+
+
Shares

मिठाई कति सुरक्षित ?, ४३३ पसल मापदण्ड बाहिर

यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी सुधार्ने भन्दै तिहार लक्षित मिठाई पसलमाथि कडा निगरानी र नयाँ मापदण्ड लागु गरेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ कात्तिक १८ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहार लक्षित मिठाई पसलमा कडा अनुगमन र नयाँ मापदण्ड लागू गरेको छ ।
  • नयाँ मापदण्डअनुसार मिठाईको नाम, कच्चापदार्थ, तेल वा घिउ, उपभोग्य मिति र मूल्य अनिवार्य खुलाउनुपर्ने छ ।
  • विभागले देशभर ४ सय ९७ मिठाई पसल अनुगमन गरी ४ सय ३३ लाई निर्देशन दिएको र नियम नमान्नेमाथि मुद्दा तथा जरिबाना गर्ने तयारी गरेको छ ।

१८ कात्तिक, काठमाडौं । झिलिमिली बत्ती, ढकमक्क फुलेका सयपत्री र मखमली, अनि देउसी–भैलोको गुञ्जन । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) घरआँगनमा भित्रिसकेको छ । तिहार भन्नेबित्तिकै उज्यालो र फूलसँगै सबैभन्दा बढी जोडिएर आउने अर्को कुरा हो– मिठाई ।

चाडपर्वका बेला बजारमा मिठाई खपत ह्वात्तै बढ्छ । माग उच्च भएपछि व्यापारीलाई भ्याइनभ्याइ हुन्छ । तर, यही हतारो र उच्च नाफा कमाउने दाउमा विगतका वर्षहरूमा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने गरेको थियो ।

सडेगलेका, म्याद गुज्रेका र अखाद्य वस्तु मिसिएका मिठाईले बजार ढाक्ने गरेका अनेकौं दृष्टान्त हाम्रासामु छन् ।

यसपालि भने सरकारले विगतका गल्ती र कमजोरी सुधार्ने भन्दै तिहार लक्षित मिठाई पसलमाथि कडा निगरानी र नयाँ मापदण्ड लागु गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन अघि नै सूचना जारी गर्दै मिठाई उत्पादक र विक्रेताका लागि कडा नियम कार्यान्वयनमा ल्याएको हो ।

तिहारको समयमा मिठाईमा हुने मिसावट कतिसम्म भयानक हुन्छ भन्ने बुझ्न गत वर्षको एउटा तथ्यांक हेरे पुग्छ । गत वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ असोजदेखि १ कात्तिकसम्म काठमाडौं, ललितपुर र भक्तपुरका ५३ वटा चर्चित र ठूला मिठाई पसल अनुगमन गरेको थियो ।

अनुगमन क्रममा अधिकांश पसलका मिठाईमा अखाद्य वस्तु प्रयोग गरेको पाइएको थियो । कतिपय पसलले एक पटक प्रयोग गरिसकेको तेललाई महिनौंसम्म अलकत्रा जस्तो नहुँदासम्म पटक–पटक प्रयोग गर्ने गरेको, तोकिएको मापदण्ड भन्दा निकै बढी र मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने औद्योगिक रङ मिसाउने गरेको भेटिएको थियो ।

त्यतिमात्र होइन, भान्साको सरसफाइमा चरम लापरबाही देखिएको थियो । फोहोर, दुर्गन्धित र ओसिलो ठाउँमा मिठाई तयार पारिएको र बिक्रीका लागि राखिएका तयारी मिठाईमा समेत झिँगा तथा साङ्लो मरेको भेटिएको थियो ।

तर, अहिले पनि अधिकांश मिठाई पसलको अवस्था उस्तै छ । विभागले अनुगमन गरेर त्यस्ता पसलहरूमा अखाद्य भेटिए नष्ट गर्ने र जरिबाना तिराउने गरिरहेको छ ।

के छ मापदण्ड ?

उपभोक्ताको स्वास्थ्य सुरक्षा र हित संरक्षण ध्यानमा राख्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र उपभोक्ता संरक्षण ऐन टेकेर मिठाई व्यवसाय लक्षित नयाँ मापदण्ड जारी गरेको छ ।

नयाँ मापदण्ड अनुसार अब मिठाई उत्पादक तथा व्यवसायीले उपभोक्तालाई अँध्यारोमा राखेर व्यापार गर्न पाउने छैनन् । मिठाई उत्पादन सम्बन्धी नयाँ मापदण्डमा मिठाई उत्पादक उद्योगीले मिठाई उत्पादन गर्दा सम्मिश्रण भएका सम्पूर्ण कच्चापदार्थको यथार्थ विवरण प्याकिङ बट्टामा वा शोकेसमा स्पष्ट उल्लेख गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

११ कात्तिकदेखि नै लागु हुने गरी विभागले सबै होटल, मिठाई पसल र भण्डारलाई यो नियम कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।

विभागले जारी गरेको निर्देशन अनुसार अब तयारी मिठाईमा अनिवार्य पाँच मुख्य विवरण खुलाउनुपर्ने छ । व्यवसायीले बिक्रीका लागि राखेको मिठाईको कुन प्रकारको हो भनेर स्पष्ट नाम खुलाउनुपर्ने छ भने उक्त मिठाई तयार पार्दा प्रयोग भएका मुख्य कच्चापदार्थ (जस्तै : दूध, खुवा, ड्राइफ्रुट, चिनी, बेसन आदि) को सूची पनि उपभोक्ताले देख्ने गरी राख्नुपर्ने छ ।

यसैगरी उपभोक्तालाई झुक्याउन नपाइने गरी मिठाई कुन प्रकारको तेल (भटमास, सनफ्लावर आदि) वा कुन घिउमा तयार पारिएको हो, त्यो पनि स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

यतिमात्र होइन, उक्त मिठाई कहिलेसम्म खाइसक्नुपर्छ वा कति दिनसम्म खान योग्य हुन्छ भन्ने उपभोग गरिसक्नुपर्ने स्पष्ट मिति र उपभोक्ता ठगिनबाट जोगिउन् भनेर प्रतिकिलोको मूल्य पनि अनिवार्य रूपमा लेखेर टाँस्नुपर्ने छ ।

यसका साथै मिठाई उत्पादन गर्दा प्रयोग गरेका कच्चापदार्थ शोकेसमै सबै उपभोक्ताले देख्ने गरी राख्नुपर्ने व्यवस्था पनि मापदण्डमा छ ।

विभागका अनुसार शोकेसमा वा काउन्टरमा टाँसेर मात्रै पुग्दैन, विभागको अनुगमन टोलीले जुनसुकै बेला मिठाईको नमुना लिएर प्रयोगशालामा परीक्षण गर्ने छ ।

परीक्षण गर्दा उल्लेख गरिएका पदार्थ नभए वा अखाद्य रङ, बिग्रेको तेल प्रयोग भएको पाइए कानुन अनुसार व्यवसायीलाई हदैसम्मको कारबाही र अनुज्ञापत्र (लाइसेन्स) खारेजीसम्मको एक्सन लिइने विभागले प्रस्ट पारेको छ  ।

५०० पसल अनुगमन, अटेरीलाई मुद्दा

नयाँ नियम लागु गरेसँगै विभागले देशैभरि अनुगमन तीव्र बनाएको छ । विभागले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार देशभरि ४ सय ९७ मिठाई पसलमा विशेष अनुगमन गरिएको छ । जसमध्ये ४ सय ३३ पसललाई सचेत गराउँदै निर्देशनपत्र काटिएको छ भने २ सय २२ पसलले पूर्णरूपमा सूचना कार्यान्वयन (लेबल राख्ने काम) गरिसकेका छन् । बाँकी पसल सुधारका क्रममा छन् ।

पत्र काटिएका मिठाई पसलमा कोशी प्रदेशमा ८४, मधेस ५६, बागमती ५३, लुम्बिनी १ सय ७५, गण्डकी २६, कर्णाली २४ र सुदूरपश्चिममा १५ छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार अहिले देशभरिका ३० वटा कार्यालयबाट खाद्य निरीक्षक परिचालन गरेर स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागसँगको समन्वयमा अनुगमन भइरहेको छ ।

‘अहिले हामीले मिठाई पसलहरूमा, खासगरी तिहारमा बिक्री वितरण हुने मिठाई प्रयोग बढी हुने हुँदा त्यसमा उपभोक्ता नठगिउन् र स्वस्थ्यकर मिठाई उपलब्ध गराउने उद्देश्यले कात्तिक ११ देखि लागु हुने गरी निर्देशन दिएका थियौं,’ महानिर्देशक कर्णले भने, ‘प्रत्येक मिठाई पसल आफूले बिक्री वितरण गर्ने मिठाईको शोकेसमा, काउन्टरमा उपभोग गर्नुपर्ने मिति, मिठाईको नाम, सम्मिश्रणका नाम, मूल्य र कुन घिउ वा तेलबाट बनेको हो, त्यो अनिवार्य रूपले खुलाउने व्यवस्था गरेका थियौं ।’

महानिर्देशक कर्णका अनुसार देशैभरिबाट आएको रिपोर्टिङ हेर्दा हालसम्म करिब ५ सय हाराहारी मिठाई पसल अनुगमन भएको छ । जसमध्ये आधा पसलले विभागको नयाँ प्रावधान बमोजिमका लेबल देखिने गरी राखेको पाइएको छ ।

‘नयाँ व्यवस्था भएकाले खुला मिठाईमा उत्पादन मिति र उपभोग्य अवधि लेख्ने कुरामा हामीले केही समय दिएका थियौं, अब त्यो कार्यान्वयन भइसकेको छ,’ महानिर्देशक कर्णले भने, ‘अब हामी अर्को चरणमा कार्यान्वयन नगरेका पसलको तथ्यांक लिएर तिनीहरूलाई खाद्य ऐन र उपभोक्ता संरक्षण ऐन बमोजिम मुद्दा दायर गर्ने प्रक्रिया र ठाउँको ठाउँ जरिबाना गर्ने काम यही सातादेखि सुरु गर्दैछौं ।’

विभागको समग्र चाडपर्व लक्षित (मिठाई बाहेक खाद्य, दाना, होटल आदि) १५ देखि ३१ असोजसम्मको अनुगमन तथ्यांक हेर्ने हो भने हालसम्म १ हजार ७ सय ५१ ठाउँमा अनुगमन भइसकेको छ । नियम विपरीत काम गर्नेबाट करिब १० लाख ७६ हजार रुपैयाँभन्दा बढी जरिबाना समेत असुल भइसकेको छ ।

‘पूजा गर्ने घिउ’ को नाममा अखाद्य बोसो व्यापारमा रोक

तिहारमा मिठाईसँगै बत्ती बाल्न र पूजा गर्न घिउ प्रयोग अत्यधिक हुन्छ । तर, बजारमा सस्तो मूल्यमा ‘पूजा गर्ने घिउ’ भन्दै अखाद्य चिल्लो पदार्थ (बोसोजस्तो पदार्थ) बिक्री भइरहेको प्रति पनि विभागले कारबाही अगाडि बढाएको छ ।

‘पूजा घिउको सन्दर्भमा पनि हामीले काम गरिरहेका छौं, पूजा पसलमा घिउ भनेर वास्तविक घिउ नभई बोसोजन्य पदार्थ बिक्री भइरहेको पाइएको थियो,’ महानिर्देशक कर्णले भने, ‘त्यसलाई ठाउँ–ठाउँमा जफत गरेर, फिर्ता गर्ने र धुलाउने (नष्ट गर्ने) काम पनि भएका छन् ।’

उपभोक्ता पनि सचेत बन्नुपर्ने बेला

सरकारले ऐन, नियम र मापदण्ड बनाएर अनुगमन तीव्र पारे पनि बजार पूर्णरूपमा स्वच्छ बनाउन उपभोक्ता आफैं सचेत हुनुपर्ने देखिन्छ ।

तपाईंले किन्दै गरेको मिठाई कुन तेलमा पाकेको हो ? त्यसमा के–के मिसिएको छ ? र, सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो कहिलेसम्म खाइसक्नु पर्ने हो ? यी कुरा शोकेसमा लेखिएको छैन भने त्यस्ता पसलबाट मिठाई नकिन्नु नै बुद्धिमानी हुन्छ ।

यदि कुनै व्यापारीले नियम पालना गरेको छैन भने तुरुन्तै विभाग वा नजिकैको प्रहरी/प्रशासनलाई खबर गर्न सकिन्छ । यो तिहार झिलिमिली मात्र होइन, स्वास्थ्यकर पनि बनोस् । अखाद्य वस्तु मिसावटबाट बचौं र सुरक्षित मिठाईको स्वाद लिँदै उज्यालो पर्व मनाऔं ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?