News Summary
Generated by OK AI. Editorially reviewed.- भरतपुर महानगरपालिकाका छ वटा चोकमा जडान गरिएका ट्राफिकलाइटको प्रयोगबारे यात्रु र सवारी चालकलाई सचेतना कार्यक्रम सुरु गरिएको छ।
- चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइटको परीक्षण सञ्चालन गरी भरतपुर महानगरले दर्शन मिडियासँगको समन्वयमा सचेतना अभियान अघि बढाएको छ।
- जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकको लापरबाहीले दुर्घटना बढ्ने भन्दै समुदायस्तरबाट सहजीकरण आवश्यक रहेको जनाएको छ।
१९ कात्तिक, चितवन। भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम गरिएको हो ।
भरतपुर महानगरपालिकाले ट्राफिकलाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ । “महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिकलाइट सञ्चालन गरिसकिएको छैन । प्रभावकारी रूपमा सञ्चालन हुँदै गर्दा कसरी प्रयोग गर्ने भन्ने विषयमा सचेतना जगाउन सुरु गरिएको हो । महानगरले दर्शन मिडियासँगको समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो,” महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले भने।
उनका अनुसार ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक शिक्षा लिएका विद्यार्थीहरूको सक्रियतामा कार्यक्रमलाई अघि बढाइएको हो । वातावरण शाखाका इन्जिनियर घिमिरेले अहिले हुने गरेका सवारी दुर्घटना कम गर्न ट्राफिकलाइट जडान सकेर सचेतना जगाउन सुरु गरिएको बताए । ट्राफिक व्यवस्थापन र पार्किङका क्षेत्रमा देखिएको समस्या समाधानका लागि एकल प्रयासले सम्भव नहुने भन्दै स्थानीयस्तरमा टोल विकास संस्थाहरूको सक्रियता पनि रहेको उनले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिकलाइट प्रयोगले मात्रै दुर्घटनामा कमी नआउने बताए । सवारी चालकको लापरबाहीले दुर्घटना बढ्ने भन्दै उनले समुदायस्तरबाटै यसलाई सहजीकरण गर्न आवश्यक रहेको बताए। सवारी चालकको लापरबाही, हेलचेक्र्याइँलगायत कारणले दुर्घटना बढ्ने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए।
भरतपुर महानगर-१० का वडाध्यक्ष परमेश्वर खनालले ट्राफिकलाइटले सवारी दुर्घटनासँगै सवारीको गतिलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने बताए। महानगरका छवटा चोकमा ट्राफिकलाइट जडान गरेर अहिले सडक सुरक्षाका कामहरू गरिएको उनले जानकारी दिए।
महानगरका पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक र मालपोतचोकमा ट्राफिकलाइट जडान गरिएको छ । सडक विभागको ट्राफिक महाशाखाले ती ठाउँमा लाइट जडान गरेको हो । दर्शन मिडियाका अध्यक्ष प्रकाशमणि ज्ञवालीले ट्राफिकलाइट सञ्चालनमा आएसँगै यात्रु र सवारी चालकलाई सहजीकरण गर्न कार्यक्रम थालिएको बताए।
प्रतिक्रिया 4