+
+
Shares

पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८३ कात्तिक १६ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पापडी चाटमा आलु, चना, प्याज, गोलभेडा र चटनी भए पनि तेल, नुन र चिनी बढी हुने भएकाले सावधानी आवश्यक छ।
  • पटक–पटक तताइएको तेल, अस्वच्छ पानी र सामग्रीले ट्रान्सफ्याट, उच्च रक्तचाप, मधुमेह र खाद्यजन्य संक्रमणको जोखिम बढाउन सक्छ।
  • स्वास्थ्य विज्ञहरूले दैनिक खानाको ८० प्रतिशत पोषणयुक्त र २० प्रतिशत मनपर्ने परिकार हुनुपर्ने भन्दै पापडी चाटलाई त्यो २० प्रतिशतभित्र राख्न सुझाउँछन्।

कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको प्याज र गोलभेडा अनि माथिबाट छरिएको पहेँलो सेव (भुजिया) ।

रङ, स्वाद र बास्नाको यस्तो संयोजनले जोकोहीलाई आकर्षित गर्न सक्छ । हेर्दा मनमोहक, खाँदा चटपटा र स्वादिलो । कलकत्ताका सडकमा यो परिकार निकै लोकप्रिय रहेछ ।

नेपालका बजारमा पनि समोसा चाट, कचौडी चाट, मिक्स चाट र पापडी चाट नयाँ परिकार होइनन् । विशेषगरी नेपालको तराई र भारतका उत्तरी तथा पूर्वी क्षेत्रमा यस्ता परिकारको छुट्टै लोकप्रियता छ । भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालमा पापडी चाट लोकप्रिय सडक खानाका रूपमा परिचित छ ।

यस्तो स्वादिलो खानेकुरा स्वास्थ्यका लागि कति उपयुक्त हुन्छ होला ? धेरैको चासो हुन सक्छ । कतिले यसमा पोषणका पक्ष के छन् वा जोखिमहरू क के छन् ?

चिकित्सकको दृष्टिकोणबाट हेर्दा पापडी चाटमा राम्रा र नराम्रा दुवै पक्ष भेटिन्छन् ।

पापडी र भुजिया बनाउन गहुँको पिठो, चनाको पिठो वा दालको धुलो प्रयोग गरिन्छ । यसबाट केही मात्रामा कार्बोहाइड्रेट, प्रोटिन र फाइबर प्राप्त हुन्छ । चना तथा चनाको पिठो प्रोटिन र फाइबरका स्रोत हुन् । त्यसैगरी माथिबाट थपिने प्याज र गोलभेडाबाट भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्राप्त हुन्छन् । चना, आलु, प्याज र गोलभेडाको मिश्रणले यसमा केही पोषण तत्त्व थप्छ । जिरा, धनियाँ र अन्य मसलाले स्वाद बढाउनुका साथै पाचन प्रक्रियामा पनि केही सहयोग गर्न सक्छन् । त्यसैले पापडी चाटमा कुनै पोषक तत्व नै हुँदैन भन्न मिल्दैन । यद्दपि केही पोषक तत्व हुनु र कुनै परिकार सन्तुलित तथा स्वास्थ्यकर हुनु एउटै कुरा होइन ।

यसका केही कमजोरीहरू पनि छन् । पापडी र भुजिया दुवै तेलमा तारेर बनाइन्छन् । यसले परिकारमा बोसो र क्यालोरीको मात्रा बढाउँछ । अझ स्ट्रीट फुडमा प्रयोग हुने तेलको गुणस्तर र त्यसलाई कति पटक तताइएको छ भन्ने थाहा नहुन सक्छ । पटक–पटक तताइएको तेलमा हानिकारक अक्सिडाइज्ड पदार्थ तथा केही ट्रान्सफ्याट बन्न सक्छन् । ट्रान्सफ्याटले खराब कोलेस्ट्रोल बढाउने र राम्रो कोलेस्ट्रोल घटाउने भएकाले मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम बढाउन सक्छ।

त्यस्तै पापडी, भुजिया, चटनी र चाट मसलामा अत्याधिक नुनको प्रयोग भएको हुन्छ । यसका कारण सोडियमको मात्रा बढ्न सक्छ । नुनको अत्यधिक सेवनले उच्च रक्तचापको जोखिम बढाउँन सक्छ । उच्च रक्तचाप मिर्गौला सम्बन्धी रोगको पनि एउटा महत्त्वपूर्ण जोखिम हो । यसमा प्रयोग गरिइको गुलियो चटनीले चिनीको मात्रा पनि बढी हुन सक्छ । त्यसैले समर्गमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, उच्च ट्राइग्लिसराइड वा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले यसको सेवनको विशेष ध्यान दिनुपर्छ ।

पापडी चाटको अर्को पक्ष पनि छ । यसमा रहेको अमिलो, पिरो र चिल्लो स्वादको मिश्रण सबैलाई उत्तिकै अनुकूल नहुन सक्छ । एसिडिटी, अपच वा पेट पोल्ने समस्या भएका व्यक्तिमा यस्ता खानेकुराले लक्षण बढाउन सक्छन् । तर अमिलो वा पिरो खाँदैमा सबैलाई ग्यास्ट्राइटिस हुन्छ भन्ने चाहि होइन । तर पहिले देखि समस्या भए, अझ गाह्रो हुन सक्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्था र खानाप्रतिको सहनशीलता बुझेर खाने बानी राम्रो हुन्छ ।

स्ट्रीट फुडमा खाद्य स्वच्छता अझ महत्त्वपूर्ण हुन्छ । पापडी चाटमा काँचो प्याज, गोलभेडा, चटनी, कहिलेकाहीँ दही र उमालेको आलु पनि प्रयोग हुन्छ । यी सामग्री तयार गर्दा प्रयोग गरिएको पानी स्वच्छ छ कि छैन ? हात र भाँडाकुँडा सफा छन् कि छैनन् ? सामग्री उचित तापक्रममा सुरक्षित राखिएको छ कि छैन ? भन्ने कुराले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । सरसफाइको कमी वा दूषित पानी तथा सामग्रीको प्रयोगले झाडापखाला लगायतका खाद्यजन्य संक्रमण निम्त्याउन सक्छ । त्यसैले स्वादसँगै बनाउने ठाउँको सरसफाइ र खाद्य सुरक्षामा पनि ध्यान दिनुपर्छ ।

यति हुँदाहुँदै पनि खानालाई केवल पोषण र रोगको जोखिमसँग जोडेर मात्र हेर्नु उचित हुँदैन । हामी खाना शरीरलाई चाहिने ऊर्जा र पोषक तत्त्व प्राप्त गर्न मात्र खाँदैनौँ । खाना संस्कृति, परम्परा, सामाजिक सम्बन्ध, व्यक्तिगत रुचि र मानवीय आनन्दको पनि अभिन्न अङ्ग हो । घरको दालभातदेखि चाडपर्वका विशेष परिकार र सडकका चटपटा खानासम्म हरेक खानेकुरासँग कुनै न कुनै अनुभूति जोडिएको हुन्छ । खानाको स्वादले बाल्यकाल, परिवार, साथीभाइ र यात्राका सम्झनासमेत ताजा बनाउँछ । त्यसैले हामीले खानालाई ‘औषधि’ जस्तो हेर्नु हुदैन । र पापडी चाटलाई ‘मानसिक तथा सामाजिक स्वास्थ्य’ र ‘सन्तुष्टि’ सँग जोडेर पनि हेर्नु पर्छ ।

पापडी चाटजस्ता स्वादिला परिकारको आकर्षण जिब्रोको स्वादमा मात्र सीमित छैन । यसको रङ, बास्ना, कुरकुरेपन र अमिलो–मिठो स्वादले खानाको आनन्द बढाउँछ । मनपर्ने खाना खाँदा मस्तिष्क सक्रिय हुन्छ । यसले ‘ह्यापी हर्मोन’ (डोपामिन) जस्ता न्युरोट्रान्समिटरको उत्पादन गराउछ । यसले तनाव कम गर्न, मुड सुधार्न र दिनभरको थकान बिर्साउन मद्दत गर्छ । प्रियजनहरूसंग बसेर मनपर्ने खाना खाँदा प्राप्त हुने खुसी र सन्तुष्टि पनि मानसिक स्वास्थ्यको एउटा महत्त्वपूर्ण पक्ष हो ।

साथीभाइ वा परिवारसँग बसेर एउटै प्लेटका वरिपरि रमाउँदै चाट खानु, स्वादको चर्चा गर्नु, कसैलाई बढी पिरो लाग्नु त कसैलाई बढी अमिलो मन पर्नु …. । यी सबै सामान्य लाग्ने क्षणहरूले सामाजिक सम्बन्धलाई आत्मीय बनाउँछन् । यात्राका क्रममा नयाँ ठाउँको स्थानीय खाना चाख्नु पनि यात्राको एउटा महत्त्वपूर्ण अनुभव हो । कलकत्तामा पापडी चाट खाँदा प्राप्त हुने स्वादसँगै त्यहाँको सडक संस्कृति र स्थानीय खानपानको अनुभव पनि जोडिन्छ । यस अर्थमा खाना पेट भर्ने माध्यम मात्र होइन, मानिस र समाजलाई जोड्ने माध्यम पनि हो ।

तर खानाको आनन्द लिने नाममा स्वास्थ्यका जोखिमलाई बेवास्ता गर्नु पनि उचित हुँदैन । स्वास्थ्य विज्ञहरूले पनि हाम्रो दैनिक खानाहरूमा ८० प्रतिशत खाना पोषणयुक्त हुनुपर्छ भन्ने राय दिन्छन् । अर्थात मुख्य खानाहरू शरीरलाई फाइदा हुने हुनुपर्छ । तर २० प्रतिशत खाना हाम्रो मन र जिब्रोलाई खुसी बनाउने हुनुपर्छ । पापडीचाट जस्ता खानेकुरा यो २० प्रतिशत भित्र पर्छ । यसलाई आनन्दित मनले खाँदा खासै हानि हुँदैन ।

स्वास्थ्य र सन्तुष्टिलाई जोड्ने सबैभन्दा राम्रो तरिका भनेको ‘माइन्डफुल इटिङ’ हो । पापडीचाट खाँदा हतार नगरी, स्वाद लिएर, कुरकुरेपन र मसलाको बास्नाको आनन्द लिँदै खानुहोस् । कति खाइरहेको छु भन्ने कुरामा ध्यान दिने र पेट भरिएको अनुभूति भएपछि खान रोक्ने बानी यसको आधार हो । स्वादिलो परिकार खाँदा त्यसको आनन्द लिनुपर्छ । तर आवश्यकताभन्दा बढी खानु हुँदैन । खानाको आनन्द लिनु भनेको जति धेरै खायो उति राम्रो भन्ने होइन । यसलाई दिनहुँ खाने खाजाको रूपमा नलिनुहोस् ।

कलकत्ताको सडकमा खाएको त्यो प्लेट पापडी चाटले मलाई फेरि एउटा सामान्य तर महत्त्वपूर्ण कुरा सम्झायो, ‘जीवनमा स्वाद पनि चाहिन्छ र सन्तुलन पनि’। स्वस्थ शरीरसँगै प्रसन्न मन हुनु उत्तिकै आवश्यक छ । त्यसैले खानपानमा सचेत बनौँ, स्वच्छ र सुरक्षित खाना रोजौँ, मात्रा मिलाऔँ र कहिलेकाहीँ मनपर्ने परिकारको स्वाद पनि खुलेर लिऔँ ।

आखिर खाना जीवन धान्ने आधार मात्र होइन, जीवनलाई रमाइलो बनाउने एउटा सुन्दर माध्यम पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?