+

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

२०८३ कात्तिक  १९ गते २२:२८ २०८३ कात्तिक १९ गते २२:२८

नेपाली फुटबलको अवस्था के छ? खेलाडीहरू कहाँ छन्? कसैलाई पत्तो छैन । सम्बन्धित सरोकारवालाई पनि खासै चासो नभएको हो कि जस्तो देखिन्छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले अखिल नेपाल फुटबल संघलाई निलम्बन गर्दा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपमा सहभागि हुन पाएन ।
  • सन् १९९३ देखि सुरु साफ च्याम्पियनसिपको ३३ वर्षे इतिहासमा नेपाल पहिलो पटक अनुपस्थित भएको हो ।
  • फिफाको निलम्बनका कारण नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल गतिविधि ठप्पजस्तै भएको छ ।

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ ।

ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सञ्चालन भइरहेको छ । चाडपर्व जस्तै एनपीएल पनि खेलकुदको चाड नै बनिसकेको छ । यही बेला नेपालको चर्चित खेलको रुपमा रहेको फुटबलको अवस्था भने सुनसान छ ।

अहिले नेपालमा फुटबलको कुरा हुने भनेको प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी लिगहरूको मात्र हो । नेपाली फुटबलको अवस्था के छ? खेलाडीहरू कहाँ छन्? कसैलाई पत्तो छैन । सम्बन्धित सरोकारवालाई पनि खासै चासो नभएको हो कि जस्तो देखिन्छ ।

यदी सबै कुरा ठिकठाक हुन्थ्यो भने अहिले नेपाली फुटबल टोली साफ च्याम्पियनसप खेल्न बंगलादेशको ढाकामा हुन्थ्यो । साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा नेपाली टोली रणनीति बनाइरहेको हुन्थ्यो ।

तर अहिले अवस्था फरक छ । नेपालमा अहिले फुटबल गतिविधि शून्यजस्तै छ । सबैभन्दा ठूलो समस्या त अहिले नेपाली फुटबल निलम्बनमा छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्दा नेपालको अन्तर्राष्ट्रिय सहभागिता देखि राष्ट्रिय स्तरका लिगहरू अहिले सबै ठप्प अवस्थामा छ ।

यतिबेला नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट चलिरहेको छ । नेपाली खेलकुदकै सबैभन्दा ठूलो स्पोर्टिङ इभेन्ट बनिसकेको एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा नै विश्वका स्टार खेलाडीहरूले नेपालमा आएर खेलिसकेका छन् ।

विश्वकप क्रिकेट जितेका स्टारहरू नै टीयू मैदानमा अहिले खेलिरहेका छन् । उनीहरूसँग नेपाली खेलाडीले पनि ड्रेसिङ रुम सेयर गर्दै नयाँ नयाँ क्रिकेट कला सिक्ने अवसर पाइरहेका छन् ।

क्रिकेटमा एनपीएलको यो सफलता अनि टी-२० विश्वकपमा लगातार सहभागिताले नेपाली क्रिकेटको चर्चा विश्वमाझ भइरहेको छ । तर अर्कोतिर विश्वकै चर्चित खेलको रुपमा रहेको र हरेक देशमा चर्चामा रहने फुटबलको अवस्था भने नेपालमा नाजुक बनिसकेको छ ।

अर्को शब्दमा भन्ने हो भने नेपाली फुटबल अहिले कोमामा छ । त्यहाँबाट फुटबललाई कसरी र कसले बचाएर ल्याउने? भन्ने सबैभन्दा ठूलो प्रश्न बनेको छ ।

साफ च्याम्पियनसिप खेल्न बंगलादेशमा हुनुपर्ने फुटबल टोलीका सदस्य बिहीबार टीयू मैदानमा एनपीएलका खेलाई पुरस्कार वितरण गर्ने प्रिजेन्टेसन सेरेमोनीमा उपस्थित थिए ।

बिहीबार देखि ढाकामा सुरू भएको साफ च्याम्पियनसिपमा नेपाल बाहेक दक्षिण एसियाका अन्य ६ टोलीको सहभागिता छ । समूह ए मा भारत पाकिस्तान र माल्दिभ्स छन् । समूह बी मा आयोजक बंगलादेश, श्रीलंका र भुटान छन् ।

बिहीबार उद्घाटन खेल भारत र पाकिस्तानबीच भएको थियो । जसमा दोस्रो रोजाइको टिम सहभागी गराएको भारतले पाकिस्तानलाई ३-२ ले पराजित गर्दै २ अंक जोडिसकेको छ ।

साफ च्याम्पियनसिपका लागि साउनमै ड्र भइसकेको थियो । त्यसबेला नेपाल फिफाको निलम्बनमा परिसकेको थियो । ड्र मा नेपाल समावेश थिएन । तर यदि नेपालको निलम्बन सेप्टेम्बर ३० सम्म फुकूवा भएमा नेपालले साफ खेल्न पाउने र समूह ए मा रहने साफले जनाएको थियो । त्यस्तो अवस्थामा नेपाल पनि भारत रहेकै समूहमा हुन्थ्यो ।

तर बिडम्वना नेपालको निलम्बन अहिलेसम्म पनि फुकुवा हुन सकेको छैन । अनि साफको इतिहासमै पहिलो पटक नेपाल प्रतियोगितामा सहभागी हुन सकेन । त्यो पनि इतिहासमै पहिलो पटक फिफाको निलम्बनमा परेकैले नेपालका लागि महत्वपूर्ण प्रतियोगिताको रुपमा रहेको साफ च्याम्पियनसिप गुमायो ।

साफले दिएको डेडलाइनसम्म नेपालले फिफा निलम्बन फुकुवाका लागि कुनै ठोस पहल गर्न सकेन । सरकार र एन्फाको तर्फबाट बारम्बार पत्र आदानप्रदान भएपनि त्यसको खासै अर्थ रहेन ।

एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले १० असार (२४ जुन) मा एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो । त्यही निलम्बनका कारण नेपालले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाउँदै आइरहेको छ र त्यसमा सबैभन्दा ठूलो असर साफ च्याम्पियनसिपमै परेको छ । नेपाल साफ इतिहासमा पहिलो पटक सहभागी नभएको हो ।

सन् १९९३ मा सार्क गोल्डकपको नामबाट सुरू भएको साफ च्याम्पियसिपको ३३ वर्षे इतिहासमा नेपाल पहिलो पटक अनुपस्थित भएको हो । यसअघि नेपाल र भारतले मात्र सबै १४ संस्करण खेलेका थिए । अब नेपालले यस पटक नखेलेपछि भारत मात्र सबै संस्करण खेल्ने एक्लो राष्ट्र बनेको छ ।

अनि साफको सर्वाधिक ९ पटक च्याम्पियन पनि भारत नै हो । माल्दिभ्सले २, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १-१ पटक उपाधि जित्दा नेपालले अहिलेसम्म उपाधि जित्न सकको छैन ।

सन् २०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो नतिजा हो ।

हरेक पटक साफ च्याम्पियनसिपमा आउँदा उपाधि जित्ने सपना बनाउँदै प्रतिस्पर्धा गर्ने नेपाल पटक सहभागी नै हुन नपाउँदा नेपाली फुटबलको लागि सबैभन्दा ठूलो विडम्बना हो ।

नेपाल फुटबल साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय