+
+
Shares

कहाँ पुग्यो गल्छी-रसुवागढी सडक ट्र्याक खोल्ने काम ?

सडक विभागका अनुसार स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटर सडकमा भने अझै अन्योल कायम छ । 

अच्युत पुरी अच्युत पुरी
२०८३ कात्तिक १६ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गल्छी-रसुवागढी सडकको स्याफ्रुबेँसीसम्म ट्र्याक खुलेको छ भने त्यहाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माण भइरहेको छ ।
  • स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटर खण्डमा अस्थायी ट्र्याक, चार वटा ठाडो खोलामा पुल र त्यसपछि स्थायी सडक निर्माण गर्ने तयारी छ ।
  • बाढीले नेपाल–चीन नाका र पूर्वाधारमा क्षति पुर्‍याएपछि चीनतर्फ अस्थायी ट्र्याक खुले पनि नेपालतर्फ रसुवागढीसम्म सञ्चालन अनिश्चित छ ।

१६ कात्तिक, काठमाडौं । १० भदौको प्रलयकारी बाढीले क्षतविक्षत बनाएको गल्छी-रसुवागढी सडकमा अहिले विभिन्न खण्डमा ट्र्याक खोल्ने काम जारी छ ।

सडक विभागका अनुसार स्याफ्रुुबेँसीसम्म ट्र्याक खुलेको छ । सोही  विन्दुमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको काम जारी रहेको विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटर सडकमा भने अझै अन्योल कायम छ ।

‘यो खण्डमा अधिकांश सडक क्षतविक्षत छ, त्यसलाई अस्थायी रूपमा खोलेर स्थानीयको आधारभूत आवश्यकताका सामग्री ढुवानीको व्यवस्था गर्ने कामलाई प्राथमिकता साथ अगाडि बढाइने छ,’ महानिर्देशक जैसीले भने ।

सोही क्रममा चार वटा ठाडो खोलामा अस्थायी पुल निर्माण गर्नुपर्ने देखिएको छ । त्यसपछि भने यस खण्डमा स्थायी सडक निर्माणको काम अगाडि बढाउने तयारी विभागको छ । स्थायी सडक बनाउन डीपीआर निर्माणको काम जारी छ ।

बाढी आउनु अगाडि स्याफ्रुुबेँसी-रसुवागढी सडक यसअघि चीनको अनुदान सहयोगमा निर्माण भइरहेको थियो । सोहीकारण सरकारले यो खण्ड पुनर्निर्माणमा चीनबाट सहयोगको अपेक्षा समेत गरेको छ ।

‘चीनको अनुदानमा बनिरहेको हुँदा हामीले सहयोगलाई निरन्तरता दिन अनुरोध गरेका छौं,’ उनले भने, ‘त्यसो भए स्थायी पुनर्निर्माणको कामले पनि गति लिने छ ।’

गल्छी-रसुवागढी सडक लम्बाइ कुल ८२ किलोमिटर छ । जसलाई तीन खण्डमा विभाजन गरी निर्माण भइरहेको थियो । प्रथम खण्ड गल्छी-त्रिशूली-मैलुङ ४६ किलोमिटर खण्ड हो । यो खण्डमा बाढी अगाडी २१ किलोमिटर कालोपत्र भइसकेको थियो । दोस्रो खण्ड मैलुङ-स्याफ्रुुबेँसी कुल १९ किलोमिटर लम्बाइको छ । तेस्रो खण्ड भने यसअघि चीनको अनुदानमा निर्माण भइरहेको थियो ।

बाढीपछि बेत्रावतीमा बेलिब्रिज जडान भएसँगै मैलुङ र धुन्चे सडक सञ्जालमा पुनर्स्थापित भएका थिए । तिहारपछिको १५ दिनभित्र स्याफ्रुबेँसीमा बेलिब्रिज जडान गरिसक्ने र सञ्चालनमा ल्याउने लक्ष्य विभागले राखेको छ ।

त्यसपछि रसुवागढीसम्म अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्रता दिइने महानिर्देशक जैसीले जानकारी दिए । अहिले धुन्चे हुँदै स्याफुबेँसी वारिसम्म सामान ढुवानी गर्न सम्भव भएसँगै उक्त स्थानमा बेलिब्रिज जडानको काम अगाडि बढाइएको हो ।

अन्तर्राष्ट्रिय नाका सञ्चालन अनिश्चित 

गल्छी-रसुवागढी सडकले रसुवागढीस्थित नेपाल-चीन नाका जोडेको थियो । जहाँबाट नेपाल र चीनबीच अन्तर्राष्ट्रिय व्यापार भइरहेको थियो । भोटेकोशी-त्रिशूली बाढीले नाका, मितेरी पुल र नदी करिडोरको सडक पूर्वाधारमा भयानक क्षति गर्‍यो । जसले गर्दा अहिले चीन-नेपाल अन्तर्राष्ट्रिय नाका सञ्चालन अनिश्चित बनेको छ ।

चीनतर्फ नेपाल सीमासम्म नै अस्थायी ट्र्याक बनिसकेको छ । महानिर्देशक जैसीका अनुसार बाढीका कारण चीनतर्फ थोरै दुरीमा मात्र क्षति भएको थियो । सोहीकारण त्यहा तत्काल अस्थायी ट्र्याक खोल्न सम्भव भयो । नेपालतर्फ भने गल्छीसम्म नै क्षति पुगेको छ ।

स्थायी पुनर्निर्माणमा ‘बिल्ड ब्याक बेटर’

नेपालका लागि गल्छी-रसुवागढी सडक रणनीतिक महत्त्वको पूर्वाधार हो । किनकि, यहाँ नाका पुनर्स्थापित नभए पनि त्रिशूली-भोटेकोशी आसपास बस्ती छ । यो भेग नेपालको पर्यटकीय आकर्षणको क्षेत्र पनि हो । सोहीकारण पुनर्निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी सरकारको छ ।

स्थायी निर्माणका क्रममा भने ‘बिल्ड ब्याक बेटर’ अवधारणा अनुसार स्तरीय पूर्वाधारमा जोड दिइने विभागका महानिर्देशक जैसी बताउँछन् ।

नयाँ सडक निर्माण गर्दा भने वर्तमान बाढीको प्रभाव क्षेत्र बाहिरबाट ट्र्याक खोलिने छ । स्थायीरूपमा निर्माण हुने पुललाई समेत सोही अनुसार उचाइमा डिजाइन गरिने छ । यस सडक खण्डमा बाढीका कारण मितेरीपुलदेखि गल्छीसम्म साढे दुई दर्जन सडक पुल बगेका छन् ।

सडक र पुलको मापदण्ड नै परिवर्तन गरिँदै

उता, सरकारले रसुवा-भोटेकोशी बाढीपछि सडक र पुल निर्माणको डिजाइन तथा मापदण्ड समेत परिवर्तनको तयारी थालेको छ । पूर्वाधार विकास मन्त्रालयले छुट्टै इकाइदेखि पुलको डिजाइन कोड परिवर्तनमा काम गरिरहेको यसअघि नै बताएको थियो ।

२०५० सालमा त्रिशूली नदीमा आएको बाढीपछि नेपालमा यति विनाशकारी बाढी आएको अभिलेखमा थिएन । तर, ४/५ वर्ष अवधिमा साँफेबगर, मेलम्ची, जोमसोम-कोरला, मेची राजमार्ग, बीपी राजमार्गको रोशी खोला र अहिले भोटेकोशी हुँदै रसुवा, कालीगण्डकी र बुढीगण्डकी नदीमा बाढीले अकल्पनीय क्षति गरेको छ । यससँगै सरकारले मापदण्ड परिवर्तनको तयारी गरेको हो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?