+
+
Shares

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री

केही वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गोकर्णले गाउँमै बसेर केही नयाँ गर्ने अठोटका साथ कृषि क्षेत्र रोजेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहार लक्षित पाँच रोपनी जमिनमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन्।
  • विदेशबाट फर्किएका नेपालीले ग्यालेक्सी फर्ममार्फत कृषि व्यवसाय सञ्चालन गर्दै गाउँमै आत्मनिर्भर बन्ने लक्ष्य लिएका छन्।
  • नेपालीले तिहारका लागि आज र भोलि दुई दिन स्थानीय स्तरसँगै तम्घासका बजारमा फूल बिक्री गर्ने बताए।

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले पाँच रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ ।

फूलसँगै गोकर्णको कृषि उद्यम र आत्मनिर्भर बन्ने सपना पनि फुलिरहेको छ । ग्यालेक्सी फर्ममार्फत कृषि व्यवसाय सञ्चालन गर्दै आएका नेपालीले तिहार पर्वलाई लक्षित गरी व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका हुन् ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले चाडपर्वलाई बजारको अवसरका रूपमा उपयोग गर्दै उनले पाँच रोपनी जमिनमा पुष्प खेती गरेका छन् । केही वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गोकर्णले गाउँमै बसेर केही नयाँ गर्ने अठोटका साथ कृषि क्षेत्र रोजेका हुन् ।

स्वदेश फर्किएपछि उनले सुरुमा घाँसका बिरुवा उत्पादन गर्न थाले । कृषि क्षेत्रमा सम्भावना खोज्दै अघि बढेका उनले विस्तारै पुष्प खेतीलाई समेत आफ्नो व्यवसायको हिस्सा बनाएका छन् ।

पछिल्लो समय रोजगारी र अवसरको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला गोकर्ण भने आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन् । परम्परागत खेतीमा मात्र सीमित नभई बजारको माग र सम्भावनालाई पहिचान गर्दै व्यावसायिक खेतीमा लाग्नु उनको फरक प्रयास हो ।

नेपालीको दोस्रो ठूलो चाड तिहारमा सयपत्री फूलको विशेष महत्व छ । घरआँगन सजाउन, माला उन्न तथा पूजाआजामा प्रयोग हुने सयपत्री फूलको माग यस समयमा उल्लेख्य रूपमा बढ्ने गर्छ ।

यही मागलाई ध्यानमा राखेर गरिएको उनको खेतीले स्थानीय स्तरमै फूल उत्पादन र कृषि उद्यमको सम्भावनालाई उजागर गरेको छ । घाँसका बिरुवा उत्पादनदेखि पुष्प खेतीसम्मको यात्रा तय गरेका गोकर्ण कृषि क्षेत्रमा नयाँ सम्भावना खोजिरहेका युवा हुन् । गाउँमै बसेर मेहनत र लगनशीलताका साथ व्यवसाय गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने उनको प्रयासले अन्य युवालाई पनि कृषि क्षेत्रमा आकर्षित गर्न सक्छ ।

पाँच रोपनी जमिनमा ढकमक्क फुलेका सयपत्री फूल गोकर्णको मेहनत र उद्यमशीलताको परिणाम हुन् । आफ्नै गाउँमा श्रम, सीप र लगानी लगाएर सम्भावना खोजिरहेका उनको प्रयासले एउटा महत्वपूर्ण सन्देश दिएको छ ।

नेपालीले तिहारका लागि आज र भोलि दुई दिनसम्म फूल टिपेर स्थानीय स्तरसँगै तम्घास लगायतका बजारमा बिक्री गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?