१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ ।
सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत चतरा–मूलघाट–सुभाङखोला सडक योजना धरान सुनसरीले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।
तमोर कोरिडोर सडक योजनाको उक्त खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने ठेक्का एम/एस एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालि, मैतीदेवी, काठमाडौंले पाएको थियो ।
योजनाले आज जारी गरेको सूचनामा पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि निर्माण व्यवसायीले लामो समयदेखि सम्झौताबमोजिम काममा प्रगति नगरेको र काम सम्पन्न गर्नेतर्फ तदारुकता नदेखाएकाले स्पष्टीकरण माग गरेको उल्लेख छ ।
आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२) र ठेक्का सम्झौतामा उल्लिखित व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
निर्धारित १५ दिनभित्र सम्झौताअनुसार काम सम्पन्न नगरेमा वा काममा भएको ढिलाइबारे चित्तबुझ्दो लिखित स्पष्टीकरण नदिएमा ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
योजनाले निर्माण व्यवसायीलाई अन्तिम अवसर दिँदै आधिकारिक प्रतिनिधिमार्फत कार्यालयमा उपस्थित भई काम सम्पन्न गर्नेतर्फको प्रतिबद्धता र ढिलाइ हुनुको कारणसहित लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।
प्रतिक्रिया 4