+
+
Shares

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था आइरहेको छ ।

कमल नेपाल कमल नेपाल
२०८३ कात्तिक २३ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बोनस सेयरको लागत मूल्य अंकित मूल्य १ सयका आधारमा गणना हुँदा नोक्सानीमा पनि पूँजीगत लाभकर तिर्नुपर्ने समस्या देखिएको लगानीकर्ताले बताएका छन् ।
  • सेयर लगानीकर्ता संघ नेपालले बोनस सेयरको लागत गणनामा समायोजित बजार मूल्य वा माउ सेयरको लागत बाँडफाँट गर्न सुझाव दिएको छ ।
  • आन्तरिक राजस्व विभागले २०७५ सालदेखि बोनस तथा हकप्रद सेयरको लागत मूल्य अंकित मूल्यका आधारमा गणना गर्ने व्यवस्था लागू गरेको छ ।

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा कम्पनीले लाभांश भनेर सेयर नै थपिदिन्छन् ।

तर त्यसरी दिइएको बोनस सेयरबाट लगानीकर्ता उल्टै नोक्सानीमा पर्ने गरेका छन् । बोनस सेयरले बजारमा आपूर्ति बढिरहने हुँदा यसले मूल्यलाई सधैं चाप पारिरहेको हुन्छ । सेयर संख्या बढेपछि प्रतिसेयर आम्दानी, प्रतिसेयर वितरणयोग्य नाफा पनि घट्न जान्छ, जसले प्रतिसेयर विश्वसनीय मूल्यमा ह्रास ल्याउँछ ।

सूचीकृत कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरण गर्दा बोनस सेयरकै अनुपातमा बजार मूल्यमा समायोजन हुन्छ । अर्थात् बोनस सेयर वितरणपछि कम्पनीको कुल सेयर संख्या बढ्ने र प्रतिकित्ता मूल्य घट्ने गरी समायोजन गरिन्छ, यथावत बजार मूल्यका आधारमा वास्तवमा लगानीकर्तालाई यसको लाभ नै हुँदैन ।

यदि कुनै सेयरधनीले १२ प्रतिशत बोनस सेयर पाइने भन्दै एबीसी कम्पनीको १ सय कित्ता सेयर बुक क्लोजअघिको मूल्य ३२० मा किन्यो भने उसको कुल लागत मूल्य ३२ हजार हुन्छ ।

जब भोलिपल्ट १२ प्रतिशत बोनस सेयर समायोजन हुन्छ, त्यसपछि सेयरधनीको सेयर संख्या बढेर ११२ कित्ता पुग्छ । तर मूल्य ३२० बाट समायोजन भई २८५.७१ रुपैयाँमा झर्दछ । यसपछि पनि लगानीकर्ताको कुल सेयरको मूल्य ३२ हजार (११२×२८५.७१) नै हुन्छ । सेयर संख्या बढे पनि बजार मूल्य यथावत रहेको अवस्थामा लाभांशका कारण कुनै वास्तविक फाइदा भएन ।

तर अब बोनस सेयर १२ कित्ता उहीं मूल्य २८५.७१ मा बेच्दा प्रतिकित्ता १ सयभन्दा बढीमै पूँजीगत लाभकर लाग्दछ । अझ समग्रमा सेयर मूल्य घटेर २८० मा ११२ कित्ता सेयर बेच्दा सो लगानीकर्ता नोक्सानीमा हुन्छ, तर उसले पूँजीगत लाभकर तिर्नुपर्छ ।

आन्तरिक राजस्व विभागले २०७५ सालमा नै बोनस तथा हकप्रद सेयरको लागत मूल्य अंकित मूल्यका आधारमा गणना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो

किनकि हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था आइरहेको छ । त्यसैले बोनस सेयर लाभभन्दा पनि कम्पनीले बोकाइदिएको भारीका रुपमा बुझ्न थालिएको छ । कम्पनीले चुक्ता पूँजी बढाउनुपर्ने अवस्थामा बोनस सेयर जारी गर्दछन् ।

बोनस सेयर बेच्दा लागत मूल्य गणनामा अंकित मूल्यलाई आधार मानिने व्यवस्थाले लगानीकर्तालाई वास्तविक आम्दानीभन्दा बढी लाभ देखाएर पूँजीगत लाभकर तिर्नुपर्ने अवस्था सिर्जना गरेकोमा प्रश्न उठ्दै आएको छ ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल बोनस सेयरको पूँजीगत लाभ गणनाका विषयमा धेरैपटक बोर्डलाई सुझाव दिए पनि कार्यान्वयन हुन नसकेको बताए ।

‘बोनस सेयरमा पूँजीगत लाभ गणना गर्दा आधार मूल्य १ सय राखिएकै कारण नोक्सानीमा पनि लगानीकर्ताले पूँजीगत लाभकर तिर्न बाध्य हुँदै आएका छन्’ उनले भने ।

आफूहरुले बोनस सेयरमा पूँजीगत लाभ गणनाका विकल्पहरु नै सुझावका क्रममा दिएको उनले बताए । उनले बोनस सेयरको लाभकर गणनाका विषयमा दुई विकल्प उपयुक्त रहेको बताए ।

‘बोनस सेयरको लागत गणना हुँदा आधार मूल्य १ सय मान्ने होइन कि समायोजित बजार मूल्यलाई नै आधार बनाउनुपर्छ’ उनले भने ‘अर्को विकल्प – माउ सेयरमा लागेको लागतलाई नै बोनस सेयरमा पनि बाँडेर गणना गरी वैज्ञानिक बनाउन सकिन्छ ।’

तर यस विषयमा वैज्ञानिक नीति बनाउन धितोपत्र बोर्डले भने कुनै पहल गरेको छैन । यो विषय अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागसँग सम्बन्धित रहेको भन्दै बोर्डका अधिकारीहरू पन्छिदै आएका छन् । यसबारे बोर्डले सुझाव दिनेबाहेक अन्य निर्णय गर्न नसक्ने एक अधिकारीले बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक भिष्मकुमार भुसाल बोनस सेयर आफैमा लाभ भएकाले त्यसलाई छुट्याएर पूँजीगत लाभकर लाग्ने गरेको बताउँछन् । अन्य मुलुकमा पनि बोनस सेयरमा यसैगरी कर लाग्ने उनको भनाइ छ ।

‘बोनस सेयर आफैमा लाभ हो, त्यसकारण यसमा ऐनअनुसार नै वर्षौंदेखि पूँजीगत लाभकर लाग्दै आएको छ’ उनले भने, ‘हाम्रो गुनासो शाखा छ, नोक्सानीमा पनि पूँजीगत लाभकर लागेको भनेर तथ्यसहित कोही आउँछ भने त्यसपछि बहस गरौंला ।’

अहिलेसम्म नोक्सानीमा पनि पूँजीगत लाभकर लागेको भनेर कुनै पनि सेयर लगानीकर्ताको गुनासो नआएको उनले बताए । आन्तरिक राजस्व विभागले २०७५ सालमा नै बोनस तथा हकप्रद सेयरको लागत मूल्य अंकित मूल्यका आधारमा गणना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

बोनस सेयरको लागत मूल्य गणना, कारोबार प्रणालीमा देखिने मूल्य र पूँजीगत लाभकर निर्धारणमा प्रयोग हुने आधारबीचको एकरूपता मिलिरहेको छैन ।

बोनस सेयर लगानीकर्ताका लागि वास्तविक लाभ नभएकोमा अनुभवी लगानीकर्ता सहमत छन् । ‘कम्पनीको सञ्चित मुनाफालाई चुक्ता पूँजीमा रूपान्तरण गर्ने माध्यम बोनस सेयर हो’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने, ‘बोनस सेयरबाट बढेको पूँजी सही रुपमा परिचालन हुँदा फेरि कम्पनीकै नाफा बढ्न गई त्यसले कम्पनीलाई सबल बनाउँछ ।’

बोनस सेयरप्रति लगानीकर्ताको आकर्षण अझै पनि रहने गरेको छ । जुन कम्पनीले धेरै बोनस सेयर घोषणा गर्दछ, त्यो कम्पनीको सेयरप्रति उत्साह हुँदा मूल्य बढ्ने गरेको छ।
तर अनुभवी कतिपय लगानीकर्ता बोनस सेयर घोषणा गरेपछि खरिद गर्नतिर नभई बिक्रीतर्फ आकर्षित हुने गरेका छन् । यहीं कारण कतिपय कम्पनीको बोनस सेयर घोषणा हुने दिन अत्याधिक आपूर्तिले मूल्य घटेका उदाहरण समेत छन् ।

‘ठूला लगानीकर्तालाई धेरै सेयर बेच्नुपर्ने हुन्छ, त्यसकारण बोनस सेयर घोषणा हुने दिन कतिपयलाई बेच्ने सही अवसर हुन सक्छ’ ढकालले भने ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?