News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका उद्योगको औसत क्षमता उपयोग अघिल्लो आवको ३९.१२ प्रतिशतबाट घटेर गत आव ३०.९८ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
- गत आव कर्णाली भित्रिने बाह्य पर्यटक संख्या २७.६८ प्रतिशत घटेको छ भने भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटक संख्यामा पनि कमी आएको छ ।
- गत आव साउनदेखि असार मसान्तसम्म कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीका लागि ३० हजार ४ सय ९० जनाले श्रम स्वीकृति लिएका छन् ।
१३ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका उद्योगको औसत क्षमता उपयोग ९ प्रतिशत विन्दुले घटेको छ ।
अघिल्लो आर्थिक वर्षमा यस प्रदेशका उद्योगको ३९.१२ प्रतिशत रहेको औसत उत्पादन क्षमता गत आव ३०.९८ मा झरेको हो ।
गत आव उद्योगहरूमध्ये राडीपाखी उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ६६.६७ प्रतिशत क्षमता उपयोग गरेको छ । तर, प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् १०.१९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
गत आव कर्णालीका उद्योगको उत्पादनमध्ये चाउमिन, अन्य घरेलु कपडा, गलैँचा, राडीपाखी, चिरेको काठ र बिजुली बल्ब उत्पादन गर्ने उद्योगको उत्पादन बढेको छ । प्रशोधित दूध, अन्न तथा पशुदाना, कागज र छाला जुत्ता उत्पादन गर्ने उद्योगको उत्पादन भने घटेको अध्ययनले औँल्याएको छ ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ७.२४ प्रतिशत छ ।
गत आव कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १०.०७ प्रतिशत रहने अनुमान छ । यस प्रदेशमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि दर १.५१ प्रतिशत र निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि दर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान छ । यस प्रदेशको जीडीपीमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: ३१.५२, १०.०७ र ५८.४१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
आव २०८२/८३ असार मसान्तसम्म कर्णालीमा खाद्य बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्ष सोही अवधिको तुलनामा ०.५४ प्रतिशत वृद्धि भएको छ ।
गत आव प्रमुख खाद्य बालीमध्ये धान बालीले ढाकेको क्षेत्रफलमा २.९४ प्रतिशत ह्रास आएको छ भने मकै, गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमश: ०.३१, ०.२५, ०.२५, ११.१७ र २.४९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा २.३१ र फलफूल खेतीले ढाकेको क्षेत्रफल १.१९ प्रतिशत वृद्धि भएको छ ।
गत वर्ष कर्णालीमा समग्र कृषि बालीे उत्पादन अघिल्लो वर्ष सोही अवधिको तुलनामा ०.६५ प्रतिशत घटेको छ । खाद्य, नगदे तथा अन्य बाली उत्पादन भने ३.५५ प्रतिशत बढेको छ ।
गत वर्ष प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो, जौ र फापर बालीको उत्पादन क्रमश: ६.७६, ०.२५, २.५०, ०.३४, १३.७४ र २.५१ प्रतिशत वृद्धि भएको छ ।
गत आव असार मसान्तसम्म तरकारी तथा बागबानी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमश: ३.७६ र ४.०५ प्रतिशत घटेको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ७.२७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष कर्णाली भित्रिने वाह्य पर्यटक संख्या २७.६८ प्रतिशत घटेको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटक संख्यामा क्रमश: ४६.३९, ६७.६० र ३९.३९ प्रतिशत कमी आएको छ । गत वर्ष सेवा क्षेत्रको कर्जा गत वर्षको तुलनामा ८.३४ प्रतिशत बढेको छ ।
यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.२१ प्रतिशत सेवा क्षेत्रमा प्रवाह भएको छ । २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ४ सय ८१ पुगेको र कर्जा निक्षेप अनुपात ६०.१५ प्रतिशत छ ।
कर्णाली प्रदेशमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यले गति लिइरहेको देखिन्छ ।
गत आव साउनदेखि असार मसान्तसम्म कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ३० हजार ४ सय ९० छ ।
प्रतिक्रिया 4