+
+
Shares

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धितोपत्र बोर्डले नेपालको सेयर बजारमा अन्तरदिवसीय कारोबार सञ्चालनका लागि नियमावलीको मस्यौदा सार्वजनिक गरी मंसिर ४ गतेभित्र राय सुझाव मागेको छ।
  • मस्यौदाअनुसार इन्ट्राडे कारोबारका लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डको स्वीकृति लिनुपर्नेछ र मापदण्ड पुगेका सेयर मात्र योग्य हुनेछन्।
  • ब्रोकर कम्पनीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता र उपयुक्तता मूल्याङ्कन गरेर मात्र इन्ट्राडे सुविधा दिनुपर्ने व्यवस्था मस्यौदामा छ।
  • मस्यौदामा खुला अवस्था सोही दिन बन्द गर्नुपर्ने, नबन्द भए स्वतः बन्द हुने, मार्जिन तथा कारोबार सीमा तोकिने र शिक्षा कार्यक्रम चलाइने उल्लेख छ।

१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरिएको छ ।

बिहान सेयर खरिद गरेर सोही दिन बजार बन्द हुनुअघि बिक्री गर्नु वा सेयर बिक्री गरेर सोही दिन पुनः खरिद गर्नु इन्ट्राडे कारोबार हो ।

मस्यौदाअनुसार इन्ट्राडे कारोबारका लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने छ । मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र (सेयर) मात्र यस्तो कारोबारका लागि योग्य हुनेछन् ।

ब्रोकर कम्पनीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा उपयुक्तता मूल्याङ्कन गरेर मात्र इन्ट्राडे कारोबारको सुविधा उपलब्ध गराउनुपर्नेछ । ब्रोकर कम्पनीले यस्तो कारोबार सञ्चालन गर्नु अघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक शर्तहरूको परीक्षण गर्नुपर्नेछ ।

ब्रोकर कम्पनीले इन्ट्राडे कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समय जोखिम नियन्त्रण प्रणाली कायम गर्नुपर्नेछ । लगानीकर्ताले इन्ट्राडे कारोबार अन्तर्गत धितोपत्र खरिदरबिक्री गरी कायम भएको खुला अवस्था (ओपन पोजिसन) सोही दिन धितोपत्र बिक्री र खरिद गरी खुला अवस्था बन्द गर्नुपर्नेछ । तोकिएको समयभित्र खुला अबस्था बन्द नभएमा स्वतः बन्द हुने व्यवस्था मिलाइने मस्यौदामा उल्लेख छ ।

इन्ट्राडे कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिए बमोजिमको आवश्यक मार्जिन कायम राख्नुपर्ने, कारोबारको उतारचढाव अनुसार भेरिएसन मार्जिन तोक्न सकिनेछ ।
प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा सम्पूर्ण बजारका लागि अधिकतम कारोबार सीमा निर्धारण गरिने मस्यौदामा उल्लेख छ ।

नियमावली मस्यौदाअनुसार प्रत्येक धितोपत्र दलाल व्यवसायीले जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली तथा गुनासो व्यवस्थापन संयन्त्रको व्यबस्था गर्नुपर्नेछ।

बोर्ड, धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार चरणबद्ध रूपमा लागु गर्न सक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?