+
+
Shares

८ हजार मिटर माथिका थप ६ हिमालको मान्यता : एक वर्षभित्रै ‘ब्रेक थ्रु’ हुने नेपालको अपेक्षा

विश्वमा ८ हजार मिटरभन्दा अग्ला मान्यता प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी ८ वटा शिखर नेपालमा छन् ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ कात्तिक १७ गते १९:२६

१७ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को काठमाडौंमा सम्पन्न साधारण सभामा ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई चुलीको मान्यता दिन प्रस्ताव गर्‍यो ।

विभिन्न ४५ देशका प्रतिनिधि सहभागी सभामा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मि.), कञ्चनजङ्घा मध्य (८,४७३ मि.), ल्होत्से मध्य (८,४१० मि.), ल्होत्से शार (८,४००) र यालुङ काङ पश्चिम (८,०७७ मि.)ले मान्यता पाउनु पर्ने प्रस्ताव राखेको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए ।

विश्वमा ८ हजार मिटरभन्दा अग्ला मान्यता प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी ८ वटा शिखर नेपालमा छन् ।

चीन (तिब्बत)को सिसापाङ्ग्, पाकिस्तानको केटु, गाशरब्रुम प्रथम, ब्रोड पिक, गाशरब्रुम द्वितिया र नाङ्गा पर्वतले ८ हजार मिटरभन्दा अग्ला शिखरको मान्यता पाएका छन् ।

पाकिस्तानमा ८ हजार मिटर भन्दा अग्लो ब्रोड पिक पूर्व पनि छ । तर पाकिस्तानले मान्यताका पाउन पहल नगरेको जानकारहरू बताउँछन् ।

सन् १९८६ मा राइनहोल्ड मेसनरले पहिलो पटक आरोहण गरेका ती १४ हिमाललाई युआईएएबाट ८ हजार मिटरभन्दा अग्ला शिखरको मान्यता प्राप्त छ ।

नेपालले भने थप ६ वटा शिखरलाई मान्यता दिइसकेको देखिन्छ ।

प्रस्तावित ती हिमालहरूमा समेत आरोहणका लागि नेपाल सरकारले अनुमति दिँदै आएको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने भन्छन्, ‘हामीले नेपालका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाललाई मान्यता दिएर आरोहण अनुमति र प्रमाणपत्र समेत दिइरहेका छौं ।’

नेपालले थप ६ वटा हिमालको प्रस्ताव युआईएएमा पहिलो पटक राखेको भने होइन । दुई दशक पहिले नै यो प्रस्ताव यूआईएएमा पुगिसकेको जानकारहरू बताउँछन् ।

एनएमएका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा २००५ मा हङकङमा सम्पन्न युआईएएको साधारण सभामा आफूले यो विषय उठाएको स्मरण गर्छन् ।

सन् २०१३ को मे पहिलो साता इटलीमा बसेको युआईएएको व्यवस्थापन समितिको बैठकमा ६ वटा हिमाल चुलीलाई छुट्टै चुलीको मान्यता दिनुपर्ने प्रस्ताव अघि बढेको थियो ।

त्यही वर्षको अक्टोबरमा स्विट्जरल्याडमा सम्पन्न युआईएएको साधारण सभामा यो विषय उठे पनि निर्णय हुन सकेन ।

नेपाल युआईएएको साधारण सभामा सन् २०१४ मा सगरमाथामा भएको आरोहीबीचको विवाद र २०१५ मा गोर्खा भूकम्पपछि सगरमाथा र लाङटाङमा आएको हिमपहिरोमा केन्द्रित हुनु परेको शेर्पा बताउँछन् ।

नेपाल पर्वतारोहण संघ लगायतले थप हिमालका विषय उठाउँदै आए पनि युआईएए ‘परम्परागत’ १४ वटा हिमालमै अडिग देखिन्छ ।

यद्यपि नेपाल सरकार प्रशासनिक वा अन्य कारणले थप शिखरलाई मान्यता दिने निर्णय गर्न पूर्णत: अधिकार सम्पन्न भएको युआईएएको माउन्टेनेरिङ कमिसनले २०२३ मा उल्लेख गरेको थियो ।

‘८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या परम्परागत १४ वटा शिखरका रुपमा नै मान्यता दिनुपर्छ भन्ने युआईएएको धारणा छ,’ युआईएए माउन्टेनेरिङ कमिसनको तीन वर्ष पहिलेको निचोड थियो ।

कात्तिक दोस्रो साता काठमाडौंमा सम्पन्न साधारण सभापछि युआईएएका पदाधिकारीहरू ती शिखरहरूलाई मान्यता दिने विषयमा सकारात्मक हुने विश्वास आफूले लिएको एनएमएका अध्यक्ष शेर्पा बताउँछन् ।

‘यसअघि यो विषय युआईएएलाई मौखिक रुपमा जानकारी गराउँदै आएका थियौं । यसपटक लिखित रुपमै हाम्रो प्रस्ताव राखेका छौं,’ अध्यक्ष शेर्पाले भन्छन्, ‘अध्ययन समितिले तयार पारेको प्रतिवेदन साधारण सभामा प्रस्तुत गर्‍यौं । युआईएएले यो विषयलाई सकारात्मक रुपमा लिन्छ भन्नेमा विश्वस्त छौं ।’

अध्यक्ष शेर्पाले युआईएएका अधिकारीहरूले प्रस्ताव माउन्टेनेरिङ कमिसनमा राख्न सुझाएको अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘लामो र झन्झटिलो भए पनि तपाईंहरू ब्यूरोक्याटिक प्रक्रियाबाटै गुज्रनु पर्ने हुन्छ भनेका छन् ।’

युआईएएको आगामी साधारण सभामा २०२७ अक्टोबरमा चिलीमा हुँदैछ । त्यतिबेलासम्म यो विषयमा ब्रेक थ्रु हुन सक्ने युआईएका सात विज्ञ सदस्य मध्येका एक आङछिरिङ शेर्पा बताउँछन् ।

एनएमएका पूर्वअध्यक्ष समेत रहेका शेर्पा भन्छन्, ‘थप ६ वटा हिमालको क्राइटेरिया सम्बन्धी दस्तावेज बुझाएका छौं । युआईएएले अर्को वर्षसम्ममा निर्णय लिन सक्छ ।’

युआईएए माउन्टेनेरिङ कमिसनले एनएमए र नेपाल सरकारले भने जस्तै ६ वटा शिखर थपिँदा ‘८ हजार मिटर अग्ला हिमाल’ आरोहण अभियानमै उल्लेखनीय परिर्वतन ल्याउन सक्ने उल्लेख गरेको छ ।

तर पर्वतारोहण समुदायमा यो विषयमा बहस हुन थालेको दुई दशकभन्दा बढी भइसक्दा पनि ती हिमालहरूले छुट्टै शिखरको मान्यता किन पाएका छैनन् ? यसको सरल र एउटै जवाफ छैन ।

युआईएएसँग ‘हिमाल’, ‘शिखर’, ‘चुली’, ‘टुप्पा’, ‘बिन्दु’ वा ‘चुचुरो’ सम्बन्धी स्पष्ट परिभाषा नहुँदा र नेपाल सरकारले निरन्तर फलो अप गर्न नसक्दा नेपाल मात्र होइन विश्व समुदायले लाभ पाउने निर्णय हुन नसकेको जानकारहरू बताउँछन् ।

उनीहरूका अनुसार १४ वटा हिमाल आरोहण गरिसकेकाहरू खुलेरै ८ हजार मिटर अग्ला थप हिमाललाई मान्यता दिनै नहुने पक्षमा लागेका छन् ।

तर क्लासिक १४ वटा हिमाल आरोहणको रेकर्डलाई सम्मान गर्दै थप शिखरको विषय अगाडि बढ्नु पर्ने नेपाल पक्षको भनाइ छ । साधारण सभामा नेपाल सरकारका पूर्व सचिव मधुसुदन अधिकारीले नेतृत्व गरेको समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।

समितिमा सगरमाथाको उचाइ नाप्ने टोलीको नेतृत्व गरेका नापी विभागका उपसचिव खिमलाल गौतम, नेपाल जियोमेटिक्स इन्जिनियरिङ सोसाइटीका अध्यक्ष महेश थापा, आरोहण सम्बन्धी अनुसन्धाताद्वय अनिश दाहाल र थानेश्वर गुरागाईं सदस्य छन् ।

युआईएएले स्थलकृतिक विवरण, ऐतिहासिक तथ्य, स्थानीय समुदायको हित, नेपाल सरकारको चासो, सम्बन्धित हिमालका सांस्कृतिक–आध्यामिक पक्ष, ४ हजार मिटरभन्दा अग्ला आल्प्सका हिमाल वर्गीकरणको पूर्वअनुभवको आधारमा हिमालको वर्गीकरण गर्दै आएको छ ।

जियोमेटिक्स इन्जिनियरिङ सोसाइटीका अध्यक्ष महेश थापा नेपालले प्रस्ताव गरेका ६ वटै शिखर मान्यता पाउनका लागि योग्य रहेको बताउँछन् ।

पर्वतीय प्रमुखता (प्रोमिनेन्स), पर्वतीय पृथकता (आइसोलेसन) र डोमेनेन्स(प्रोमिनेन्स र समुन्द्री सतहदेखि शिखरसम्मकाे उचाइकाे अनुपात)  हेर्दा पनि मान्यता नदिनु पर्ने कारण आफूले नदेखेको थापाको धारणा छ ।

आरोहणकै कुरा गर्दा ८ हजार ७७ मिटरको यालुङ काङ पश्चिम बाहेक पाँच वटै शिखर आरोहीले चुमिसकेका छन् ।

स्वीट्जरल्यान्डमा बसोबास गर्दै आएका बेलायती आरोही तथा लेखक एडवर्ड मोर्गनले आफ्नो एउटा लेखमा ६ वटै शिखरले पर्वतारोहणका क्रममा छुट्टै आरोहण लक्ष्यका रुपमा समावेश गर्न पर्याप्त भौगोलिक स्वतन्त्रता राख्ने उल्लेख गरेका छन् ।

अंग्रेजी साप्ताहिक नेपालीटाइम्समा उनले लेखेका छन्, ‘थप पहिचान गरिएका ६ वटा हिमालको प्रोमिनेन्स र भौगोलिक अलगाव फरक फरक छ । यालुङ काङको प्रोमिनेन्स १३५ मिटर रहेकाले यसलाई छुट्टै शिखर मान्ने सबैभन्दा बलियो आधार रहेको छ ।’

त्यस्तै, बाँकी हिमालहरूको प्रोमिनेन्स कञ्चनजङ्घा दक्षिणको ११६ मिटर, कञ्चनजङ्घा मध्यको ६३ मिटर, ल्होत्से शारको ७२, ल्होत्से मध्यको ६५ र यालुङ काङ पश्चिमको करिब ४० मिटर रहेको दुई पटक सगरमाथा आरोहण गरिसकेका नापी विभागका उपसचिव खिमलाल गौतमले जानकारी दिए ।

‘पन्ध्रौं चुली’ पुस्तकका लेखक समेत रहेका गौतम शिखर, चुली वा हिमाल सम्बन्धी विश्वव्यापी रुपमा स्वीकार्य एउटै परिभाषा नहुँदा त्यसको मारमा नेपाल परेको बताउँछन् ।

पर्यटन विभागका महानिर्देशक लामिछाने पर्वतारोहणमा अग्रणी देशले ती हिमालहरूको मान्यताका लागि तीन वटा विषयमा जोडदिनुपर्ने पर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालले निरन्तर फलोअप, वैज्ञानिक अनुसन्धान र डेटा भेरिफिकेसनमा तीव्रता दिनु पर्ने देख्छु ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?