News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले सुदूरपश्चिम रोयल्सविरुद्ध ५५ बलमा अविजित ९३ रन बनाए ।
- कर्णाली १७७ रनको लक्ष्य पछ्याउँदै १३७ रनमा सीमित भयो र सुदूरपश्चिमसँग ३९ रनले पराजित भयो ।
- टिम हारे पनि मिलरले प्लेअर अफ दि म्याचको अवार्ड जिते र यस सिजनको एकै खेल तथा डेब्यूमा सर्वाधिक रन बनाउने खेलाडी बने ।
२१ कात्तिक, काठमाडौं । आन्द्रे रसेल, डेभिड वार्नर, शाकिब अल हसन जस्ता विश्व चर्चित स्टार खेलाडीहरूको खेलपछि टीयू मैदानमा शुक्रबार दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरले डेब्यू गरे ।
विशेषगरी टी-२० क्रिकेटकै लागि सुहाउँदो ब्याटर डेभिड मिलरलाई प्रत्यक्ष खेलेको हेर्न नेपाली दर्थक र समर्थकहरू प्रतिक्षामा थिए । यसअघि नै रसेलले टीयू मैदानमा आफ्नो जादु देखाइउँदै विराटनगर किंग्सलाई २ खेल जिताइसकेका थिए भने वार्नरले पनि आफ्नो अनुभवले काठमान्डु गोर्खाजका लागि खेल जिताउन मदत गरे ।
अब ब्याटिङ हेर्ने पालो उनै मिलरको थियो । विश्व क्रिकेटमै आक्रामक ब्याटरको रुपमा परिचित दक्षिण अफ्रिकी डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को डेब्यूमै शानदार प्रदर्शन गरे ।
कर्णाली याक्सबाट खेल्दै जारी तेस्रो सिजनमा एनपीएलमा डेब्यू गरेका ३७ वर्षीय मिलरले आफ्नो नाम अनुसार काम गरे । तर नतिजा भने उनको टिम कर्णालीको पक्षमा रहेन ।
मिलरले पहिलो खेलमै आक्रामक ब्याटिङ गर्दै अविजित ९३ रन बनाए । पश्चिमी डर्बीमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भयो ।
एनपीएलको तीनवटै संस्कणमा कर्णालीले सुदूरपश्चिमलाई हराउन सकेको छैन ।
कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले जादुयी प्रदर्शन गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले करिब आधा इनिङ्स आफैँ ब्याटिङ गरे । चौका छक्काको वर्षा गरे ।

उनले ५५ बल खेल्दै ५ चौका र ७ छक्का प्रहार गरे । मिलरले बाउन्ड्रीबाटै ६२ रन जोडेका थिए । मिलरले अन्तिमसम्म टिकेर ब्याटिङ गरेपनि अर्को छेउबाट गतिलो साथ पाउन सकेनन् ।
मिलर बाहेक दीपक डुम्रेले मात्र दोहोरो अंकमा रन जोड्दा १८ रन बनाए । १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । छैटौं विकेटका लागि कप्तान सोमपाल कामीसँग मिलरले गरेको ३६ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी बन्यो ।
कर्णाली याक्सका नन्दन यादवले आज बलिङ राम्रो नहुँदा पराजित हुनुपरेको बताए । यस्ते ब्याटिङमा पनि पार्टनरसिप बन्न नसकेको बताए । ‘हाम्रो बलिङ नै राम्रो भएन । १४० चेस गर्न सकिने टार्गेट थियो । म लगायत मिडियम पेसरको बलिङ राम्रो भएन’ उनले भने, ‘नेपाली ब्याटरले रेन्जमा पायो भने कन्भर्ट गर्ने योजना थियो । तर दुर्भाग्य, भएन । पार्टनरसिप बनाउने भन्ने नै थियो । बिग पार्टनरसिप आवश्यक थियो त्यो नै बनेन ।’
टिम हारेपनि ‘प्लेअर अफ दि म्याच’ मिलर
मिलरको ‘वान म्यान शो’ ले पनि कर्णालीलाई खेल जिताउन सकेन । तर मिलरले आफ्नो ब्याटिङबाट सबैको मन जिते । उनको प्रदर्शन आफ्नै आँखा अगाडि हेर्न पाउनु नेपाली क्रिकेट समर्थकका लागि खुशीको खबर थियो ।
यस सिजन एकै खेलमा सर्वाधिक रन बनाउने उनै मिलर बने । यस्तै एनपीएल डेब्यूमा सर्वाधिक रन बनाउने पनि मिलर नै हुन् । यस्तो उपलब्धिमा पनि उनी जितको साक्षी बन्न भने सकेनन् ।
खेलमा सुदूरपश्चिमले कर्णालीलाई हराउँदै दुई अंक जोड्यो । तर दर्शकको मन मिलरले जिते । साथै निर्णायकहरूको मन उनै जिते । र आफ्नो टिम कर्णाली पराजित भएपनि खेलको प्लेअर अफ दि म्याचको अवार्ड भने डेभिड मिलरले नै जिते ।
यसको दुई कारण थियो । पहिलो कारण खेलमा मिलर आफ्नो ब्याटिङबाट पूरा छाए । टिमले नजिते पनि उनको चर्चा धेरै भयो र प्रदर्शन पनि उत्कृष्ट रह्यो ।

अर्को सुदूरपश्चिमका लागि शुक्रबार कुनै एक खेलाडीले मात्र उत्कृष्ट प्रदर्शन गरेनन् । सामूहिक प्रयास थियो । सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दे १७६ रन बनाउँदा पनि ८ खेलाडीले दोहोरो अंकमा रन जोडे तर कुनै पनि खेलाडीले व्यक्तिगत ३५ रन भन्दा बढी बनाउन सकेनन् । ओपनर सैफ जैबले ३५ रन जोडेका थिए ।
अर्कोतिर बलिङमा पनि स्कट कुगेलेइनले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिनु बाहेक अन्य खेलाडीले १-१ विकेट मात्र लिए । अनि कर्णालीका लागि आक्रामक ब्याटिङ गरेका मिलरलाई पनि कसैले आउट गर्न सकेनन् ।
सुदूरपश्चिमका कुनै खेलाडीको अलराउण्ड प्रदर्शन पनि थिएन । जसले गर्दा प्लेअर अफ दि म्याच अवार्डका लागि सुदूरका खेलाडी दाबेदार पनि देखिएनन् ।
त्यसैले यो अवार्डका लागि कर्णालीका मिलर नै दाबेदार बने र उनैले अवार्ड पाए ।
मिलरबाट धेरै सिक्न सकिन्छ
कर्णाली याक्सका बलर नन्दन यादवले मिलर आफ्नो टोलीमा आउँदा खुशी लागेको र राम्रो ब्याटिङ गरेको बताए । ‘ह्याट्स अफ । उहाँलाई हामीले धेरै सानो उमेरदेखि हेरिरहेको । मिलर भन्ने बित्तिकै टी-२० मा बिग नेम हो । उहाँ हाम्रो टिममा आउँदा हामी धेरै खुशी थियौँ,’ नन्दनले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘उहाँले आज राम्रो प्रदर्शन गर्नुभयो । उहाँले यस्तो विकेटमा पनि कसरी ब्याटिङ गर्ने देखाउनुभयो ।’

मिलरको प्रदर्शनबाट नेपाली खेलाडीले सिक्न सक्ने नन्दनले बताए । ‘हाम्रो नेपाली ब्याटर वा नेपाली बलरले धेरै सिक्न सक्छ । अर्को पटक कोही नेपाली खेलाडीले मिलर जस्तो खेलोस्’ उनले भने ।
नन्दनले मिलर एकदमै मिलनसार रहेको र जुनसुकै सहयोगका लागि आफ्नो ढोका सधैँ खुला रहेको बताएको सुनाए । यस्तै सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलेइनले मिलर उत्कृष्ट खेलाडी भएको तर आज धेरै साथ नपाएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4