१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ।
अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ।
सिड्नी मेट्रोका अनुसार, यात्रुको सुविधाका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका चिह्न लगाउनेछन्।
यसमा श्रवणशक्ति कमजोर भएका तथा बोल्न नसक्ने यात्रुको सहायताका लागि अस्ट्रेलियाली साङ्केतिक भाषा अस्लान समेत समावेश गरिएको छ।
पोसाकमा राखिने यस्तो भाषागत चिह्नले यात्रुलाई आफूले बोल्ने र बुझ्ने भाषाका कर्मचारी पहिचान गर्न सहज बनाउनेछ। यसबाट रेल यात्रा, गन्तव्यको पहिचान र मेट्रो सेवासम्बन्धी आवश्यक जानकारी लिन भाषाको अवरोध कम हुने अपेक्षा गरिएको छ।
अब मेट्रोमा यात्रा गर्दा कुनै सहायता आवश्यक परेमा यात्रुले आफूले बोल्ने भाषा उल्लेख गरिएको चिह्न लगाएका कर्मचारीसँग सीधै सम्पर्क गरेर जानकारी लिन सक्नेछन्।
सिड्नी मेट्रोको यो पहललाई बहुभाषिक तथा बहुसांस्कृतिक समुदायलाई सार्वजनिक यातायातमा सहज, सुरक्षित र बाधारहित पहुँच पुर्याउने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।
प्रतिक्रिया 4