News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार खर्च जुटाउन राउटे समुदायका पाँच जना सदस्य आफ्नै काठका सामग्री बिक्री गर्दै १९ कात्तिकमा पाल्पा आइपुगेका छन्।
- सुर्खेतमा बसोबास गर्ने राउटेले तिहार र दसैँ मनाउन सहयोग सङ्कलन गर्ने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए।
- जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको राउटे समुदायले जनाएको छ।
१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो ।
कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन् ।
गाडीमा चढेर पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो । पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए।
“अब तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ,” शाहीले भने, “हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ ।”
उनका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो । अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको उनीहरूको गुनासो छ।
“पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गर्थ्यौं र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,” उनले भने।
दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशासहित पाल्पा आएको सुनाए।
उनीहरुले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीयवासी तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । परम्परागत सीपबाट निर्माण गरिएका काठका सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन् ।
आधुनिक जीवनशैली र बजारमा विभिन्न प्रकारका औद्योगिक सामग्रीको प्रयोग बढ्दै गएको अवस्थामा राउटे समुदायले भने पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीपलाई निरन्तरता दिँदै आएका छन् । उनीहरू प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च सङ्कलन गर्ने गरेका छन् ।
कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सामग्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु तस्वीर खिचेको पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घसंस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका हुन् ।
प्रतिक्रिया 4