News Summary
Generated by OK AI. Editorially reviewed.- तिहारमा पटाकाको आवाजले कुकुर, बिरालो र सडकका जनावर डराउने भएकाले सम्भव भएसम्म पटाका नपड्काउन सुझाव दिइएको छ।
- पटाका पड्किने समयमा घरपालुवा जनावरलाई घरभित्रै सुरक्षित कोठामा राख्न, झ्यालढोका बन्द गर्न र उनीहरूको छेउमै बस्न भनिएको छ।
- दियो, मैनबत्ती, बिजुलीका तार, मिठाई र चकलेट जनावरका लागि जोखिमपूर्ण हुने भएकाले तिनलाई टाढा राख्न र असामान्य लक्षण देखिए पशु चिकित्सककहाँ लैजान भनिएको छ।
तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, फूलमाला, मिठाई र पटाकाको सम्झना आउँछ । घरघरमा दीपावलीको तयारी हुन्छ । साँझ परेपछि आकाश रंगीन बन्छ, पटाकाको आवाजले वातावरण गुञ्जायमान हुन्छ । मानिसहरू यही आवाज र उज्यालोमा रमाइरहेका हुन्छन् ।
तर, यही उत्सव कसैका लागि खुसी होइन, त्रासको कारण बनिरहेको हुन्छ ।
घरको कुनै कुनामा कुकुर डरले थरथर काँपिरहेको हुन सक्छ । कुनै बिरालो खाटमुनि लुकेर बसिरहेको हुन सक्छ । बाहिर सडकमा बस्ने जनावरहरू पटाकाको आवाज सुनेर ज्यान जोगाउन यताउता भागिरहेका हुन सक्छन् ।
हामीलाई केही क्षणको मनोरञ्जन दिने पटाकाको आवाज उनीहरूका लागि कति भयावह हुन्छ भन्ने कुरा भने धेरैले सोच्दैनन् ।
मानिसको तुलनामा कुकुर र बिरालोको सुन्ने क्षमता बढी संवेदनशील हुन्छ । त्यसैले, मानिसलाई सामान्य लाग्ने आवाज पनि उनीहरूका लागि असह्य हुन सक्छ ।
अझ ठूलो आवाजमा पड्किने पटाकाले उनीहरूलाई झस्काउने मात्र होइन, गम्भीर तनाव र डरसमेत पैदा गर्न सक्छ ।
अमेरिकन भेटेरिनरी मेडिकल एसोसिएसनका अनुसार आतिशबाजीको चर्को आवाजले घरपालुवा जनावरमा तनाव र डर निम्त्याउन सक्छ । कतिपय अवस्थामा यसको असर उनीहरूको व्यवहार र स्वास्थ्यमा समेत देखिन सक्छ ।
तिहारमा मानिसले खुसी मनाइरहँदा घरपालुवा जनावरलाई भने सुरक्षित महसुस गराउनु आवश्यक छ । केही सामान्य सावधानी अपनाउने हो भने उनीहरूलाई डर, तनाव र सम्भावित दुर्घटनाबाट जोगाउन सकिन्छ ।
पटाकाको आवाजले डराउँदा कस्ता संकेत देखिन्छन् ?
कुकुर वा बिरालोले आफू डराएको कुरा मानिसले जस्तो शब्दमा व्यक्त गर्न सक्दैनन् । तर, उनीहरूको व्यवहारले डर र असहजता देखाइरहेको हुन्छ ।
पटाकाको आवाज सुन्नासाथ कुकुर काम्न थाल्ने, पुच्छर खुट्टामुनि लुकाउने, कान पछाडि फर्काउने वा सुरक्षित ठाउँ खोज्दै लुक्ने गर्न सक्छन् ।
कतिपय जनावर असामान्य रूपमा भुक्ने, कराउने, यताउता दौडिने वा मालिकको नजिकै टाँसिएर बस्ने गर्छन् । त्यस्तै, बिरालो खाटमुनि, दराज वा अँध्यारो कुनामा लुक्न सक्छ ।
खाना खान छाड्ने, असामान्य रूपमा सास फेर्ने, शरीर खुम्च्याएर बस्ने वा भाग्न खोज्ने जस्ता व्यवहार पनि डरका संकेत हुन सक्छन् । यस्ता संकेत देखिएमा जनावरलाई जथाभावी तान्ने, कराउने वा जबर्जस्ती बाहिर निकाल्ने गर्नु हुँदैन ।
तिहारमा घरपालुवा जनावरलाई कसरी सुरक्षित राख्ने ?
पटाका पड्काउनु कुनै पनि दृष्टिकोणबाट उचित होइन । यसको आवाज र धुवाँले मानिसलाई मात्र होइन, घरपालुवा तथा अन्य जनावरलाई समेत त्रसित र असहज बनाउन सक्छ ।
त्यसैले, तिहारमा सकेसम्म पटाका नपड्काउनु नै सबैभन्दा सुरक्षित उपाय हो ।
तर, वरपरका मानिसले पटाका पड्काउने अवस्था छ भने घरपालुवा जनावरलाई त्यसबाट जोगाउन केही सावधानी अपनाउन सकिन्छ ।
पटाका पड्किने समयमा उनीहरूलाई घरभित्रै सुरक्षित ठाउँमा राख्नु सबैभन्दा राम्रो हुन्छ । झ्यालढोका बन्द गर्दा बाहिरको चर्को आवाज केही कम हुन सक्छ । तर, कोठामा हावा आवतजावत हुने व्यवस्था भने मिलाउनुपर्छ ।
उनीहरूलाई पहिलेदेखि सहज महसुस हुने कोठा वा कुनामा बस्ने व्यवस्था मिलाउन सकिन्छ । त्यहाँ उनीहरूको ओछ्यान, खेलौना, पानी र आवश्यक खानेकुरा राखिदिनुपर्छ ।
झ्यालढोका बन्द गर्ने, पर्दा लगाउने र हल्का आवाजमा टेलिभिजन वा संगीत बजाउने गर्दा बाहिरको चर्को आवाजबाट उनीहरूको ध्यान केही हटाउन सकिन्छ ।
डराएका बेला जनावरलाई एक्लै छाड्नु हुँदैन । उनीहरू नजिकै बसेर सुरक्षित महसुस गराउन सकिन्छ । तर, डराएको अवस्थामा जबर्जस्ती काखमा लिने वा समातेर राख्ने गर्नु हुँदैन ।
उनीहरूलाई आफू सहज महसुस गर्ने ठाउँमा बस्न दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, पटाकाको आवाजबाट डराएका जनावरलाई गाली गर्ने, सजाय दिने वा उनीहरूको डरलाई बेवास्ता गर्ने गर्नु हुँदैन ।
दियो, मैनबत्ती र झिलिमिली बत्ती पनि जोखिमपूर्ण
तिहारमा घर सजाउन बालिने दियो, मैनबत्ती र विद्युतीय बत्तीले पनि घरपालुवा जनावरलाई जोखिममा पार्न सक्छन् ।
उत्सुकतावश कुकुर वा बिरालो दियो र मैनबत्तीनजिक जान सक्छन् । उनीहरूले पुच्छर वा शरीरले दियो ढाल्न सक्छन् । यसबाट शरीरको छाला पोलिने, रौँ डढ्ने वा आगलागीसमेत हुन सक्छ ।
त्यस्तै, तातो तेल वा मैन मुखमा परेमा पोल्ने हुन सक्छ । त्यसैले, दियो र मैनबत्ती जनावरको पहुँचभन्दा टाढा राख्नुपर्छ ।
घर सजाउन प्रयोग गरिने बिजुलीका तार र झिलिमिली बत्ती पनि सुरक्षित ठाउँमा राख्नुपर्छ । तार चपाउँदा करेन्ट लाग्न सक्छ ।
बत्ती तान्दा सजावटका सामान खसेर चोट लाग्न सक्छ । साना सजावटी वस्तु निल्दा घाँटीमा अड्किने वा श्वासप्रश्वासमा समस्या हुन सक्छ ।
तिहारका मिठाई र चकलेट जनावरलाई खुवाउनु हुँदैन
तिहारमा घरमा विभिन्न प्रकारका मिठाई, सेलरोटी र अन्य परिकार पाक्छन् । पाहुनालाई सत्कार गर्न बनाइएका यस्ता खानेकुरा घरपालुवा जनावरलाई पनि चखाउने चलन कतिपय घरमा हुन्छ ।
तर, मानिसले खाने सबै खानेकुरा जनावरका लागि सुरक्षित हुँदैनन् ।
विशेषगरी चकलेट कुकुरका लागि विषाक्त हुन सक्छ । त्यस्तै, धेरै चिनी, बोसो वा कृत्रिम गुलियो पदार्थ भएका खानेकुराले पनि उनीहरूको स्वास्थ्यमा समस्या निम्त्याउन सक्छन् ।
कहिले तुरुन्त पशु चिकित्सककहाँ लैजाने ?
पटाकाको आवाजले डराएको जनावर केही समयपछि सामान्य अवस्थामा फर्कन सक्छ । तर, सबै अवस्थामा यस्तो हुन्छ भन्ने छैन ।
अत्यधिक सास फेर्नु, लगातार काँपिरहनु, बेहोस हुनु, चोट लाग्नु, शरीर पोलिनु, असामान्य रूपमा लडखडाउनु वा विषाक्त खानेकुरा खाएको शंका हुनु गम्भीर अवस्थाका संकेत हुन सक्छन् ।
यस्तो अवस्थामा घरमै उपचार गर्ने वा निको हुने प्रतीक्षा गर्नेभन्दा तुरुन्त पशु चिकित्सकको सल्लाह लिनुपर्छ ।
तिहारमा कुकुरलाई घुमाउन लैजाँदा ध्यान दिनुपर्ने कुरा
तिहारका बेला पटाका पड्किने र मानिसको चहलपहल बढ्ने भएकाले कुकुरलाई घुमाउन लैजाँदा पनि सावधानी अपनाउनुपर्छ ।
सम्भव भएसम्म बिहानको समयमा घुमाउन लैजानु राम्रो हुन्छ । बाहिर लैजाँदा पट्टामा बाँधेर राख्नुपर्छ । पटाका पड्काइरहेको ठाउँ, भीडभाड र चर्को आवाज हुने क्षेत्रबाट टाढा राख्नुपर्छ ।
पटाकाका बाँकी टुक्रा, बारुद र अन्य रासायनिक पदार्थ सुँघ्न वा खान नदिनुहोस् । कुकुरको घाँटीमा पहिचान खुल्ने ट्याग राख्दा हराएको अवस्थामा फेला पार्न सजिलो हुन्छ ।
पटाकाको आवाज सुनेर कुकुर डराउन थालेमा जबर्जस्ती हिँडाउनु हुँदैन । सुरक्षित तरिकाले घर फर्काउनुपर्छ ।
सडकका जनावरलाई पनि नबिर्सौं
हामीले आफ्ना घरपालुवा जनावरलाई सुरक्षित ठाउँमा राख्न सक्छौं । तर, सडकमा बस्ने कुकुर, बिरालो र चराचुरुंगीलाई पटाकाको आवाजबाट बच्ने सुरक्षित ठाउँ कहाँ हुन्छ ?
पटाकाको चर्को आवाजले उनीहरू पनि उत्तिकै डराउन सक्छन् । डराएर सडकमा दौडिँदा सवारीसाधनको ठक्करबाट घाइते हुने वा हराउने जोखिमसमेत हुन्छ ।
त्यसैले, सडकका जनावर नजिक पटाका पड्काउनु हुँदैन । उनीहरूलाई जिस्क्याउने, तर्साउने वा पटाका फाल्ने काम गर्नु हुँदैन ।
घाइते वा अत्यधिक डराएको अवस्थामा भेटिएमा सम्भव भएसम्म सुरक्षित ठाउँमा राखेर उद्धार तथा उपचारका लागि सहयोग गर्नुपर्छ ।
पटाका पड्काइसकेपछि त्यसका अवशेष पनि सफा गर्नुपर्छ । नत्र, जनावरले ती टुक्रा वा रासायनिक पदार्थ खाएर बिरामी पर्न सक्छन् ।
प्रतिक्रिया 4