News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ गीत ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक भएको छ।
काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।
गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । बाबुल गिरीको संगीत रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीले स्वर दिएका छन् ।
लोकलयको डान्डिङ नम्बरमा एक युवक र युवतीले गरेको दोहोरी छ ।
गीतमा प्रयोग भएका मौलिक शब्दले समग्र गीतलाई बलियो बनाएको छ । टिपिकल शब्द छनोट र प्रयोग छ । बलियो हुकलाइने सिनेमाको यो गीतमा हिट हुने क्षमता प्रदान गरेको छ ।
सवाल–जवाफ समेत रहेको गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो गीतमा छ।
गीतले सिनेमाका क्यारेक्टरको अन्तरसम्बन्ध उजागर गरेको छ । चलचित्रका पात्रहरूको पारिवारिक सम्बन्धलाई खोलेको छ । यसक्रममा सिनेमाका अधिकांश पात्र भिडियोमा देखिन्छन् ।
गीतको अन्तिमको दृश्यले थ्रिल दिने प्रयास गरेको छ । एक्सासि घट्ने घटनाले कुन रुप लिन्छ भन्ने कौतुहलता गीत र यसको भिडियोले सिर्जना गरेको छ । भिडियोमा कोरियोग्राफी गम्भीर विष्टको छ ।
‘चिरञ्जीवी भवः’ मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’ को क्यारेक्टरमा देखिँदैछन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।
कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।
सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीतसमेत लेखेका छन्, जसमा हर्क साउदको पनि सहकार्य रहनेछ । रञ्जित गजमेरको पनि सिनेमामा गीत रहनेछ । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत रहेको छ ।
गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् ।
निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।
प्रतिक्रिया 4