तिक, जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौं,’ पराजुलीले भने, ‘यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।’

उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले ६ मंसिरदेखि भारत भ्रमण गर्ने तयारी छ ।

जनकपुरधामबाट अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए । नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए ।

विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?