+
+
Shares

भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी

भारत, चीन, विश्व बैंक र एडीबीबाट ८० प्रतिशत स्रोत जुटाउने लक्ष्य, लस एन्ड ड्यामेज फन्डबाट २० मिलियन डलर अनुदान ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने प्रक्रिया अघि बढाएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताउनुभयो ।
  • पुनर्निर्माणका करिब ८० प्रतिशत स्रोत भारत, चीन, विश्व बैंक र एडीबीबाट जुटाउने लक्ष्य राखिएको छ ।
  • लस एन्ड ड्यामेज फन्डबाट नेपाललाई पहिलोपटक २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय भएको वाग्लेले जानकारी दिनुभयो ।

२० कात्तिक, काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउने फ्रक्रिया अघि बढाएको छ । यो जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका हुन् ।

शुत्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै डा. वाग्लेले आगामी तीनदेखि पाँच वर्षभित्र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने गरी भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) सँग संवाद भइरहेको जानकारी दिए ।

सरकारले पुनर्निर्माणका लागि आवश्यक कुल रकमको करिब ८० प्रतिशत यी चार स्रोतबाट जुटाउने अपेक्षा गरेको छ । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाउने सरकारको योजना रहेको वाग्लेले बताए ।

उनका अनुसार भारतसँग पुनर्निर्माण तथा विकास निर्माणका लागि विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यससम्बन्धी केही सम्झौता हुनसक्ने उनको अपेक्षा छ ।

चीनसँग पनि विपद्पछिको पुनर्निर्माण, आधुनिक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यापारिक नाकाको विकासबारे छलफल भइरहेको उनले बताए । रसुवा, तातोपानी र कोराला नाका जोड्ने पूर्वाधार, रेलमार्ग, सुरुङमार्ग, भायाडक्ट तथा आधुनिक भन्सार पूर्वाधार निर्माणका विषयमा चीनसँग संवाद भइरहेको उनको भनाइ छ ।

नेपालले चीनसँग जोडिएका पुराना सडक संरचनालाई सामान्य मर्मतमा सीमित नराखी आधुनिक प्रविधिसहित स्तरोन्नति गर्न चाहेको पनि उनले बताए ।

विश्व बैंक र एडीबीसँग पनि पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापनबारे सघन छलफल भइरहेको वाग्लेले जानकारी दिए । विश्व बैंकका अध्यक्षसँग ३९ वर्षपछि पहिलोपटक नेपालको अर्थमन्त्रीले प्रत्यक्ष भेटवार्ता गरेको उल्लेख गर्दै उनले त्यसबाट उच्चस्तरीय सहकार्यको नयाँ आधार तयार भएको बताए ।

विश्व बैंकका विभिन्न निकाय तथा सहुलियतपूर्ण वित्तीय संयन्त्रमार्फत आवश्यकताअनुसार करिब एक अर्ब अमेरिकी डलरसम्मको वित्तीय प्रतिबद्धता प्राप्त गर्न सकिने सुनिश्चितता भएको उनको दाबी छ । एडीबीबाट पनि त्यस्तै प्रकृतिको सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।

अनुदान सहायता घट्दै गएको अन्तर्राष्ट्रिय परिस्थितिमा सहुलियतपूर्ण ऋणलाई समेत विवेकपूर्ण ढंगले उपयोग गर्नुपर्ने वाग्लेको भनाइ छ । विगतमा अनुदान सहयोगमा निर्भर रहेर विकास निर्माण अघि बढाए पनि अहिले त्यस्तो सहायता उपलब्धता खुम्चिँदै गएको उनले बताए ।

लस एन्ड ड्यामेज फन्डबाट २० मिलियन डलर अनुदान

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र नोक्सानीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सरकारले जलवायु कूटनीतिलाई प्राथमिकता दिएको अर्थमन्त्री वाग्लेले बताए ।

उनका अनुसार विपद् भएको पाँच दिनपछि नै वन तथा वातावरणमन्त्री गीता चौधरी र आफूले संयुक्त रूपमा जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीसम्बन्धी कोष (लस एन्ड ड्यामेज फन्ड) मा आर्थिक सहयोगका लागि पत्राचार गरेका थिए ।

नेपालको आग्रहपछि उक्त कोषको आपत्कालीन बैठक बसेर पहिलोपटक नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय भएको उनले जानकारी दिए ।

कोष स्थापना भएयता पहिलोपटक प्रदान गरिएको अनुदान नेपालले प्राप्त गर्न लागेको उल्लेख गर्दै वाग्लेले यसलाई नेपालको जलवायु कूटनीतिको महत्वपूर्ण उपलब्धि बताए । यद्यपि, पुनर्निर्माणको समग्र आवश्यकताको तुलनामा यो रकम निकै कम भए पनि जलवायु न्यायका सवालमा नेपालको दाबी अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

विपद् आइसकेपछि मात्रै स्रोत खोज्ने प्रवृत्तिको अन्त्य गर्दै सरकारले पूर्वतयारी र जोखिम न्यूनीकरणमा पनि ध्यान दिएको वाग्लेले बताए ।

यसैक्रममा नेपाल दक्षिण एसियामै पहिलोपटक क्याटास्ट्रोफिक इन्स्योरेन्स अर्थात् विनाशकारी विपद् बीमा प्रणालीमा सहभागी भएको उनले जानकारी दिए ।

यो प्रणालीमा थोरै प्रिमियम तिरेर ठूलो भूकम्प वा अन्य विनाशकारी विपद् आएमा ठूलो रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था रहेको उनले स्पष्ट पारे । यसले भविष्यमा विपद् व्यवस्थापनका लागि तत्काल स्रोत जुटाउन सहयोग पुग्ने उनको विश्वास छ ।

नेपालमा ठूलो भूकम्पको जोखिम कायमै रहेकाले विपद्पूर्व तयारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत सुदृढीकरण र जनचेतना अभिवृद्धि आवश्यक रहेको उनले बताए ।

आगामी दिनमा जलवायु अनुकूलन कोष, हरित जलवायु कोषलगायत अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रबाट पनि नेपालको हितअनुसार स्रोत परिचालन गर्न पहल गरिने उनले जानकारी दिए ।

चालु बजेटबाट पुनः विनियोजन, आगामी वर्ष थप स्रोत

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षमा नयाँ स्रोत थप्नुभन्दा विनियोजित बजेटबाटै रकम पुनः विनियोजन गरेर पुनर्निर्माणका काम अघि बढाइने बताए ।

आगामी आर्थिक वर्षको बजेटमा भने पुनर्निर्माणका लागि थप स्रोत समावेश गरेर बजेटको आकार बढाउन सकिने उनको भनाइ छ ।

२०७२ सालको भूकम्पको उदाहरण दिँदै उनले भूकम्प आएको वर्ष नेपालको बजेट ५१८ अर्ब रुपैयाँ रहेकामा त्यसपछिको वर्ष ६१९ अर्ब रुपैयाँ पुर्‍याइएको स्मरण गरे । भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणमा पनि आवश्यकताअनुसार यस्तै वित्तीय व्यवस्था गर्न सकिने उनले बताए ।

विपद्पछि सरकारले छोटो समयमै बेलीब्रिज निर्माण, विद्युत् सेवा पुनःस्थापना र टेलिफोन सेवा सञ्चालनमा ल्याउन गरेको प्रयास सकारात्मक भए पनि सबै प्रभावित क्षेत्रमा समान रूपमा सेवा पुग्न नसकेको उनले स्वीकार गरे ।

पुनर्निर्माण र पुनर्स्थापनालाई आगामी तीनदेखि पाँच वर्षको मध्यकालीन तथा दीर्घकालीन योजनाका रूपमा अघि बढाइने उनले बताए । स्थानीय तहलाई पहिलो जवाफदेही निकाय मानेर प्रदेश सरकार, सम्बन्धित मन्त्रालय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिने उनको भनाइ छ ।

वाग्लेले पुनर्निर्माणका लागि आवश्यक स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उपलब्ध स्रोतको न्यायोचित र प्रभावकारी उपयोग गर्नुपर्ने बताए ।

प्रभावित क्षेत्रका नागरिकको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर पुनर्निर्माणका काम अघि बढाउन उनले संसदीय विशेष समितिलाई आग्रह गरे । समितिले वर्तमान विपद्बाट प्राप्त अनुभवका आधारमा भविष्यमा यस्ता विपद् आउँदा कार्यान्वयन गर्न सकिने स्पष्ट कार्यविधि, कार्ययोजना र नीतिगत सुझाव तयार पार्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?