मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ ‘कस्टम लाइक’ फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले ‘लाइक’ गर्दा देखिने गरी व्यक्तिगत तस्बिर, स्टिकर, इमोजी वा एनिमेसन (जीआईएफ) जोडन सक्नेछन्।
यो नयाँ सुविधा अन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा एउटा निश्चित एनिमेसन वा ग्राफिक्स सेभ गरेर राख्न सक्नेछन्। जब कुनै अर्को प्रयोगकर्ताले उनीहरूको पोस्टमा ‘लाइक’ गर्नेछ, तब त्यो पोस्टमा स्क्रिनभरि उनीहरूले सेभ गरेर राखेको सोही कस्टम ग्राफिक्स देखिनेछ। यो विकल्प कुनै एक निश्चित पोस्टका लागि नभई प्रयोगकर्ताको प्रोफाइलसँग जोडिने भएकाले प्रत्येक नयाँ पोस्टमा छुट्टाछुट्टै रियाक्सन राख्न भने मिल्ने छैन।
प्रयोगकर्ताहरूले फरक-फरक मौसम वा कुनै ठूला चाडपर्व र अवसर अनुसार आफ्नो एनिमेसन परिवर्तन गर्न सक्नेछन् भने ब्रान्डहरूले कुनै नयाँ उत्पादन वा प्रोजेक्ट सार्वजनिक गर्दा सोही अनुसार लाइक बटनलाई ब्रान्डिङ गर्न सक्नेछन्।
अन्य प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा कस्तो प्रकारको ‘लाइक’ डिस्प्ले राखेका छन् भन्ने कुरा हेर्नका लागि पनि मानिसहरूले धेरै पोस्टहरूमा लाइक गर्न प्रोत्साहित हुने र यसले इन्गेजमेन्ट बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
थ्रेड्सका प्रमुख कनर हेसका अनुसार, यो फिचर अहिले दक्षिण कोरिया, ब्राजिल र इन्डोनेसियाका केही निश्चित प्रयोगकर्ताहरू माझ मात्र परीक्षणका रूपमा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया 4