१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापनइतरले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै देश दौडाहा गरिरहेको बेला संस्थापन पक्षले पनि जिल्ला भ्रमण सुरु गरेको छ ।
पूर्वअध्यक्षद्धय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको अगुवाइमा भइरहेको कार्यकर्ता भेटघाटलाई काउन्टर दिने गरी संस्थापन अघि सरेको छ । कार्यकर्ता भेटघाटका लागि संस्थापनले मुख्य प्राथमिकता दिएको मधेसबाट नै संस्थापनले आफ्ना गतिविधि अघि बढाएको छ ।
राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरका पूर्वअध्यक्षद्वय थापा, डा. र वरिष्ठ उपाध्यक्ष पाण्डे एक ठाउँमा उभिएका छन् । आठौं महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यले तीन नेताहरू देश दौडाहामा निस्केका हुन् ।
‘पार्टी संगठन सुदृढीकरण’ अभियान लिएर थापा, डा. लोहनी र पाण्डेले कोशी र मधेशका जिल्लामा कार्यक्रम राखेर कार्यकर्ताका विचार सुन्नुका साथै आफ्नो दृष्टिकोण राखेका छन् । शीर्ष तहका तीन नेताले झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, बारा लगायतका जिल्लामा भेटघाट कार्यक्रम राखेका थिए । ‘राप्रपा फेरि उठाउँछौ, उठाउनै पर्छ’ भन्ने नारासहित उनीहरू जिल्ला भ्रमणमा छन् । त्यही क्रममा सोमबार पोखरामा यो समूहले कार्यक्रम राख्यो । उक्त कार्यक्रममा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही पनि उपस्थित थिए ।
संस्थापनइतरले कोशी र मधेसका जिल्लामा कार्यकर्ता भेटघाट सकेपछि संस्थापन पक्षले मधेसका आठै जिल्लामा कार्यकर्ता भेटघाट एवं संवाद कार्यक्रम राखेको छ । संसदीय दलमा राप्रपाको प्रमुख सचेतक रहेकी खुश्वु ओलीको नेतृत्वमा मधेसमा भेला संवाद राखिएको हो ।
मंसिर १ देखि ४ गतेसम्म मधेसका आठ जिल्लाका कार्यक्रम सकिने गरी संस्थापनले कार्यतालिका बनाएको छ । भेला र संवादलाई नेतृ ओलीले ‘विश्वास फर्काउने अभियान, राष्ट्र बनाउने संकल्प’ रहेको बताइन् । भेला र संवादको क्रममा हिन्दू अधिराज्यको पहिचान, स्वाभिमान, आर्थिक विकास, सुशासन, नविन राप्रपाको अभियान, नयाँ पुस्ता, नयाँ सोच, विश्वासिलो राप्रपाको खोज हुने ओलीले जानकारी गराइन् ।
आज मंसिर १ गतेबाट सप्तरीबाट सुरु हुने कार्य कार्यकर्ता भेला तथा संवाद अन्य जिल्लाहरु हुँदै अन्तिम दिन मंसिर ४ गते बारा र पर्सामा कार्यक्रम गरेर सकिने छ ।
राप्रपाले मंसिर २६ गते देखि २८ सम्म आठौं महाधिवेशन गर्दैछ । महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।
प्रतिक्रिया 4