News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ को अक्टोबर अहिलेसम्मकै सबैभन्दा गर्म अक्टोबर बनेको छ, र विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको भन्दा १.७५ डिग्री सेल्सियस बढी मापन गरिएको छ।
- कोपर्निकस र ईसीएमडब्ल्यूएफका अनुसार लगातार तेस्रो महिना विश्वको सरदर तापक्रम १.५ डिग्रीको सीमा नाघेको छ, र सन् २०२६ दोस्रो गर्म वर्ष बन्न सक्ने अनुमान छ।
- एल निनो, हरितगृह ग्यास उत्सर्जन र समुद्री सतहको रेकर्ड तापक्रमले जलवायु संकट गहिरिँदै गएको देखाएको छ, जसले पेरिस सम्झौताका लक्ष्य थप चुनौतीपूर्ण बनाएको छ।
२२ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको असर झन् भयावह बन्दै गएको छ । सन् २०२६ को अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा गर्म अक्टोबर महिनाका रूपमा रेकर्ड भएको छ । यस अवधिमा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.७५ डिग्री सेल्सियस बढी मापन गरिएको छ ।
युरोपेली संघको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सी३एस) र युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट्स (ईसीएमडब्ल्यूएफ) का अनुसार लगातार तेस्रो महिना विश्वको सरदर तापक्रमले १.५ डिग्री सेल्सियसको सीमा नाघेको हो ।
वैज्ञानिकहरूले सन् २०२६ पनि औद्योगिक क्रान्तिअघिको तुलनामा औसत तापक्रम १.५ डिग्रीभन्दा माथि रहने दोस्रो क्यालेन्डर वर्ष बन्न सक्ने अनुमान गरेका छन् । यसअघि सन् २०२४ मा पनि विश्वको औसत तापक्रम यो सीमाभन्दा माथि पुगेको थियो ।
अक्टोबरमा तापक्रमको नयाँ रेकर्ड, २०२६ दोस्रो गर्म वर्ष बन्ने सम्भावना
सन् २०२६ को अक्टोबरमा विश्वको औसत तापक्रम १५.३५ डिग्री सेल्सियस पुगेको छ । यो सन् १९९१ देखि २०२० सम्मको अक्टोबर महिनाको औसत तापक्रमभन्दा ०.९० डिग्री बढी हो ।
यसअघि सन् २०२३ को अक्टोबर सबैभन्दा गर्म महिनाका रूपमा रेकर्ड भएको थियो । तर सन् २०२६ को अक्टोबरले उक्त रेकर्डसमेत तोडेको छ ।
त्यस्तै, नोभेम्बर २०२५ देखि अक्टोबर २०२६ सम्मको पछिल्लो १२ महिनाको औसत विश्व तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.५१ डिग्री सेल्सियस बढी रहेको छ । यसले विश्वव्यापी तापक्रम वृद्धि कुनै एक महिना वा मौसममा मात्र सीमित नरहेको देखाउँछ ।
सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मका तापक्रमसम्बन्धी तथ्यांकअनुसार यो वर्ष अहिलेसम्मकै दोस्रो तातो वर्ष बनेको छ ।
वैज्ञानिकहरूको सांख्यिकीय मोडेलले सन् २०२६ को वार्षिक औसत तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.५६ देखि १.६१ डिग्री सेल्सियससम्म बढी हुन सक्ने देखाएको छ । यस वर्ष औसत तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने सम्भावना ९९ प्रतिशतभन्दा बढी छ ।
मोडेलअनुसार सन् २०२६ दोस्रो सबैभन्दा गर्म वर्ष बन्ने सम्भावना करिब ८० प्रतिशत छ । सन् २०२४ को तापक्रम रेकर्ड बराबर गर्ने वा त्यसलाई उछिन्ने सम्भावना भने करिब २० प्रतिशत रहेको अनुमान छ ।
अझ चिन्ताको विषय सन् २०२३ देखि २०२५ सम्मको तीन वर्षको औसत तापक्रम पनि १.५ डिग्री सेल्सियसभन्दा माथि रहनु हो । सन् २०२६ मा पनि यही अवस्था कायम रहे सन् २०२३ देखि २०२६ सम्मको चार वर्षको औसत तापक्रमसमेत १.५ डिग्री नाघ्नेछ ।
एल निनोले थप बढायो तापक्रम
विश्वव्यापी तापक्रम वृद्धिको एउटा प्रमुख कारण प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्था पनि हो ।
अक्टोबरमा भूमध्यरेखीय प्रशान्त महासागरको निनो ३.४ क्षेत्रमा समुद्री सतहको तापक्रम औसतभन्दा ३.२१ डिग्री सेल्सियस बढी पुगेको छ । यो अहिलेसम्मकै उच्च विचलन भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, ध्रुवीय क्षेत्रबाहेक विश्वका समुद्री सतहको औसत तापक्रम पनि अक्टोबरमा २०.९५ डिग्री सेल्सियस पुगेको छ । यो पनि अहिलेसम्मकै उच्च रेकर्ड हो ।
महासागरले पृथ्वीमा बढेको अतिरिक्त तापको ठूलो हिस्सा सोस्ने भएकाले समुद्री सतहको तापक्रममा आएको वृद्धि विशेष चिन्ताको विषय हो । एल निनोले प्राकृतिक रूपमा तापक्रम थप बढाउन भूमिका खेल्न सक्छ ।
वैज्ञानिकहरूका अनुसार अहिलेको तापक्रम वृद्धिमा लामो समयदेखि बढिरहेको विश्वव्यापी तापक्रम र मानवीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको पनि महत्वपूर्ण योगदान छ ।
युरोपमा कतै खडेरी, कतै बाढी
तापक्रम वृद्धिको प्रभाव विश्वका विभिन्न क्षेत्रमा फरक–फरक रूपमा देखिएको छ ।
युरोपमा अक्टोबर अहिलेसम्मकै दोस्रो गर्म महिना बनेको छ । पूर्वी युरोप र स्क्यान्डिनेभियामा सामान्यभन्दा निकै बढी तापक्रम मापन गरिएको थियो । तर पश्चिमी र मध्य युरोपमा भने तुलनात्मक रूपमा तापक्रमको प्रभाव कम देखिएको थियो ।
यसैबीच मध्य र पूर्वी युरोपका धेरै नदीमा पानीको सतह निकै कम भएको छ । राइन, ड्यान्युब र भिस्तुला नदीमा पानीको बहाव घटेको छ ।
अर्कोतर्फ बेलायत, आयरल्यान्ड, स्पेन, ग्रिस र टर्कीमा भारी वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ ।
एकातिर पानीको अभाव र अर्कोतिर अतिवृष्टि तथा बाढीको समस्या देखिनुले जलवायु परिवर्तनका कारण मौसमी चक्रमा देखिएको असन्तुलनलाई उजागर गरेको छ ।
अन्टार्कटिकामा पनि असामान्य गर्मी
तापक्रम वृद्धिको प्रभाव ध्रुवीय क्षेत्रमा समेत देखिएको छ । पश्चिमी अन्टार्कटिकामा अक्टोबरको तापक्रम सामान्यभन्दा ७ डिग्री सेल्सियसभन्दा बढी र केही क्षेत्रमा ११ डिग्रीसम्म उच्च मापन गरिएको छ ।
त्यस्तै साइबेरिया, अमेरिकाको मध्य क्षेत्र, उत्तरी क्यानडा, पूर्वी अफ्रिका र मध्यपूर्वमा पनि असामान्य गर्मी देखिएको छ ।
यद्यपि दक्षिण अमेरिकाका अधिकांश क्षेत्रमा भने सामान्यभन्दा कम तापक्रम मापन गरिएको छ ।
पेरिस सम्झौताको लक्ष्य थप चुनौतीपूर्ण
सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम राख्ने र सम्भव भएसम्म १.५ डिग्रीमा सीमित गर्ने लक्ष्य लिएको थियो ।
तर पछिल्ला वर्षहरूमा लगातार बढिरहेको तापक्रमले उक्त लक्ष्य हासिल गर्न थप चुनौती थपेको छ ।
यद्यपि कुनै एक वर्ष वा केही महिनाको औसत तापक्रम १.५ डिग्री नाघ्दैमा पेरिस सम्झौताको दीर्घकालीन तापक्रम सीमा औपचारिक रूपमा उल्लंघन भएको मानिँदैन । यसको मूल्यांकन दशकौँको औसत तापक्रमका आधारमा गरिन्छ ।
तर लगातार नयाँ तापक्रम रेकर्ड कायम हुनु र विश्वव्यापी तापक्रम वृद्धिको गति नघट्नुले जलवायु संकट गहिरिँदै गएको संकेत गरेको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरितगृह ग्यास उत्सर्जन घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढाउने र वातावरण संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता झन् बढेको छ । प्रश्न अब तापक्रमले अर्को कुन रेकर्ड तोड्छ भन्ने मात्र होइन, बढ्दो तापक्रम नियन्त्रण गर्न विश्वका देशहरूले कति छिटो र प्रभावकारी कदम चाल्छन् भन्ने पनि हो ।
प्रतिक्रिया 4