News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बडीमालिकाबाट फर्किने क्रममा हराएका कञ्चनपुरका २० वर्षीय मनीष बोहरा त्रिवेणी पाटननजिकै मृत भेटिएका छन्।
- हिमपातका कारण अलपत्र परेका कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको छ।
- मौसम प्रतिकूल भएपछि बोहराको शव हेलिकप्टरमार्फत बाजुराको सदरमुकाम मार्तडी ल्याउने तयारी गरिएको छ।
१५ कात्तिक, कन्चनपुर। बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भएको भारी हिमपातमा परेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।
बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनीष बोहरा त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन्।
बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार हिमपातका कारण बाटोमै हराएका बोहराको खोजीका लागि हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
खोजी अभियानका क्रममा उनलाई त्रिवेणी पाटननजिकै मृत अवस्थामा भेटिएको हो। मृतक बोहराको शव हाल त्रिवेणी पाटनस्थित धर्मशालामा राखिएको छ ।
मौसम प्रतिकूल बनेपछि उद्धार कार्यमा चुनौती देखिए पनि शवलाई हेलिकप्टरमार्फत बाजुराको सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।
बोहरासँगै बडीमालिकाबाट फर्किरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की पनि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका थिए ।
उनको भने शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइसकिएको छ । बडीमालिका क्षेत्रको प्रतिकूल मौसम र भारी हिमपातले गर्दा यात्रामा रहेका व्यक्तिहरू जोखिममा परेका हुन् ।
प्रतिक्रिया 4