+
+
Shares

रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूका लागि करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्रेट्सले शानदार जित निकाले।
  • टेक्ससमा डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोले रिपब्लिकन केन पाक्सटनलाई पराजित गर्दै अमेरिकी सिनेटको सिट जिते।
  • मस्कको खर्च र रिपब्लिकन हारपछि स्पेसएक्समाथि सरकारी ठेक्का, डेटा सेन्टर र एआई नियमनबारे छानबिनको सम्भावना बढेको छ।

१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड डलर खर्च गरे। तर, यो लगानी डेमोक्र्याट्सहरूलाई शानदार जित हासिल गर्नबाट रोक्न पर्याप्त भएन।

यस चुनावका सबैभन्दा सनसनीपूर्ण जितमध्ये एक डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोको पक्षमा गयो, जसले टेक्ससबाट अमेरिकी सिनेटको सिटमा रिपब्लिकन उम्मेदवार केन पाक्सटनलाई पराजित गरे।

बीबीसीको चुनावी आर्थिक डाटा विश्लेषणअनुसार मस्कले पाक्सटनको समर्थनमा कम्तीमा ४५ मिलियन डलर खर्च गरेका थिए।

मस्कले एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोता लगायतका अन्य क्षेत्रका चुनावी रेसमा पनि करोडौँ डलर खर्च गरेका थिए। रेकर्डहरूका अनुसार मस्कको यो खर्च सोमबारसम्म पनि जारी थियो।

मंगलबार रातिसम्म मस्कले हार स्वीकार गरेको सङ्केत दिए। उनले एक्समा ठट्टा गर्दै आफ्ना ‘चुनावमा हस्तक्षेप गर्ने अन्तरिक्ष लेजरहरूले काम गरेनन्’ भनेर लेखे।

यस साता धेरै रिपब्लिकन सिटहरूको हारले मस्क र उनका व्यापारिक संस्थाहरूका लागि गम्भीर दूरगामी परिणाम ल्याउन सक्छ। ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएयता स्पेसएक्सले नयाँ सरकारी ठेक्काहरूबाट अनुमानित १० अर्ब डलर प्राप्त गरेको छ।

तर, धेरै डेमोक्रेटिक सांसदहरूले सरकार र राष्ट्रिय सुरक्षामा यस कम्पनीको व्यापक र बढ्दो भूमिकामाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

स्पेसएक्सको ठूला डेटा सेन्टरहरूको भविष्यको विकास पनि नयाँ सम्भावित कठिनाइहरूको सामना गरिरहेको छ— अन्य प्रविधि कम्पनीहरूका डेटा सेन्टरको विकासजस्तै। उदाहरणका लागि स्पेसएक्सका डेटा सेन्टर सञ्चालनमा रहेका जर्जियामा हालै निर्वाचित डेमोक्रेटिक गभर्नरले यी विशाल भवनहरूको तीव्र वृद्धिलाई सीमित गर्ने तथा प्रविधि कम्पनीहरूले तिनलाई बनाउन पाउने भारी कर छुटलाई घटाउने मुद्दामा चुनाव जितेका थिए।

अन्य थुप्रै राजनीतिज्ञहरूले पनि डेटा सेन्टरहरूलाई सीमित गर्ने एजेन्डा उठाएका थिए र मंगलबार यस्तै विकासलाई रोक्ने दर्जनौँ राज्यस्तरीय उपायहरू पारित भए।

डेटा सेन्टरहरू कम्प्युटिङ हार्डवेयरको चाङ राख्ने विशाल भवनहरू हुन्। प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरूले च्याटजीपीटी, क्लड, मस्कको एक्स र उनको एआई कम्पनी एक्सएआई जस्ता अनलाइन प्लेटफर्महरू सञ्चालन गर्न यी सेन्टरहरूको प्रयोग गर्छन्।

मंगलबार मस्कले एक्समा पोष्ट गर्दै अन्तरिक्षमै डेटा सेन्टरहरू बनाउने आफ्नो पुरानो विचार ‘अहिले निकै आकर्षक देखिएको’ बताएका छन्।

डेमोक्र्याट्सहरू सत्तामा आएपछि एआईमा संलग्न प्रविधि कम्पनीहरूले कडा सरकारी छानबिन र सम्भावित नियमनको सामना गर्नुपर्ने हुन सक्छ, यद्यपि कुनै पनि कानुन बनाउन ट्रम्पको स्वीकृति भने आवश्यक हुनेछ।

एजे बेलका लगानी समाधान प्रमुख जेम्स फ्लिन्टोफ्टले रिपब्लिकन उम्मेदवारहरूका लागि मस्कको असफल खर्च र डेमोक्र्याट्सको जितको दायरालाई औँल्याउँदै यसले ‘प्रविधि कम्पनीहरूले ठूलो नियमनको सामना गर्नुपर्ने हो कि होइन भनेर लगानीकर्ताहरूले मूल्याङ्कन गर्ने अनिश्चितताको अवधि’ ल्याएको बताएका छन्।

बुधबार बिहान समग्रमा प्रविधि सेयरहरू माथि उक्लिएका थिए। तर, मस्कका टेस्ला र स्पेसएक्सका सेयरहरू क्रमशः ४.९ प्रतिशत र ३.४ प्रतिशतले घटेका थिए।

बुधबारसम्ममा मस्कले राजनीतिबारे एक्समा पोस्ट गर्न बन्द गरिसकेका थिए र त्यसको सट्टा एक्सएआईद्वारा उत्पादित एआई च्याटबट ग्रोकबोटको प्रशंसामा पोस्ट गरिरहेका थिए।

यो २०२५ को निर्वाचनको ठीक विपरीत थियो, जतिबेला मस्कले राजनीतिबारे दिनमा सयौँ पटकसम्म एक्समा पोस्ट गर्थे।

उनले गत सातादेखि आफ्नो एक्स प्रोफाइलमा पिन गरिएको त्यो पोस्ट पनि हटाए जसमा डेमोक्रेटिक राजनीतिज्ञहरूले धेरै मिडटर्म चुनाव जितेकोमा आफ्नो ‘चिन्ता’ व्यक्त गरेका थिए।

उनका ती चिन्ताहरूमा अमेरिकाले थप आप्रवासीहरूलाई स्वागत गर्न सक्ने, वासिङ्टन डीसी र पोर्टो रिकोलाई छुट्टै राज्य बनाउन सक्ने र सर्वोच्च अदालतका न्यायधिशहरूको सङ्ख्या विस्तार गर्न सक्ने जस्ता विषयहरू समावेश थिए।

मस्कले उनका २४ करोड १० लाख एक्स फलोअर्सलाई ‘आज रातो (रिपब्लिकन) मा भोट दिनुहोस्!’ भनी लेखेको अर्को पोस्ट पनि बुधवार उनको प्रोफाइलबाट हटाइएको देखियो।

बीबीसीले मस्कको खर्च र पोस्टहरूप्रतिको प्रतिक्रियाका लागि स्पेसएक्सलाई सम्पर्क गरेको जनाएको छ ।

मस्कले अमेरिकीका धेरै राज्यहरूमा रिपब्लिकन उम्मेदवारहरूलाई जिताउन करोडौँ डलर खर्च गरे पनि उनको राजनीतिक ध्यान मुख्यतया टेक्ससमा केन्द्रित रहेको देखिन्थ्यो। हालैका वर्षहरूमा मस्कले यस राज्यलाई टेस्ला र स्पेसएक्सको कर्पोरेट मुख्यालय बनाएका छन्, यद्यपि स्थापना भएका क्यालिफोर्नियामा पनि यी दुवै कम्पनीका ठूला गतिविधिहरू अझै कायम छन्।

मस्कले अक्टोबरमा एक्समा पोष्ट गरेका थिए, ‘टालारिकोमा केही गम्भीर गडबडी छ।’

यसको जवाफमा टालारिकोले पोस्ट गरे, ‘एउटा राजनीतिक प्रणालीमा गम्भीर गडबडी छ जसले एक जना ट्रिलियनियरलाई आफ्नो व्यक्तिगत अमेरिकी सिनेटर किन्न अनुमति दिन्छ।’

अमेरिकाका सबै अर्बपतिहरूले मस्कको जस्तो रिपब्लिकनप्रतिको रुचि बारे आफ्ना धारणा सार्वजनिक गरेनन् । लिंक्डइनका संस्थापक तथा प्रविधि अर्बपति र डेमोक्र्याट्सका प्रमुख दाता रिड हफम्यानले मंगलबारको चुनावी नतिजालाई ‘हाम्रो अपेक्षाभन्दा धेरै माथि उडेको’ घटना भन्दै स्वागत गरे।

हफम्यानले एक्स र लिंक्डइनमा लेखे, ‘यी चुनावहरू ट्रम्प र उनका कृपापात्रहरू विरुद्धको ठूलो लहर थियो। मस्क जस्ता मानिसहरू अधिनायकवादी मुर्खहरूलाई सत्तामा राख्न अनियन्त्रित रकम खर्च गरिरहँदा, अमेरिकाका आदर्शहरूमा विश्वास गर्ने हामीहरू पछि हट्न सक्दैनौँ।’

( बीबीसीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?