+
+
Shares

सुनसरीलाई नेपथ्यको सामाजिक सद्‍भावको सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले इटहरीमा पहिलो कन्सर्ट गर्दै अमृत गुरुङले जातजाति र धर्मबीच भेदभावबाट मुक्त भएर सबै नेपाली भएर बाँच्न आह्वान गरे।
  • टिकट पहिल्यै बिक्री भएपछि आयोजकले प्यारापिटमा दर्शकका लागि व्यवस्था मिलाउनु परेको थियो।

काठमाडौं । ‘जोगले हुन्छ’ गीत सुनेर रमाएको दर्शकहरू एक स्वरमा ‘अमृत’ भन्दै चिच्याइरहेका थिए। त्यही बेला मुख्य प्रस्तोता एवं नेपथ्यका अगुवा अमृत गुरुङले आफ्नो भनाइ राख्न चाहे ।

‘दर्शकवृन्द, नेपालमा हामीले धेरै किसिमका लडाइँ देख्यौँ, अब त्यस्तो देख्नु नपरोस्,’ उनले भने, ‘जसरी यो मञ्च र तल मैदानमा पनि विभिन्न जातजाति, धर्म, सम्प्रदायका मानिसहरू एकसाथ बसेर रमाइरहेका छौँ, त्यसैगरी विविधताले भरिएको हाम्रो देश नेपाललाई पनि भेदभावबाट मुक्त बनाऔँ र सबै एकापसमा रमाएर बाँचौँ है… ।’

प्रत्येकले सबैभन्दा पहिले आफूलाई नेपाली ठान्न उनले आह्वान गरे । प्रत्युत्तरमा दर्शकहरू मध्ये कसैले ताली बजाएर त कोहीले मुठी उचालेर समर्थन जनाए ।

यस्तो प्रतिक्रियाले अमृत गदगद भए अनि भने, ‘ल आउनुस्, अब म तपाईंहरूलाई मिठो झ्याउरे सुनाउँछु ।’ त्यसपछि अर्को लोकप्रिय गीत ‘मै नाचेँ छमछमी’ को तीव्र तालमा सिङ्गो माहोललाई डुबाए ।

कन्सर्टलगत्तै दर्शक ज्योति पोखरेलले फेसबुकमा लेखेकी छिन्, ‘नेपथ्यको कन्सर्ट हेरियो । गीत मात्र होइन, विचारसमेत उत्कृष्ट लाग्यो ।’

यो त्यही सुनसरी जिल्ला थियो, जहाँ केही महिनाअघि मात्र धार्मिक विवाद भड्किँदा केहीको मृत्यु भएको थियो भने त्यसको बाछिटास्वरूप थप केही जिल्लामा अशान्ति मच्चिएको थियो ।

इटहरीमा नेपथ्य प्रस्तुत हुँदै गर्दा मैदानका लागि छुट्ट्याइएको टिकट पहिल्यै बिक्री भइसकेपछि अन्तिम समयमा आयोजकले प्यारापिटमा दर्शकका लागि व्यवस्था मिलाउनुपरेको थियो ।

त्यसको केही घण्टाअघि मात्र नेपथ्यसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भेटघाट गरेका थिए । ‘आज बिहान संक्षीप्त र आत्मीय चियाभेटका क्रममा अनौपचारिक रूपमै भए पनि अमृत गुरुङ तथा नेपथ्य ब्यान्डलाई कोशी प्रदेशका तर्फबाट स्वागत तथा सम्मान व्यक्त गर्न पाउँदा खुसी लागेको छ,’ फेसबुकमा मुख्यमन्त्री कार्कीले लेखेका छन् ।

सिक्किमको पाल्जोर रङ्गशालामा भरिभराउ दर्शकलाई मनोरञ्जन प्रदान गरेर आएको नेपथ्यले इटहरीमा पनि उत्तिकै भव्य प्रस्तुति दिएको छ । दर्शकबाट माया पनि उत्तिकै पाएको छ ।

इटहरीमा नेपथ्यको यो पहिलो कन्सर्ट थियो । कन्सर्ट मैदानमा टाढाका दर्शक पनि भेटिन्थे । तिनैमध्ये एक थिए धनकुटादेखि आएका कृष्ण भुजेल ।

‘धनकुटाको त्रिवेणी स्कुलमा कक्षा ६ पढ्दै गर्दा नेपथ्य हेरेको अनुभव थियो’ ब्यान्डले सरकारी स्कुलहरूसँग मिलेर ‘शान्तिका लागि शिक्षा’ अभियान चलाउँदाको २२ वर्ष पुरानो स्कुले सम्झना खोतल्दै उनले भने, ‘यस अवधिमा ब्यान्डको प्रस्तुतिमा व्यापक सुधार महसुस गरेँ ।’

नेपथ्यको कन्सर्ट हेर्दा गीत-सङ्गीतको मनोरञ्जनसँगै देशलाई माया गर्नुपर्छ र अझ बढी योगदान दिनुपर्छ भन्ने सन्देश प्राप्त हुने गरेको स्थानीय कस्तुरी कलेजका विद्यार्थी सजल भट्टराईले बताए ।

नेपथ्यलाई इटहरीमा ल्याउने लामो समयदेखिको सपना पूरा भएको भन्दै स्थानीय आयोजक ‘पूर्वाञ्चल इभेन्ट्स’ ले खुसी प्रकट गरेको छ । ‘जति दर्शक आउलान् भनेर कल्पना गरेका थियौँ, त्यसै अनुसारको उपस्थिति भइदियो,’ आयोजक राजकुमार कार्कीले भने, ‘कन्सर्ट हेरेर फर्कँदै गरेका दर्शकको अनुहारमा सन्तुष्टिको लहर देखेर झन् बढी खुसी भएका छौँ ।’

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?