+
+
Shares

युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?

नवीन पोखरेल नवीन पोखरेल
२०८३ कात्तिक २४ गते ७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लन्डनको ह्वाइटहलस्थित सेनोताफमा आइतबार ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम गरी युद्धमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
  • नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले समारोहमा ‘रिथ’ चढाउँदै वीर गोर्खा सैनिकलगायत देशका लागि प्राण आहुति दिने सपूतप्रति श्रद्धाञ्जली अर्पण गर्न पाउनु सम्मानको विषय भएको बताए ।
  • रोयल ब्रिटिश लिजनको परेडमा गोर्खा पूर्वसैनिकसहित करिब १० हजार पूर्वसैनिक सहभागी भए, र दोस्रो विश्वयुद्धका १२ पूर्वसैनिक पनि उपस्थित थिए ।

२४ कात्ति, लन्डन । युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ । आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो ।

‘रिमेम्बरेन्स सन्डे’ पहिलो विश्वयुद्ध अन्त्यको वार्षिकोत्सव नोभेम्बर ११ नजिक नोभेम्बरको दोस्रो आइतबार मनाइन्छ ।

दुई मिनेट मौनधारण गर्दै बेलायती राजा चाल्र्स तृतीयले नेतृत्व गरेको उक्त सभामा राजा एवं बेलायतबाहेक कमनवेल्थ राष्ट्र, आयरल्याण्ड र नेपालका प्रतिनिधिले समेत ‘रिथ’ चढाए ।

रिमेम्बरेन्स सन्डेमा नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीले सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘रिथ’ चढाएका थिए ।

‘राष्ट्रिय स्मृति सभा’ मा सहभागी हुन पाउनु र वीर गोर्खा सैनिकहरूलगायत देशका लागि प्राण आहुति दिने वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रिथ चढाउन पाउनु आफ्ना लागि सम्मानको विषय भएको दुवाडीले बताए ।

दुवाडीले औपचारिक समारोह शुरु हुनुअघि प्रधानमन्त्री एण्डी बर्नहाम र विदेशमन्त्री इड मिलिब्याण्डसंग भएको संक्षिप्त कुराकानीमा उनीहरुले नेपालले पछिल्लो पटक भोगेको प्राकृतिक विपत्तिबारे दुःख र चासो व्यक्त गरेका जनाए ।

बेलायत संलग्न युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा पुष्पहार अर्पण गर्ने क्रममा पहिलोपटक प्रधानमन्त्री एन्डी बर्नहामसँगै ९ जना पूर्व प्रधानमन्त्रीहरूको पनि रेकर्ड ब्रेक उपस्थिति रह्यो ।

कार्यक्रममा जीवित पूर्व प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ज्येष्ठ ८३ वर्षीय जोन मेजर, सबैभन्दा पछिल्ला पूर्व प्रधानमन्त्री किअर स्टार्मर, सबैभन्दा छोटो कार्यकाल रहेकी लिज ट्रस, डेभिड क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर, टेरेजा मे, ऋषि सुनक र बोरिस जोन्सन सहभागी थिए ।

साथै रानी क्यामिलासहित राजपरिवारका वरिष्ठ सदस्यहरु, बेलायती सेनाका प्रमुखहरू लगायत पनि कार्यक्रममा सहभागी थिए ।

यसका साथै संयुक्त अधिराज्यको एक दक्षिणपन्थी लोकप्रियतावादी र अति–दक्षिणपन्थी राजनीतिक दल ’रिफर्म यूके’ का नेता नाइजेल फराजले पनि पहिलोपटक संसद्मा पर्याप्त सांसदहरूको प्रतिनिधित्व जुटाएका कारण अन्य प्रमुख दलका नेताहरूसँगै रिथ अर्पण गर्न योग्य भए ।

उक्त स्मृति सभापछि रोयल ब्रिटिश लिजनद्वारा आयोजित परेडमा गोर्खा पूर्वसैनिकलगायत झण्डै १० हजार पूर्वसैनिकहरू सहभागी भए ।

परेडमा दोस्रो विश्वयुद्धका पूर्वसैनिकहरू पनि सहभागी रहेका बीबीसीले जनाएको छ । यस वर्ष दोस्रो विश्वयुद्ध लडेकामध्ये १२ जना सहभागी भए जसमा १०३ वर्षीया एनी डुपलक पनि थिइन् । उनले बीबीसीसंग यस दिनलाई अत्यन्त भावुक बनाउने दिन भनेर वर्णन गरिन् ।

उता, नेपालका लागि ‘अल–पार्टी पार्लियामेन्ट्री ग्रुप’ (एपीपीजी) ले गत नोभेम्बर ४ मा वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालय अगाडि गोर्खा सैनिकको सालिक परिसरमा एक स्मृति सभा आयोजना गरेको छ ।

उक्त सभामा रास्वपा सांसद एवं नेपालको संसदमा बेलायत मामिला हेर्ने समिति अध्यक्ष मनिष झा, कार्यवाहक राजदूत विपिन दुवाडीसहित हाउस अफ कमन्स् र लर्डसका १७ जना सांसदहरुले दिवंगत वीर गोर्खा सैनिकलगायत देशका लागि प्राण आहुति दिने वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै रिथ चढाए ।

एपीपीजीकी अध्यक्ष सांसद एलेक्स बेकरले उक्त स्मृति सभामा सांसदहरू र गोर्खा समुदायलाई एकै ठाउँमा ल्याउन पाउँदा धेरै खुसी लागेको बताइन् ।

‘२०० वर्षभन्दा बढी समयदेखि गोर्खाहरूले असाधारण साहसका साथ हाम्रो देशको सेवा गर्दै आएका छन् । अल्डरसट र फार्नबरोमा रहेको हाम्रो बलियो गोर्खा समुदायको सन्दर्भमा उहाँहरूको सेवाको सम्मान गर्न र बेलायत तथा नेपालबीचको चिरस्थायी मित्रताको उत्सव मनाउन सांसदहरूलाई एकै ठाउँमा ल्याउनु विशेष अर्थपूर्ण रह्यो’, बेकरले भनिन् ।

गोर्खा पूर्व सैनिकहरू हरि बुढा मगर र हर्कमान गुरुङ, नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी तथा सांसद मनिष झालाई स्वागत गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बेकरको भनाइ थियो ।

बेलायती सैनिकहरूलाई शत्रुविरुद्ध देखाएको वीरताका लागि प्रदान गरिने सर्वोच्च र सबैभन्दा प्रतिष्ठित सम्मान ’भिक्टोरिया क्रस’ (भिसी) प्राप्त गर्ने पहिलो नेपाली सैनिक कुलबीर थापाको सालिक अगाडि प्रिन्सेस गार्डेनमा ७ नोभेम्बरमा कार्यक्रम भएको हो ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?