News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको नि:शुल्क अनलाइन एआई तालिमका लागि आवेदन खुलेको २४ घण्टामा ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्।
- आवेदन बढी भएपछि प्राविधिक कारणले फाराममा पहुँच अवरुद्ध भएको प्रतिष्ठानले जनाएको छ र सफल आवेदकले पुनः आवेदन दिनु नपर्ने बताएको छ।
- कात्तिक १८ र १९ गते चार सत्रमा सञ्चालन हुने तालिममा २ हजार जनालाई च्याटजीपीटी, क्लाउड, प्रम्प्ट लेखन र एआई उपकरणको प्रयोग सिकाइनेछ।
१६ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क अनलाइन एआई तालिमका लागि आवेदन खुला गरेको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन् ।
आवेदन दिनेको संख्या अत्यधिक भएपछि प्राविधिक कारणले आवेदन फाराममा पहुँच अवरुद्ध भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले आवेदन विवरण सुरक्षित रहेको र तालिम प्रयोजनका लागि मात्र प्रयोग गरिने जानकारी दिएको छ । यसअघि सफलतापूर्वक आवेदन दिइसकेका आवेदकले पुन: आवेदन दिनुपर्ने छैन ।
इच्छुक आवेदकका लागि सोमबार (कात्तिक १६) गते आधिकारिक वेबसाइटमार्फत अर्को आवेदन फाराम उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ । आवेदन दिन चाहनेले उक्त दिन समयमै फाराम भर्न प्रतिष्ठानले आग्रह गरेको छ । छनोट भएका सहभागीलाई एसएमएसमार्फत जानकारी गराइनेछ ।
प्रतिष्ठानले यसअघि युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक नि:शुल्क अनलाइन तालिमका लागि आवेदन खुला गरेको थियो ।
तालिम आगामी कात्तिक १८ र १९ गते बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ । प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ । प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार जनालाई तालिम दिने प्रतिष्ठानको योजना छ ।
तालिममा च्याटजीपीटी, क्लाउड लगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, स्पष्ट र उपयोगी प्रम्प्ट लेखन तथा एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय र आकर्षक प्रस्तुतीकरण तयार गर्ने सीप सिकाइनेछ ।
त्यस्तै, एआईको प्रयोगबाट तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिकासमेत तालिममा समेटिनेछ ।
तालिमले युवालाई अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रविधिको प्रभावकारी प्रयोग गर्न आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको छ । अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्यास हो । यस कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइ आगामी दिनमा ठूलो सङ्ख्यामा युवालाई लक्षित गरी सञ्चालन गरिने अनलाइन तथा अन्य सीपमूलक तालिमको पहुँच र प्रभावकारिता अभिवृद्धि गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुन नहुने बताएका छन् ।
‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसर देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ । त्यसैले यो नि:शुल्क अनलाइन तालिम एआईसम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो,’ उनले भने ।
उनका अनुसार आगामी दिनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिम सञ्चालन गरी देशभरका ठूलो सङ्ख्यामा युवालाई एआई प्रविधिमा दक्ष र सक्षम बनाउने लक्ष्य छ ।
आवेदन दिनेको संख्या अपेक्षाभन्दा धेरै भएपछि प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता तालिम आधिकारिक प्रणालीमार्फत निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4