News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले सामाजिक मूल्यको स्खलन, गलतलाई सामान्यीकरण गर्ने प्रवृत्ति र नैतिक संवेदना कमजोर हुँदै गएको अवस्थालाई मुख्य समस्या भनेको छ।
- लेखले सार्वजनिक बौद्धिकले सत्य, प्रमाण र सार्वजनिक हितका आधारमा सत्ता, समाज र आफूलाई पनि प्रश्न गर्नुपर्ने जिम्मेवारी औँल्याएको छ।
- लेखले जातीय विभेद, भ्रष्टाचार, अन्याय र हिंसाविरुद्ध बोल्ने नागरिक चेतना र नैतिक जागरण समाज पुनर्निर्माणको आधार हुने निष्कर्ष निकालेको छ।
समाजको जगका रूपमा रहेका नैतिक निष्ठा, सांस्कृतिक सद्भाव, भाइचारा र उत्तरदायित्वको क्षयीकरण तथा पतनलाई सामाजिक मूल्यको स्खलन भनिन्छ। आधुनिकता, स्वार्थी भौतिकवाद र प्रविधिमुखी जीवनशैलीका कारण स्थापित सामाजिक मूल्य-मान्यताहरू ओझेलमा पर्छन्; तब सिर्जना हुने अनुशासनहीनता र विकृति नै सामाजिक मूल्यको स्खलन हो। यसको अर्थ गलत सामाजिक ज्ञान र परम्परा सामाजिक मूल्य होइनन्। जस्तै: जातीय छुवाछूत, बोक्सी, छाउ आदि।
समाज एकै दिन पतन हुँदैन। पहिलो चरणमा गलत काम हुन्छ, दोस्रोमा त्यसको औचित्य खोजिन्छ र तेस्रो चरणमा मानिसहरू त्यससँग अभ्यस्त हुन्छन्। अन्ततः गलत कुरा नगर्ने मानिस नै अव्यावहारिक र असामान्य देखिन थाल्छ। सभ्य मानिएको समाजको सबैभन्दा डरलाग्दो अवस्था अराजकता, अन्याय र अनैतिकतालाई स्वाभाविक मान्ने सामाजिक चेतना को निर्मिति बन्न पुग्छ।
वर्तमानमा हामी यही र यस्तै खाले गम्भीर सङ्कटमा छौं। जब समाजले गलतलाई गलत देख्न छाड्छ। भ्रष्टाचारलाई चलनका रूपमा परिभाषित गर्न थाल्छ, अन्यायलाई प्रक्रिया नै यस्तै हो भन्छ, जातीय विभेदलाई परम्पराको नाम दिइन्छ, शक्तिको दुरुपयोगलाई राजनीति भनेर सामान्यीकरण गरिन्छ र कमजोरमाथिको हिंसालाई स्वाभाविक नियतिसँग जोडेर हेरिन्छ। त्यतिबेला समस्या केही खराब व्यक्तिमा मात्र सीमित रहँदैन; गलत कामलाई स्वीकार गर्ने सामाजिक आदत बन्दछ।
जब भ्रष्टाचारलाई व्यवहार, जातीय विभेदलाई परम्परा, शक्ति दुरुपयोगलाई राजनीति र पीडितको क्रन्दनलाई नियति भनेर सामान्यीकरण गरिन्छ; त्यहाँ कानुन बाँकी रहे पनि समाजको नैतिक आत्मा भुत्ते भएर मरिसकेको हुन्छ। हामीसँग संविधान, संसद्, अदालत र विश्वविद्यालय त छन्; तर गलतलाई निसङ्कोच गलत भन्न सक्ने सार्वजनिक साहस र नैतिकता कति बाँकी छ ? यही प्रश्नले सार्वजनिक बौद्धिकको भूमिकालाई पुनः केन्द्रमा ल्याउँछ।
समाजको नैतिक संवेदनाको प्रश्न
समाजमा अन्याय, हिंसा, विभेद र अमानवीय व्यवहार भइरहँदा त्यसलाई अस्वीकार्य ठान्ने, त्यसविरुद्ध प्रतिक्रिया जनाउने र पीडितको पक्षमा उभिने सामूहिक चेतना नै नैतिक संवेदना हो। जब यो संवेदना कमजोर हुँदै जान्छ, अन्यायप्रति सामाजिक प्रतिक्रिया पनि क्रमशः सुस्त हुँदै जान्छ। मानिसले देख्छ, बुझ्छ, तर बोल्दैन। बोल्छ भने पनि आफ्नो सुविधा, सम्बन्ध वा स्वार्थको सीमाभित्र मात्र बोल्छ।
अन्ततः मौनता केवल व्यक्तिगत व्यवहार रहँदैन; त्यो स्वयं अन्यायलाई टिकाइराख्ने सामाजिक संरचनाको एउटा सक्रिय हिस्सा बन्न पुग्छ। त्यसैले समाजको नैतिक पतनको सङ्केत मानिसले गलत काम गर्न थालेको मात्र होइन; गलत भइरहँदा त्यसलाई गलत भनेर प्रतिक्रिया जनाउने सामूहिक संवेदना हराउँदै जानु पनि हो। यस्तो अवस्थामा सार्वजनिक बौद्धिकको भूमिका के हुन्छ ?
सार्वजनिक बौद्धिक : पद होइन, सार्वजनिक जिम्मेवारी
सार्वजनिक बौद्धिक भन्नाले विश्वविद्यालयमा अध्यापन गर्ने, किताब लेख्ने वा अनुसन्धान गर्ने हरेक व्यक्ति बुझिँदैन। सार्वजनिक बौद्धिकताको मूल प्रश्न ज्ञान कहाँ प्रयोग भयो र त्यसले सार्वजनिक जीवनमा के प्रश्न उठायो ? भन्ने हो। सार्वजनिक बौद्धिकले आफ्नो ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्छ। उसले सुविधाजनक धारणालाई प्रश्न गर्छ, शक्तिशालीसँग असहज प्रश्न गर्छ, बहुसङ्ख्यकको सुविधाभित्र लुकेको अल्पसङ्ख्यकको पीडा देखाउँछ र प्रचलित सत्यलाई प्रमाण तथा विवेकको कसीमा परीक्षण गर्छ।
एडवार्ड सइदको सन् १९९३ को आफ्नो चर्चित रेइथ लेक्चर्समा दिएका विचारहरू र पछि प्रकाशित पुस्तक रिप्रिजेन्टेसन्स अफ द इन्टेलेक्चुअल अवधारणामा यही आलोचनात्मक स्वतन्त्रता महत्त्वपूर्ण मानिन्छ। उनी भन्छन्- बौद्धिकको काम सत्ताको प्रवक्ता बन्नु होइन; सत्ताको नजिक हुँदा पनि सत्तामाथि प्रश्न गर्न सक्ने दूरी कायम गर्नु हो।
तर यसको अर्थ सार्वजनिक बौद्धिक सधैं सत्ताको विरोधी हुनुपर्छ भन्ने होइन। सत्ताले सही काम गर्छ भने त्यसलाई तथ्यका आधारमा स्वीकार गर्नुपर्छ; गलत गर्छ भने त्यसको आलोचना गर्नुपर्छ। बौद्धिकको निष्ठा सत्ता वा विपक्षसँग होइन; सत्य, प्रमाण र सार्वजनिक हितसँग हुनुपर्छ। यही कारण सार्वजनिक बौद्धिकताको पहिलो परीक्षा अरूलाई आलोचना गर्नुअघि आफूलाई आलोचनाको घेरामा राख्न सक्ने क्षमता मा हुन्छ।
कानुन र सामाजिक अनुशासन
यदाकदा कानुनले मानिसलाई अपराध गर्नबाट रोक्न र अपराध गरेपछि दण्ड दिन सक्छ; तर नैतिकताले अपराध गर्ने मूल विचार मै प्रश्न उठाउँछ। कानुन नभए पनि कसैको अधिकार नखोस्नु, आफूभन्दा कमजोर व्यक्तिलाई अपमान नगर्नु, सार्वजनिक पदलाई निजी लाभको साधन नबनाउनु, श्रमलाई जातका आधारमा मूल्याङ्कन नगर्नु- यी सबै नैतिक अनुशासनका प्रश्न हुन्।
त्यसैले नैतिक जागरण कुनै अमूर्त दार्शनिक विषय मात्र होइन। यो परिवारदेखि विद्यालयसम्म, घरधनीदेखि भाडावालासम्म, चिकित्सकदेखि बिरामीसम्म, पत्रकारदेखि पीडितसम्म र कर्मचारीदेखि नागरिकसम्मको दैनिक सम्बन्धमा प्रकट हुन्छ।
नैतिक पतनको एउटा सूक्ष्म रूप तब देखिन्छ, जब समाजले सफलताको मापदण्ड नै परिवर्तन गर्छ। इमानदार मानिस मूर्ख देखिन थाल्छ, प्रश्न गर्ने मानिस झगडालु ठानिन्छ, अन्याय सहने मानिस व्यावहारिक कहलिन्छ र सत्ताको नजिक पुग्नेलाई सफल मानिन्छ। सिद्धान्तमा टिकिरहने व्यक्ति असफल देखिन्छ। यस्तो उल्टो मूल्य प्रणाली लामो समयसम्म रह्यो भने नयाँ पुस्ताले गलतलाई गलत भनेर सिक्दैन; उसले गलतलाई सफलताको व्यावहारिक सूत्रका रूपमा सिक्छ।
यसर्थ यस्तो प्रकारको समाजको मनोविज्ञान र गलत मानक भत्काउन सार्वजनिक बुद्धिजीवीले अहम् भूमिका निर्वाह गर्न सक्छन्।
गलत कामको सामान्यीकरण पनि यसरी हुन्छ- पहिले गलत काम हुन्छ, त्यसपछि त्यसको औचित्य खोजिन्छ, औचित्य दोहोरिँदै जाँदा बानी बन्छ, बानी सामाजिक मानक बन्छ र अन्ततः त्यसलाई अस्वीकार गर्ने व्यक्ति नै असामान्य देखिन्छ। त्यसैले नैतिक जागरण को अर्थ केवल असल बनौं भन्ने उपदेश होइन; समाजले कुन व्यवहारलाई सामान्य र कुनलाई अस्वीकार्य बनाइरहेको छ भन्ने प्रश्न उठाउनु हो।
जातीय विभेद : दलितको मात्र प्रश्न होइन
नेपालको नैतिक संरचनामाथि, सामाजिक र धार्मिक संरचनामाथि गम्भीर प्रश्न उठाउँदा छुटाउन नहुने विषय हो- जातीय विभेद। यहाँ एउटा महत्त्वपूर्ण वैचारिक, सामाजिक र न्यायिक प्रश्न छ- के जातीय छुवाछूत दलितको मात्र विषय हो ? पक्कै होइन। यो मानवताको विषय र प्रत्येक मानवको विषय हो।
जातीय छुवाछूत दलितको एकल पीडा हो, तर विषय सामाजिक न्याय र आम मान्छे को हो। विभेदको पीडा दलितले भोगे पनि विभेद निर्माण र पुनरुत्पादन गर्ने सामाजिक संरचना सम्पूर्ण समाजसँग सम्बन्धित छ।
कसैलाई जात सोधेर घर भाडामा दिने/नदिने, सार्वजनिक स्थानमा अपमान गर्ने, पानी छोएको निहुँमा दण्ड दिने, प्रेम वा विवाहका कारण हिंसा गर्ने अथवा श्रम लिएर श्रमिकलाई समान मानवीय सम्मान नदिने घटना दलित समस्या मात्र होइनन्। यी घटनाले गैरदलित समाजको, सार्वजनिक बौद्धिकको नैतिक चेतनाको पनि परीक्षा लिइरहेका छन्। यहीँ प्रश्न उठ्छ- दलित मान्छे बन्नुपर्ने हो कि ? आफूजस्तै मान्छेलाई मान्छे नदेख्ने चेतना मान्छे बन्नुपर्ने हो ?
डा. बीआर (भीमराव) अम्बेडकरले लोकतन्त्रलाई केवल निर्वाचन, संसद् र सरकारको संरचनाका रूपमा हेरेनन्। स्वतन्त्रता, समानता र बन्धुत्व सामाजिक जीवनका व्यवहारमा स्थापित नभएसम्म राजनीतिक लोकतन्त्र अअतिो रहने उनको चिन्तनको मूल पक्ष हो।
लोकतन्त्र संविधानमा लेखिएको व्यवस्था मात्र होइन; मानिस-मानिसबीचको सम्बन्धको साझा संस्कृति पनि हो। त्यसैले जातीय विभेदविरुद्धको सङ्घर्ष दलितको मुक्ति मात्र होइन, समाजको मानवीयकरण को सङ्घर्ष पनि हो।
सत्ता केवल सिंहदरबारमा मात्रै हुँदैन
एन्टोनियो ग्राम्सीले भनेका छन्- सत्ता केवल राज्य, सेना, प्रहरी वा प्रशासनमा सीमित हुँदैन। सत्ता: विद्यालय, सञ्चारमाध्यम, धार्मिक संस्था, संस्कृति र बौद्धिक क्षेत्रसमेत समाजमा सहमति निर्माण गर्ने ठाउँ हुन्।
मिसेल फुकोले शक्ति अझ सूक्ष्म ढङ्गले काम गर्ने देखाए। ज्ञान, भाषा, वर्गीकरण, संस्थागत अभ्यास र दैनिक व्यवहार मार्फत शक्ति प्रकट हुन्छ। यसलाई नेपाली समाजको धरातलीय यथार्थमा हेर्दा जातीय सत्ता केवल कानुन वा राजनीतिक प्रतिनिधित्वमा देखिँदैन।
कसलाई घर भाडामा दिने ? कसको बोली सभ्य मान्ने ? कसको श्रमलाई सम्मान गर्ने ? कसलाई विवाहयोग्य ठान्ने ? कसको खानालाई शुद्ध वा अशुद्ध भन्ने ? यी सबै दैनिक व्यवहारमा शक्ति संरचना बनेर काम गरिरहेका हुन्छन्।
पियरे बर्डियुको सिम्बोलिक पावर र ह्याबिटसको अवधारणाले पनि सामाजिक असमानता केवल प्रत्यक्ष हिंसाबाट होइन, मानिसको सामान्य व्यवहार, रुचि, प्रतिष्ठा र सामाजिक मान्यताबाट पुनरुत्पादन हुने देखाउँछ।
यसैले सामाजिक परिवर्तनका लागि केवल सरकार बदल्नु मात्र पर्याप्त हुँदैन। समाजले सामान्य ठान्दै आएको व्यवहार बदल्नुपर्छ। यहींनिर सार्वजनिक बौद्धिकको भूमिका निर्णायक हुन्छ। उसले अदृश्य संरचनालाई दृश्य बनाउने काम गर्नुपर्छ। सत्ता र सरकारसँग असहज प्रश्न गर्नुपर्छ- चाहे त्यो सत्ता आफूले अभ्यास गरेको होस् या अरू कसैले ?
सडकको पीडादेखि विचारसम्म
मार्टिन लुथर किङ जुनियरको नागरिक अधिकार आन्दोलनले कानुन र न्यायबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठायो। भाक्लाभ हाभेलले सत्यमा आधारित सार्वजनिक जीवनलाई नागरिक प्रतिरोधको आधार माने। जुर्गेन ह्याबरमासले लोकतन्त्रका लागि तर्कपूर्ण सार्वजनिक संवाद र सार्वजनिक क्षेत्र को महत्त्व देखाए।
प्रस्तुत विचारहरूलाई नेपाली सन्दर्भमा जोड्दा एउटा कुरा स्पष्ट हुन्छ- सडकमा देखिएको पीडालाई विचार मा रूपान्तरण गर्ने र विचारलाई संस्थागत परिवर्तन सँग जोड्ने बौद्धिक संरचना, संवाद र विमर्श अपरिहार्य देखिन्छ।
सार्वजनिक बौद्धिक सधैं सडकमा उपस्थित हुनुपर्छ भन्ने होइन। तर सडकमा उठेको प्रश्नलाई उसले सुन्नुपर्छ। पीडितको आवाजलाई तथ्य, अनुसन्धान र तर्क सँग जोड्नुपर्छ। सिद्धान्तलाई जीवनसँग र जीवनलाई नीतिसँग साक्षात्कार गराउनुपर्छ।
नेपालका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका चरणमा लेखक, पत्रकार, विद्यार्थी, नागरिक समाज, मानव अधिकारकर्मी र बौद्धिक समुदायको हस्तक्षेप देखिएको छ। त्यसैले नेपालको सार्वजनिक बौद्धिक परम्परा नयाँ होइन। प्रश्न अहिले त्यसको गुणस्तर, स्वतन्त्रता र नैतिक जिम्मेवारीको हो।
विश्वविद्यालय, मिडिया र सामाजिक सञ्जालको सङ्कट
आज विश्वविद्यालयमा अनुसन्धान हुन्छ, तर त्यसको सार्वजनिक प्रभाव सीमित हुन्छ। अनुसन्धान प्राज्ञिक घेरा भित्रै थन्किन्छ। सञ्चारमाध्यममा बहस हुन्छ, तर धेरैपटक बहस तथ्य र तर्कभन्दा तत्कालीन उत्तेजनामा केन्द्रित रहन्छ। सामाजिक सञ्जालमा आवाजको सङ्ख्या अभूतपूर्व छ; तर आवाज बढ्दै जाँदा ज्ञान र विवेक पनि त्यही अनुपातमा बढेको छैन। आवाजले मात्र पुग्दैन, आवाज- ज्ञान, अनुसन्धान, विवेक र सामयिक चेतनामा आधारित हुनुपर्छ। हामीसँग सूचना धेरै छ; तर ज्ञान र विवेकको अभ्यास कम भएको देखिन्छ।
हामीसँग बोल्ने मानिस धेरै छन्; तर सुन्ने संस्कृति कमजोर बन्दै गएको छ। चर्को आवाज छिटो सुनिन्छ, तर शालीन र बौद्धिक आवाज सुन्ने जाँगर आम मानिसमा हराउँदै गएको पाइन्छ। हामीसँग विचारको भिड छ; तर विचारबीच संवाद कम छ। आजको चुनौती यही हो- भिडलाई संवादमा कसरी बदल्ने ? आवाजलाई विवेकको दृष्टि कसरी दिने ? यसका लागि तथ्य परीक्षण, स्रोतप्रति जिम्मेवारी, असहमतिप्रति सम्मान र व्यक्तिमाथि होइन विचारमाथि आलोचना गर्ने संस्कार आवश्यक छ।
सामाजिक सञ्जालमा लोकप्रिय हुनु र सार्वजनिक बौद्धिक हुनु एउटै कुरा होइन। धेरै मानिसले सुन्नु महत्त्वपूर्ण हुन सक्छ; तर के भनियो, कुन प्रमाणमा भनियो र त्यसको सामाजिक परिणाम के हुन्छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ। सामाजिक र नैतिक मूल्यविनाको चर्को स्वरले गलत ज्ञान निर्माण गर्छ।
सत्ता र बौद्धिकको सम्बन्ध
सार्वजनिक बौद्धिकका लागि अर्को ठूलो चुनौती सत्ता-सम्बन्ध हो। सत्ता नजिक पुग्दा पहुँच बढ्छ। सल्लाहकार बन्न पाइन्छ, समितिमा बस्न पाइन्छ, अवसर आउँछन्, सम्मान र नियुक्ति प्राप्त हुन सक्छ। तर प्रश्न उठ्छ- त्यो निकटताले आलोचनात्मक स्वतन्त्रता कति बाँकी राख्छ ? यसको मतलब यो होइन कि बौद्धिक राज्यको कुनै निकायमा पुग्न हुँदैन; यसको मतलब यो हो कि ऊ सत्तामा पुग्दा उसको भूमिका सत्ताका लागि हुन्छ कि आम मान्छेको हितार्थ ?
सत्ता नजिक हुनु आफैंमा गलत होइन। समस्या तब सुरु हुन्छ, जब निकटताको मूल्य सत्य बोल्ने स्वतन्त्रता ले तिर्नुपर्छ। सार्वजनिक बौद्धिकको सबैभन्दा ठूलो पुँजी उसको पद, पुरस्कार वा पहुँच होइन; उसको स्वतन्त्र विश्वसनीयता हो। त्यसैले उसले आफूलाई पनि उही नैतिक मापदण्डमा परीक्षण गर्नुपर्छ, जुन मापदण्ड उसले अरूका लागि मागिरहेको छ।
आफ्नो समूह, आफ्नो विचार, आफ्नो प्रिय व्यक्ति र आफूले समर्थन गरेको संस्थासमेत गलत हुँदा प्रश्न गर्ने ल्याकत नै सार्वजनिक बौद्धिक को उत्कृष्ट पहिचान र पुँजी हो।
अरूबाट पारदर्शिता माग्नेले आफ्ना सम्बन्धमा पनि पारदर्शिता राख्नुपर्छ। अरूलाई तथ्यको पाठ पढाउनेले आफूले पनि अपुष्ट सूचना फैलाउनु हुँदैन। पीडितका नाममा बोल्नेले पीडितको आवाजलाई आफ्नै लोकप्रियताको साधन बनाउनु हुँदैन। यहींबाट नैतिक सार्वजनिक बौद्धिकता को जन्म र पुनर्जन्म हुन्छ।
समाजलाई चाहिएको नैतिक फ्युज
आजको मुख्य प्रश्न केवल को सत्तामा छ ? भन्ने होइन। त्यसभन्दा ठूलो प्रश्न हो- हामी कस्तो समाज निर्माण गरिरहेका छौं ?
यदि अन्याय देखेर हामी यस्तै त हो नि ! भन्छौं भने नैतिक फ्युज बलेको छैन, निभिसकेको छ। यदि जातीय विभेदलाई अरूको समस्या भनेर पन्छाउँछौं भने हाम्रो नैतिक चेतना सुस्त छ।
सार्वजनिक पदलाई उच्च पदस्थले निजी लाभको साधन बनाउँदा हामी मौन बस्छौं भने हाम्रो लोकतान्त्रिक संस्कार कमजोर छ। लोकप्रियताको डरले सत्य बोल्न छाड्छौं भने सार्वजनिक बौद्धिकता को अर्थ विलीन हुँदै छ। हामीले आफ्नै विचार, आफ्नै समूह र आफ्नै सुविधामाथि प्रश्न गर्न छाड्यौं भने आलोचनात्मक चेतना बिस्तारै आत्मप्रशंसा मा बदलिन्छ।
त्यसैले समाजलाई केवल नयाँ कानुन, नयाँ संस्था वा नयाँ नेतृत्व मात्र चाहिएको होइन। नयाँ नैतिक संवेदना, नयाँ नैतिक संस्कार र नयाँ सामाजिक मूल्य पनि चाहिएको छ।
विश्वविद्यालय अनुसन्धानको केन्द्र होस्, तर अनुसन्धानले समाजसँग संवाद गरोस्। सञ्चारमाध्यम तथ्य र सार्वजनिक उत्तरदायित्वको संरक्षक बनोस्। साहित्यले दबाइएका अनुभवलाई सामाजिक स्मृतिमा सुरक्षित राखोस्। नागरिक समाजले राज्यसँगै समाजलाई पनि प्रश्न गरोस्। सामाजिक सञ्जाल घृणाको बजार होइन, विचारको सार्वजनिक चौतारी बनोस्। र, सार्वजनिक बौद्धिक सत्ताको दलाल वा नैतिक उपदेशक होइन; समाजलाई आफैं सोच्न सक्ने बनाउने आलोचनात्मक सहयात्री बनोस्।
सार्वजनिक बौद्धिकताको अन्तिम उद्देश्य आफ्ना अनुयायी बढाउनु होइन; प्रश्न गर्न सक्ने नागरिक बढाउनु हो।
समाजको पुनर्निर्माण त्यहीँबाट सुरु हुन्छ; जहाँ मानिसले अन्याय देखेर चुप लाग्न अस्वीकार गर्छ। अन्याय देखेपछि जसले गरेको भए पनि बोल्ने र प्रतिरोध गर्ने क्षमता राख्दछ। जहाँ यस्तै हो भन्ने निष्क्रिय स्वीकारोक्तिको ठाउँमा एउटा असहज प्रश्न जन्मिन्छ- यस्तै किन ? यस्तो त भएन नि !
यस्तै प्रश्नहरू नै नैतिक जागरण को पहिलो आवाज बन्नेछन्। समाजमा त्यस्ता प्रश्नहरू उठिरहेसम्म नैतिक फ्युज पूर्ण रूपमा निभिसकेको हुँदैन। हाम्रो समाजलाई नैतिक जागरण र नैतिक मूल्यको यतिबेला सख्त खाँचो छ।
प्रतिक्रिया 4