+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणमा हुनुपर्ने पहलबारे छलफल गर्न उत्सुक छु : मिश्री

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
  • मिश्रीले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा बाढीले नेपालका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गरे ।
  • उनले नेपाल र भारतबीचको विशिष्ट सम्बन्ध स्मरण गर्दै पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी आवश्यक सहयोग र परियोजनाबारे थप छलफल गर्न भारत इच्छुक रहेको बताए ।

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।

‘धेरै समयदेखि बाँकी रहेका विषयहरू समाधान गर्नुका साथै दुवै पक्षबाट अघि बढाइएका महत्वपूर्ण पहलहरूको कार्यान्वयनमा पनि प्रगति भएको छ । यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु । तपाईंले भन्नुभएझैँ, भारत र नेपालबीच विभिन्न दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेको छ । हामी सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएका छौं,’ उनले भने ।

उनले यसअघि पनि यस विषयमा छलफल भएको र नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा अघि बढाउँदा आवश्यक सहयोग र परियोजनाबारे थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे ।

मिश्रीले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै दुवै देश सुखद् र कठिन परिस्थितिमा एकअर्काका साझेदार रहेको बताए । भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि उनले स्मरण गरे ।

उनले दुई देशबीचका विभिन्न महत्वपूर्ण पहल र सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

‘विशेषगरी भोटेकोशीमा आएको बाढी र त्यसपछिको कठिन परिस्थितिमा यो सम्बन्धलाई व्यवहारमा देखाउने अवसर प्राप्त भयो । भारतले सहयोग उपलब्ध गराएको छ । तर उक्त घटनाले नेपालको पूर्वाधारमा ठूलो क्षति र विनाश पुर्‍याएको हामीले बुझेका छौँ । सधैँझैं पुनर्निर्माण तथा पुनःस्थापनाको चरणमा आवश्यक सहयोग वा परियोजनासम्बन्धी प्रस्तावहरूमा विचार गर्न भारत तयार रहेको छ,’ मिश्रीले भने, ‘यस विषयमा प्रारम्भिक छलफल भइसकेको छ । नेपालका नेतृत्वसँग यसबारे थप विवरणसहित छलफल गर्न हामी इच्छुक छौँ । आजको हाम्रो छलफल प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहलहरूमा केन्द्रित रहनेछ । यसका लागि विस्तृत कार्यसूची तयार गरिएको छ । उक्त विषयमा तपाईंसँग छलफल गर्न म उत्सुक छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?