+
+
Shares

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

देविघाट बजारबाट विस्थापित भएर लामिबगैंचा पुगेका ३० परिवारका करिब एक सय जना बाढी प्रभावित यसैगरी निराशाबीच तिहारको समय गुजारिरहेका छन् । आफन्तको शोकका कारण धेरैजसोले दशैँ पनि मनाएनन् ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ कात्तिक २५ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० गतेको भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका विस्थापित नागरिक तिहारमा पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।
  • नुवाकोटको लामिबगैंचा, बाँडाचौतारा र पिपलटारसहित रसुवाका शिविरमा बाढी प्रभावितका लागि दशैँतिहारको रौनकभन्दा शोक र निराशा बढी छ ।
  • रसुवाबाट विस्थापित ३४४ परिवारका ३१५ सदस्य र उत्तरगया गाउँपालिका–१ का ४९५ जना बाढीमा मृत्यु र बेपत्ता भएको स्थानीयले बताएका छन् ।

२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा भने तिहारको कुनै उमंग र उत्साह छैन ।

भदौ १० गतेको भोटेकोशी बाढीमा आफन्त, परिवार, घरवास, थातथलो र सम्पत्ति गुमाएका नागरिक चाडपर्वको यो समयमा पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।

बाढीपछि विस्थापित भएर दिन काटिरहेका नुवाकोटको लामिबगैंचा, बाँडाचौतारा र पिपलटार तथा रसुवाको बेत्रावती र स्याफ्रुबेंसीलगायतका क्षेत्रमा रहेका शिविर अहिले सुनसान र उराठलाग्दा छन् ।

त्यहाँका विस्थापितको दैनिकीमा रौनकताभन्दा निराशा बढी देखिन्छ । शिविरमा साना बालबालिका पिङमा रमाइरहेका भेटिए पनि उनीहरूका अभिभावकका लागि भने उज्यालो तिहार निस्पट्ट अँध्यारोजस्तै बनेको छ ।

बाढीमा बेपत्ता भएका र ज्यान गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका उनीहरू पीडा पोख्दै भन्छन्, ‘बितेका आफन्तको यादले चाडपर्वमा झन् सताउँदोरहेछ ।’

नुवाकोटको विदुर नगरपालिका–५ बाँडाचौतारा, पिपलटारलगायतका स्थानमा रहेका विस्थापित बस्तीमा यस वर्ष दशैँ र तिहार दुवैको रौनक छैन । ३०० भन्दा बढी परिवारले यसपटक यी पर्व सम्झिनसमेत चाहेनन् ।

रसुवाको उत्तरगया गाउँपालिका–१ मा रहेको आफ्नो थातथलो बगरमा परिणत भएपछि सयौंको संख्यामा नुवाकोट आइपुगेका विस्थापित नागरिक अहिले पनि आफन्त गुमाएको शोकमा छन् ।

यसअघिका वर्षमा उल्लासपूर्वक दशैँ मनाउने गरे पनि यसपालि आफूहरू आफन्त र परिवारजनको शोकमा रहेको उत्तरगया–१ का पूर्ववडाध्यक्ष तथा विस्थापित बमबहादुर तामाङले बताए ।

दशैँतिहार नमनाउनुको कारण सुनाउँदै उनले भने, ‘यहाँ सबैको कोही न कोही परिवारका सदस्य बाढीमा बितेर गएका छन् । सबथोक गुमाइसकेका हाम्रा लागि चाडपर्वको खुसी नै सधैँका लागि खोसिएजस्तै भएको छ ।’

बमबहादुरजस्तै यहाँका धेरैजसोले बाढीमा आफ्ना परिवारका सदस्य र आफन्त गुमाएका छन् । विदुर नगरपालिका–५ स्थित बाँडाचौतारा, रक्तकाली आधारभूत विद्यालय परिसर, पिपलटार, माझीटार ठूलोगाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि बसोबास गर्दै आएका छन् । उनीहरूका लागि यस वर्षको दशैँ र तिहार शोकमै बित्यो ।

बाढीबाट ज्यान जोगाएर फर्किएकाहरूको जीवन नै अन्योलमा रहेको अवस्थामा तिहारजस्ता पर्वको खासै महत्त्व नरहेको रसुवाबाट विस्थापित भएर यहाँ बस्दै आएकी तेन्जिङ भुटीले बताइन् ।

‘यहाँ सबैजना आफन्तविहीन भएका छौँ । बाँचेका हामीलाई पनि अब कसरी बाँच्ने भन्ने चिन्ताले सताइरहन्छ,’ उनले भनिन् । यद्यपि, उनले भविष्यमा फेरि चाडपर्व मनाउन पाउने आशा भने मारेकी छैनन् । ‘बसोबासदेखि अरू आवश्यक कुराको व्यवस्था भयो भने आगामी वर्षमा फेरि चाडपर्व मनाउन पाइएला,’ उनले आशा व्यक्त गरिन् ।

अहिले आफूहरूलाई कसरी सुरक्षित बसोबासको व्यवस्था गर्ने र जीवनलाई सामान्य अवस्थामा फर्काउने भन्ने चिन्ताले सताइरहेको उनले बताइन् ।

यहाँ रसुवाबाट विस्थापित भएर आएका ३४४ परिवारका ३१५ जना सदस्य बाढीमा गुमेका छन् । यहाँ आइपुगेका बाहेक उत्तरगया गाउँपालिका–१ का मात्रै ४९५ जना बाढीमा मृत्यु र बेपत्ता भएका छन् ।

२०७२ सालको भूकम्पपछि सिंगो गाउँ नै बस्न अयोग्य भएपछि रसुवाको साविक हाकु गाविसका सबै नागरिक विस्थापित भएका थिए । उनीहरू त्यसयता बेत्रावतीनजिकैको खाल्टेमा बसोबास गर्दै आएका थिए ।

लामिबगैंचामा त्रिपालमुनिको अँध्यारो तिहार

भोटेकोशी बाढीपछि ७५ दिनभन्दा लामो समयदेखि विस्थापित जीवन बिताइरहेका नुवाकोटको विदुर नगरपालिका–५ लामिबगैंचामा रहेका ३० दलित परिवारको अस्थायी शिविरमा पनि उस्तै सन्नाटा छ । तिहारको रमझमभन्दा उनीहरूलाई गुमेको थातथलो, धनसम्पत्ति र अब कसरी जीवन बिताउने भन्ने चिन्ताले सताएको छ ।

देविघाट बजारबाट विस्थापित भएर लामिबगैंचा पुगेका ३० परिवारका करिब एक सय जना बाढी प्रभावित यसैगरी निराशाबीच तिहारको समय गुजारिरहेका छन् । आफन्तको शोकका कारण धेरैजसोले दशैँ पनि मनाएनन् । थोरै परिवारले भने आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन तथा साना बालबालिकाको खुसीका लागि चाडपर्व मनाउनुपरेको बाध्यता सुनाए ।

सुचित चित्रकारले आफ्ना लागि खुसी हराए पनि बालबालिकाको खुसीका लागि चाडपर्व मनाउनुपर्ने अवस्था रहेको बताए । प्रेमकुमारी नेपालीका अनुसार बालबालिकाका लागि पिङलगायतका आवश्यक व्यवस्था विभिन्न संघसंस्था र व्यक्तिगत सहयोगमा भइरहेको छ ।

जिल्लाको मुख्य व्यापारिक तथा धार्मिक केन्द्र मानिने देविघाट क्षेत्र अहिले बगरमा परिणत भएको छ । पहिले बस्ती रहेको ठाउँमा अहिले पनि नदी बगिरहेको छ । भदौ १० गतेको भोटेकोशी बाढीले करिब ४०० घरपरिवारको घरवास गुमेपछि सबैजसो चिन्तित छन् ।

कष्टकर जीवन बिताउनुपर्दा उनीहरूका लागि रमाइलोभन्दा चिन्ता र निराशा बढी छ । भविष्यमा कसरी पुनःस्थापित हुने र जीवनयापन गर्ने भन्ने चिन्ताले सधैँ सताउने गरेको सविता परियारले बताइन् ।

७० वर्षीया गोपी नेपालीले त्रिपालमुनि जसोतसो दशैँ मनाएको सुनाइन् । साँघुरो त्रिपालभित्रको घेरालाई नै घर मानेर दिन बिताउनुपर्दा बाढीबाट बाँचेर पनि यहीँ मर्नुपर्ने हो कि भन्ने डरले सताउने गरेको उनले बताइन् ।

‘बाढीले सबै लग्यो । बरु धन्न हामी परिवारको ज्यान बच्यो,’ नेपालीले भनिन्, ‘यस्तो दुःख अब कसैले पनि भोग्न नपरोस् । आशा छ, नमरी बाँचे अर्को सालदेखि आफ्नै घर हुनेछ र पहिलेजस्तै रमाइलोसँग दशैँ मनाउन पाइनेछ । तर, यहीँ मरिने हो कि भन्ने चिन्ताले सधैँ सताइरहन्छ ।’

       

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?