+
+
Shares

२४ घण्टे ‘स्टार्टअप ह्याकाथन’ आयोजना हुँदै

ह्याकाथनले प्रतिभाशाली उद्यमी पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानी सम्भावनासँग जोड्ने कार्य व्यवस्थित बनाउने बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा स्टार्टअप उद्यमशीलता विकास र लगानी अवसर जोड्न सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालले नोभेम्बर ५ र ६ मा २४ घण्टे ह्याकाथन आयोजना गर्ने भएका छन् ।
  • ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा हुनेछ र सहभागी टोलीले व्यावसायिक अवधारणा, बजार आवश्यकता तथा विस्तार योजना निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन् ।
  • कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरी लगानीकर्ता, मार्गदर्शक र सरोकारवाला समक्ष प्रस्तुत गर्ने अवसर दिइने आयोजकले जनाएको छ ।

१३ कात्तिक, काठमाडौं । नेपालमा २४ घण्टे ‘स्टार्टअप ह्याकाथन’ आयोजना हुने भएको छ ।

स्टार्टअप उद्यमशीलता विकास, नवप्रवर्तन प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको हो । ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुनेछ ।

यस ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअप पहिचान गरी तिनलाई लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवाला समक्ष पुग्ने अवसर प्रदान गर्नु रहेको मञ्चले जनाएको छ ।

सहभागी टोलीहरूले सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणा परिष्कृत गर्दै समाधानको सम्भाव्यता, व्यावसायिक मोडेल, बजार आवश्यकता तथा विस्तारको योजना सहित निर्णायकमण्डल समक्ष प्रस्तुत गर्नेछन् ।

यस कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिने छ । छनोट भएका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवाला समक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

ह्याकाथनको उद्देश्य केवल उत्कृष्ट विचार पहिचान गर्नुमात्र नभई ती विचारलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, मार्गदर्शन र व्यावसायिक सञ्जालसँग जोड्नु रहेको मञ्चको भनाइ छ ।

नेपालका प्रारम्भिक चरणका स्टार्टअपहरूले लगानीमा पहुँच, बजारमा आफ्नो पहिचान स्थापित गर्ने अवसर, अनुभवी मार्गदर्शक तथा व्यावसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गर्दै आएका छन् ।

यस्तो अवस्थामा ह्याकाथनले उद्यमीहरूलाई आफ्ना समाधान परीक्षण गर्ने, व्यावसायिक अवधारणा सुधार गर्ने र सम्भावित लगानीकर्ता समक्ष पुग्ने अवसर प्रदान गर्ने भएको छ ।

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलता संस्कृति विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको विज्ञप्तिमा छ ।

ह्याकाथनले प्रतिभाशाली उद्यमी पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानी सम्भावनासँग जोड्ने कार्य व्यवस्थित बनाउने बताइएको छ ।

स्टार्टअप ह्याकाथन भोलिका सम्भावनायुक्त व्यवसाय निर्माण गर्ने उद्यमीका लागि आफ्नो विचारलाई अवसरमा रूपान्तरण गर्ने महत्त्वपूर्ण मञ्च हुनेछ ।

यसले नेपालमा लगानीयोग्य स्टार्टअप पहिचान र विकासलाई गति दिनुका साथै देशको उद्यमशीलता इकोसिस्टम थप सशक्त बनाउने विश्वास लिइएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको दर्ता माध्यमबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?