News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा बस्ने चितवनका उज्ज्वल खनालले विकास गरेको सामाजिक सञ्जाल एप ‘थोप्ला’को नयाँ संस्करण पाँच महिनामै करिब २० हजार प्रयोगकर्तासम्म पुगेको छ।
- खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाझ ‘थोप्ला’को प्रयोग बढेको छ, र हालसम्म त्यहाँका करिब १५ हजार नेपालीले एप डाउनलोड गरेका छन्।
- थोप्लामा २०० फलोअर्स पुगेपछि भर्चुअल गिफ्ट र ५०० फलोअर्स पुगेपछि भ्युज तथा विज्ञापनका आधारमा सीधै आम्दानी गर्ने सुविधा छ।
२३ कात्तिक, क्यानबेरा । विदेशमा रहेका नेपालीलाई आफ्नै देशको प्रविधिमार्फत जोड्ने उद्देश्यले अस्ट्रेलियामा रहेका एक नेपाली युवाले विकास गरेको सामाजिक सञ्जाल एप ‘थोप्ला’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्दै आएका चितवन, भरतपुरका उज्ज्वल खनालले निर्माण गरेको यो एपको नयाँ संस्करण सञ्चालनमा आएको पाँच महिनामै करिब २० हजार प्रयोगकर्ता जोडिएका छन्।
अनलाइनखबरसँगको कुराकानीमा खनालले ‘थोप्ला’लाई केवल अर्को एउटा सामाजिक सञ्जालका रूपमा मात्र नभई विश्वभरका नेपालीलाई जोड्ने र उनीहरूको सिर्जनालाई आम्दानीमा रूपान्तरण गर्ने ‘डिजिटल प्लेटफर्म’का रूपमा विकास गर्न चाहेको बताए।
विशेषगरी खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूमाझ ‘थोप्ला’को प्रयोग अत्यधिक बढेको खनालले बताए। कतिपय खाडी मुलुकमा फेसबुक मेसेन्जर र ह्वाट्सएपजस्ता सञ्चारमाध्यम प्रयोग गर्न कठिनाइ वा प्रतिबन्ध रहेका कारण यो एप परिवार र आफन्तसँग सम्पर्क गर्ने भरपर्दो वैकल्पिक माध्यम बनेको उनको बुझाइ छ।
विकासकर्ता खनालका अनुसार हालसम्म जोडिएका प्रयोगकर्तामध्ये खाडी क्षेत्रका मात्रै करिब १५ हजार नेपालीले एप डाउनलोड गरिसकेका छन्।
‘खाडीका केही मुलुकमा मेसेन्जर र ह्वाट्सएप सजिलै चल्दैनन्। त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीले थोप्लाबाट परिवारसँग कुरा गर्न एकदमै सहज भएको प्रतिक्रिया दिनुभएको छ,’ उनले भने। प्रयोगकर्ताको सुरक्षा र गोपनीयतालाई एपमा उच्च प्राथमिकता दिइएको उनको भनाइ छ।
के–के छन् सुविधा ?
‘थोप्ला’ अन्य लोकप्रिय सामाजिक सञ्जालजस्तै बहुउपयोगी प्लेटफर्म हो। यसमा टिकटकमा जस्तै छोटा भिडियो (रिल्स) बनाउन र सेयर गर्न सकिन्छ। यसबाहेक फोटो तथा स्ट्याटस राख्न, अडियो र भिडियो कल गर्न, लाइभ स्ट्रिमिङ गर्न र मन परेको सामग्री सिर्जना गर्ने व्यक्तिलाई ‘क्वाइन प्रणाली’मार्फत भर्चुअल उपहार पठाउन सकिने सुविधा छ।
एपमा एकाउन्ट भेरिफिकेसन, लाइभ भिडियो स्ट्रिमिङ, तथा लाइभ अडियो रुमको सुविधासमेत छ। लाइभ अडियो रुममा एकैपटक धेरै प्रयोगकर्ता जोडिएर सामूहिक कुराकानी गर्न सक्छन्।
चलाउँदा आम्दानी पनि
यस एपको अर्को मुख्य आकर्षण कन्टेन्ट क्रिएटरका लागि आम्दानी गर्ने सुविधा हो। एपमा २०० फलोअर्स पुगेपछि प्रयोगकर्ताले भर्चुअल गिफ्ट प्राप्त गर्न सक्छन् भने ५०० फलोअर्स पुगेपछि भ्युज र विज्ञापनका आधारमा सीधै आम्दानी गर्ने अवसर उपलब्ध हुन्छ।
‘थोप्लामा जम्मा भएको रकम बैंक खातामा ट्रान्सफर गर्न सकिन्छ,’ खनालले भने, ‘अहिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग भइरहेको छ। आगामी दिनमा नेपालका ईसेवा र खल्तीजस्ता स्थानीय वालेट पनि जोड्ने हाम्रो योजना छ।’
प्रयोगकर्तालाई सक्रिय बनाउन एपले विभिन्न प्रतियोगितासमेत सञ्चालन गर्दै आएको छ। यसअघि तीज र दसैँ–तिहारको अवसरमा तस्बिरसम्बन्धी प्रतियोगिता आयोजना गरिएको थियो, जसमा सबैभन्दा धेरै लाइक प्राप्त गर्ने सहभागीलाई नदगमा पुरस्कार दिइएको थियो।
अकाउन्टिङका विद्यार्थी, प्रविधिमा लगाव
चितवनका खनाल तीन वर्षअघि उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेका हुन्। उनी हाल त्यहाँ अकाउन्टिङ विषयमा स्नातकोत्तर गरिरहेका छन्। नेपालमा बीबीए अध्ययन गर्ने क्रममै प्रोग्रामिङ सिक्न थालेका उनको सूचना प्रविधिप्रतिको रुचि क्रमशः बढ्दै गयो।
अस्ट्रेलिया पुगेपछि पनि उक्त रुचिलाई निरन्तरता दिएका उनी हाल एक आईटी कम्पनीमा ‘जोन म्यानेजर’का रूपमा कार्यरत छन्।
पढाइ र जागिरसँगै साथीहरूसँग मिलेर उनले सन् २०२१ तिरै थोप्लाको अवधारणा अघि सारेका थिए। सुरुमा अपेक्षित प्रयोगकर्ता नजोडिए पनि अहिले परिमार्जित संस्करण ल्याएपछि यसले गति लिएको हो।
नेपालमै प्रविधि उद्यम गर्ने लक्ष्य
खनालको अबको योजना एपमा थप नयाँ फिचर ल्याउने, क्रिएटरलाई आम्दानीका अवसर बढाउने र नेपाली भुक्तानी प्रणालीलाई जोड्ने छ।
‘नेपालीले नै बनाएको एप प्रयोग गरेर विश्वभरका नेपाली परिवार र आफन्तसँग जोडिन सकून्। साथै, आफ्ना सिर्जनाबाट आम्दानी गर्ने अवसर पनि मिलोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने।
भविष्यमा नेपालमै फर्केर सूचना प्रविधिको क्षेत्रमा काम गर्ने खनालको धोको छ। विदेशमा रहेका नेपालीको आवश्यकता बुझेर नेपालीकै पहलमा विश्वस्तरीय प्रविधि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरणीय डिजिटल प्लेटफर्मका रूपमा ‘थोप्ला’लाई स्थापित गर्ने उनको दीर्घकालीन लक्ष्य छ।
प्रतिक्रिया 4