News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान कार्यकारी निर्देशक पण्डित लक्ष्मण पन्थीले २०८५ को तिहारबारे अहिलेको हल्ला आधिकारिक नभएको बताए ।
- २०८४ को पञ्चाङ्गको नै निर्णय नगरेकाले २०८५ को पर्वमितिबारे २०८४ को पुस वा माघतिर मात्रै स्पष्ट हुने उनले उल्लेख गरे ।
यस वर्षको तिहार नजिकै आइरहेको छ । सामाजिक सञ्जाल तिर हेर्नुभयो भने आउँदै २०८३ को मात्रै होइन २०८५ को तिहारको चर्चा पनि उत्तिकै देख्न सकिन्छ । अझ यो चर्चा दसैं नसकिँदै सुरु भएको थियो ।
त्यो समय लक्ष्मी पूजाको एक महिनापछि मात्रै भाइटीका पर्छ भन्ने विषयले चर्चा पाएको हो ।
दावी गरिएअनुसार २०८५ सालमा कार्तिक २ गते कार्तिक कृष्ण औंसी पर्नेछ । त्यसको भोलिपल्टदेखि मलमास सुरु हुन्छ । त्यसपछि मंसिर १ गतेसम्म मलमास अर्थात अधिक महिना रहन्छ । मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्छ ।
यो कुरा सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् । धेरैले भिडियो नै बनाएर अनौठो तिहार भन्दै प्रचार गरिरहेका छन् ।
२०८५ सालमा साँच्चिकै त्यस्तै संयोग छ त ? यो प्रश्न हामीले नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान कार्यकारी निर्देशक पण्डित आचार्य लक्ष्मण पन्थीलाई सोधेका छौँ ।
तल प्रस्तुत छ उनको भनाइ जस्ताको त्यस्तैः
२०८५ सालमा लक्ष्मी पूजाको एक महिनापछि मात्रै भाइटीका हुन्छ भन्ने हल्ला धेरै चलेको छ । यसबारे हामी जानकार छौँ । अहिलेसम्म २०८४ सालको पञ्चाङको समेत निर्णय भइसकेको छैन । यस्तो अवस्थामा २०८५ को यही नै हुन्छ भनेर भन्न सकिँदैन । त्यो भन्नु उचित पनि हुँदैन ।
विभिन्न सिद्धान्तका आधारमा पञ्चाङ्ग तयार गरिन्छ । अहिलेसम्म हामीले अपनाउँदै आएको सिद्धान्तअनुसार हेर्दा २०८५ सालमा कार्तिक १ गते शुद्ध कार्तिक कृष्ण चतुर्दशी बिहान ११:१७ बजेसम्म रहन्छ । त्यसपछि औंसी सुरु भई २ गते शुद्ध कार्तिक कृष्ण औंसी बिहान ८:५९ सम्म र त्यसपछि शुक्ल प्रतिपदा सुरु हुने भएकोले भोलिपल्ट ३ गतेदेखि अधिक मास (मलमास) सुरु हुन्छ । त्यसपछि मंसिर १ गते साँझ अधिक कार्तिक कृष्ण औंसी साँझ ७:२० बजेसम्म रहन्छ । त्यो समयसम्म अधिक मास नै रहन्छ । मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्ने सम्भावना देखिन्छ।
त्यसैले २०८५ सालमा कार्तिक १ गते शुद्ध कार्तिक कृष्ण औँसी तिथि बिहान ११:१७ बजेपछि कार्तिक २ गते बिहान ८:५९ सम्म पर्ने देखिन्छ । जुन दिन प्रदोष काल(समय)मा औंसी पर्छ त्यो दिन लक्ष्मी पूजा पर्व मनाउने गरिन्छ । यो हेर्दा उक्त समय कार्तिक १ गतेको साँझ लक्ष्मी पूजा मनाउने पर्ने हुन्छ ।
अधिक मासको बीचमा कुनै पर्व पर्दैन् । त्यसपछि एकै पटक मंसिर २ गते शुद्ध कार्तिक शुक्लपक्षको प्रतिपदा पर्ने देखिन्छ ।
तर यी प्रारम्भिक गणनामा अनुमान हुन् । आधिकारिक रूपमा निर्णय नगरिएका कुरा हुन् ।
के हो क्षयमास र अधिकमास ?
सूर्यमास र चन्द्रमास दुवैको संयोजना मिलाउँदा ३ खालको महिना हुन्छ– सामान्य महिना, क्षयमास र अधिकमास ।
एउटा चन्द्रमासभित्र एउटा मात्रै सक्रान्ति परेको छ भने त्यो समान्य महिना हुन्छ । यदि एउटा चन्द्रमासमा दुई वटा सक्रान्ति परेको छ भने त्यो क्षयमास हुन्छ । एक चन्द्रमासभित्र कुनै पनि सक्रान्ति परेन भने त्यो अधिकमास हुन्छ । एक चन्द्रमास भनेको एउटा औँसीदेखि अर्को औंसीसम्मको समय हो अर्थात् चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा एउटा औँसीदेखि अर्को औँसीसम्म लाग्ने समयलाई एक चन्द्रमास भनिन्छ।
२०८५ सालमा कार्तिक र चैत्रमा अधिकमास पर्ने र पुसमा क्षयमास पर्ने सम्भावना देखिन्छ
एउटै चान्द्रमासमा दुईवटा सङ्क्रान्ति परेकाले क्षयमासको अवस्था उत्पन्न हुन्छ । यस्तो क्षयमास सामान्यतया कार्तिक, मङ्सिर वा पुसमा पर्ने गर्छ ।
ध्यान दिनुपर्ने कुरा के हो भने क्षयमास कुन वर्ष पर्छ भनेर केवल वर्ष गनेर वा साधारण पात्रो हेरेर निश्चित गर्न सकिँदैन । सही निर्णयका लागि खगोलीय गणना र सम्बन्धित पञ्चाङ्ग आवश्यक हुन्छ।
हाम्रो सनातन सँस्कृतिमा तिथिलाई आधार मानेर चाडपर्व मनाइने भएकाले बीचमा अधिकमास परेको खण्डमा अधिसमास सकिएपछि नै शुद्ध पक्षको तिथिमा मान्नुपर्ने हुन्छ ।
२०८५ सालमा कार्तिक २ गते औंसी पर्ने देखिन्छ। कार्तिक २ गते औँसी भए पनि बिहान थोरै समयका लागि मात्रै रहने देखिन्छ । त्यो दिन बिहानको साढे ७ घडी १२ पला मात्रै छ । सूर्योदयदेखिको समय गणना हुँदा बिहानको ८ बजेर ५९ मिनेटसम्म रहने देखिन्छ । लक्ष्मी पूजा गर्नका लागि सन्ध्यालीन औंसी हुनुपर्छ । त्यसो हुँदा लक्ष्मी पूजा १ गते नै मनाउनुपर्ने हुन्छ ।
त्यसपछि २ गते बिहान २ बजेपछि नै अधिकमासको प्रतिपदा सुरु हुन्छ । त्यसको एक महिनापछि गाई पूजा, गोवर्धन पूजा, तथा भाइ टीका मनाउनुपर्ने हुन सक्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा भने पहिल्यै मनाउनुपर्ने हुन्छ ।
फेरि यो नेपालको मात्रै कुरा हुँदैन । अन्तर्राष्ट्रिय रुपमा पनि हेर्नुपर्ने हुन्छ । भारतमा पनि ठूलो संख्यामा सनातनी भएकाले उता पनि पञ्चाङ्गको कुरा हुन्छन् । भारतका विभिन्न स्थानहरूमा विभिन्न सिद्धान्तहरूमा आधारित भएर पञ्चाङ्गहरू प्रकाशित हुन्छन् । दृक् सिद्धान्त अनुसार हेर्ने हो भने २०८५ सालमा अधिक मास देखिने सम्भावना छैन।
फेरि यस्तो अवस्थामा पहिलो पटक भएको पनि होइन् । पहिले–पहिले पनि हुन्थ्यो । २०७७ सालमा श्राद्ध पक्ष सकिएपछि भोलिपल्टबाट अधिकमास सुरु भएर एक महिनापछि मात्रै घटस्थापना परेको थियो । सामान्य अवस्थामा हो भने श्राद्ध पक्ष सकिएको भोलिपल्ट नै घटस्थापना पर्ने हो । त्यस पहिले २०३९ सालमा पनि यस्तै भएको देखिन्छ ।
२०८५ सालको पात्रोको निर्णय कहिले हुन्छ ?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हालसम्म २०८४ सालको पात्रोको निर्णय अहिलेसम्म गरेको अवस्था छैन । अहिलेसम्मको अभ्यास हेर्ने हो भने २०८५ सालको पञ्चाङ्ग (पात्रो)को निर्णय छिटोमा २०८४ को पुस, माघतिर मात्रै हुन्छ । त्यसपछि मात्रै कुन चाडपर्व कहिले पर्ने भन्ने स्पष्ट हुन्छ ।
जे भए पनि अहिलेलाई यति भनौ– सामाजिक सञ्जालमा यसबारे २ वर्षअगाडि नै यही हो भनेर ठोकुवा गर्दै हल्ला फैलाउनु त्यति उपयुक्त हुँदैन । त्यो आधिकारिक कुरा पनि होइन ।
प्रतिक्रिया 4