News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा र सामुदायिक कुकुरको संरक्षण, उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ।
- नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको पहलमा कुकुरलाई नियमित औषधि खुवाउने, रेबिज खोप लगाउने, बिरामी र घाइतेको उपचार गर्ने तथा खानपानको व्यवस्था मिलाइएको छ।
- नगरपालिकाले दीर्घकालीन व्यवस्थापनका लागि कुकुरको होस्टेल निर्माण गर्ने योजना अघि सारेको छ।
२२ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा तथा सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ।
कुकुरलाई सडकमा बेवारिसे छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको नियमित उपचार, औषधोपचार, खानपान र संरक्षणमा नगरपालिकाले सक्रियता देखाएको हो। नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको पहलमा सञ्चालन भइरहेको अभियानअन्तर्गत बजार क्षेत्रमा रहेका कुकुरलाई नियमित औषधि खुवाउने, बिरामी तथा घाइते कुकुरको उपचार गर्ने र रेबिजविरुद्धको खोप लगाउने काम भइरहेको छ।
नगरप्रमुख श्रेष्ठले कुकुरप्रति आक्रामक व्यवहार नगर्न र उनीहरूप्रति संवेदनशील बन्न नगरवासीलाई आग्रह गरेका छन् । पशुप्राणीको संरक्षण गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै उनले कुकुरको स्वास्थ्य, उपचार र उचित व्यवस्थापनमा नगरपालिकाले निरन्तर काम गर्ने बताए ।
पशु चिकित्सक डा. नवीन पन्थीका अनुसार नगरप्रमुख श्रेष्ठको पहलमा बजार क्षेत्रमा रहेका कुकुरको नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा आवश्यक हेरचाह भइरहेको छ। सन्धिखर्क नगरपालिकाका पशु चिकित्सक तथा पशु स्वास्थ्यकर्मी र पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका स्वास्थ्यकर्मीहरूको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।
नगरपालिकाले बजार क्षेत्रमा रहेका कुकुरका लागि दैनिक भात, खाना तथा समयसमयमा मासुको समेत व्यवस्था गर्दै आएको छ। बिरामी, घाइते र अपाङ्गता भएका कुकुरको उपचारसँगै रेबिजविरुद्धको नियमित खोप र स्थायी तथा अस्थायी बन्ध्याकरणका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
कुकुर र मानिसबीच हुन सक्ने द्वन्द्व न्यूनीकरण गर्दै सुरक्षित सहअस्तित्व कायम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। यसले एकातिर सामुदायिक कुकुरको स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउने र अर्कोतर्फ बजार क्षेत्रमा कुकुरका कारण उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
यसैबीच, सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका कुकुरको दीर्घकालीन व्यवस्थापनका लागि कुकुरको होस्टेल निर्माण गर्ने योजना समेत अघि सारेको छ। चालु वर्षदेखि नै अभियान सुरु गरी कुकुरलाई व्यवस्थित रूपमा राख्ने, खानपान तथा स्वास्थ्य उपचार गर्ने र नियमित हेरचाहको व्यवस्था मिलाउने तयारी भइरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
छाडा कुकुरको समस्या नियन्त्रण गर्ने नाममा तिनलाई बेवास्ता गर्नेभन्दा संरक्षण, उपचार र व्यवस्थित व्यवस्थापनलाई प्राथमिकता दिँदै सन्धिखर्क नगरपालिकाले थालेको यो अभियानले पशुप्रेम, मानवीय संवेदना र जिम्मेवार नगर व्यवस्थापनको सन्देश दिएको छ।
प्रतिक्रिया 4